
नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) मा आइएमईको गेम अन प्रा.लि.ले एफसी चितवनको स्वामित्व लिएको छ । विभिन्न व्यवसायिक घरानाहरूले प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेसँगै आइएमईको गेम अनले एफसी चितवन टीमको स्वामित्व ग्रहण गर्ने भएको हो ।
स्वामित्व ग्रहण र हस्तान्तरण सम्बन्धि सम्झौतामा आइएमई ग्रुपको तर्फबाट गेम अनका प्रवन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज के.सी, सहायक प्रशिक्षक शैलेश कर्मचार्य र राष्ट्रिय टीमका स्टाइकर भरत खवासले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा गेम अनका प्रवन्ध निर्देशक सचिन ढकालले विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनुपरेको अवस्थालाई अन्त्य गर्न आफुले एफसी चितवन टीमको नेतृत्व लिएको बताए ।
हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल पनि उपस्थित थिए ।