
त्रिकोणत्मक टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको छ । पानी परेर अवरोध पुगेपछि मलेसियाले जितका लागि १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । तर मलेसियाले १० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन मात्रै बनायो ।
खेल बराबरीमा सकिएपछि दुबै देशले एक एक अङ्क बाँडेका छन् ।
१३ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले ३ विकेट गुमाएर १०७ रन बनाएको थियो । नेदरल्याण्ड्सले १० ओभर दुई बलमा ३ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो ।
आजको खेल बराबरीमा सकिएसँगै नेदरल्याण्ड्स र नेपाल फाइनलमा पुगेका छन् । मलेसिया भने बाहिरिएको छ ।
नेदरल्याण्ड्सको पाँच अङ्क भएको छ भने नेपालको चार अङ्क छ । मलेसिया भने एक अङ्कसहित तालिकाको पुछारमा छ । भोलि नेपालले मलेसियासँग खेल्दैछ ।