विराज महर्जनः सफल फुटबलरको सुखद बिदाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 10:51:13 AM मा प्रकाशित

laxmi sunrise bank

विराज महर्जन अब अन्तराष्ट्रिय फुटबल खेलमा देखिने छैनन् । घरेलु मैदानमा केही मिनेट खेलेर आफ्नो अन्तराष्ट्रिय खेल करियरबाट सुखद रुपमा बाहिरिएका विराज अनुशासित र सफल फुटबलर मानिन्छन् ।

नेपालमा हालसम्म जन्माएका फुटबल खेलाडीहरु मध्येमा विराज महर्जन सर्वाधिक सफल रहे । उनले नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानी गर्दा मूलुकललाई ३ वटा महत्वपूर्ण अन्तराष्ट्रिय उपाधि दिलाए । ३१ वर्षीय विराज सोमबार बंगलादेशविरुद्धको फाइनल खेलमा निर्धारित समयको अन्तिम मिनेटमा मैदान प्रवेश गर्दै नेपालका लागि ७३ क्याप जिते ।

१३ वर्षे करियरको सुखद बिदाई

बंगलादेशलाई २–१ ले पराजित गरेर उपाधीसहित अन्तराष्ट्रिय खेल जीवनबाट विदाइ हुन पाउनु सुखद आफ्नो करियरकै अविस्मरणीय क्षण भएको विराज बताउँछन् । सन् २००८ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनी १३ वर्ष राष्ट्रिय टिमको जर्सीमा रहे । 

यो बीचमा करिब १ वर्ष राष्ट्रिय टिमको जर्सीभन्दा बाहिर रहेका विराज सोमबार त्रिदेशीय कप फुटबलको फाइनलमा मैदानमा उत्रिए । निर्धारित समयको अन्तिम मिनेटमा मैदान प्रवेश गर्दा दशरथ रंगशालामा उपस्थित फुटबल समर्थकले ‘विराज, विराज’ भन्दै हुटिङ गरे । उनले पनि चारै तिर फर्किर हात हल्लाएर दर्शकलाई अभिवादन गरे ।

त्रिदेव गुरुङको स्थानमा मैदान प्रवेश गरेका विराजलाई किरण चेम्जोङले दिएको कप्तानी आर्मब्याण्ड रोहित चन्दले लगाइदिए । घरेलु मैदानबाट उपाधीसहित सन्यास लिएका विराजले आफ्नो करियरको अन्तिम अन्तराष्ट्रिय खेल जम्मा ७ मिनेट मात्रै खेले ।

अन्तर्राष्ट्रिय करियरको अन्त्य विराजले आफूले चाहे जसरी नै भएको बताएका छन् । किनकी बंगलादेशविरुद्धको खेल नेपालले २–१ गोल अन्तरले जित्दै उपाधी उचालेको सुखद क्षणमा विराजले सन्यासको घोषणा गर्न पाए ।

‘घरेलु मैदान, रंगाशालामा दर्शकहरु खचाखच, मूलुकका प्रधानमन्त्री पनि दर्शकको रुपमा पूरै खेल हेर्न उपस्थित अनि नतिजा नेपालको पक्षमा’ विराज भन्छन्, ‘योभन्दा सुखद क्षण अरु के हुन्छ ?’ 

सफल कप्तान

तत्कालिन कप्तान सागर थापा सहितको टिम बदमाशीका कारण बदनाम भएपछि नेपाली फुटबल टिम निरन्तर आलोचित हुँदै आयो । सन् २०१६ सम्म नेपालले कुनै पनि प्रतियोगीता नजितेको २३ वर्ष भएको थियो । तर, २०१६ मा आएर विराजको कप्तानीमा नेपालले उपाधीको खडेरी तोड्यो । २०१६ मा १२ औं सागको फुटबलमा स्वर्ण पदक जित्यो । सोही वर्ष नेपालले बंगबन्धु र सोलिडारिटी कप जितेर उपाधी उचाल्ने अभियानमा ह्याट्रिक गर्यो । 

आफ्नो अन्तराष्ट्रिय खेल करियरबाट बाहिरिने क्षणमा सायद विराजले ती ३ वटै क्षण सम्झिए । त्यसकारण नै उनी भावुक बने । उनलाई राष्ट्रिय टिमका सबै सदस्यले पालैपालो काँधमा बोकेर मैदान परिक्रमा गराए । दर्शकले हुटिङ गरेर भव्य साथ दिए । 

अन्तिममा प्रधानमन्त्री केपी ओलीले कोट लगाइदिएर बिदाई गरे । एउटा खेलाडीले अपेक्षा गर्ने सुखद विदाइ पाएकोमा विराज खुशी छन् ।

‘साफको उपाधी उचाल्न पाइँन’

राष्ट्रका लागि कुल ७३ खेल खेलेका विराजले १८ खेलमा कप्तानी गरे । थ्री स्टार, मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेका उनलाई आफ्नो खेल जीवनप्रति खासै गुनासो छैन । 

तर, साफ च्याम्पियनसिपको उपाधी उचाल्न नपाएकोमा भने मन खिन्न हुन्छ उनको । नेपाललाई साफको उपाधी दिलाउने सपना अधुरै रहेकोमा भने मनमा चिसो पस्छ । तर, उनलाई विश्वास छ उनको यो सपना अबको पुस्ताले पक्कै पूरा गर्नेछ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved