नेपालले साफ फुटबलमा उपलब्धि हासिल गर्नुका ३ कारण र सुधार गर्नुपर्ने ३ पक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 09:31:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पहिलो पटक दक्षिण एशियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनशिपमा उपविजेता बनेर फर्किएको छ। कतिपयले नेपाललाई फाइनलसम्म पुर्‍याउन राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीको रणनीतिले काम गरेको बताएका छन्।

फुटबल विज्ञहरू भने कुशल प्रशिक्षणसँगै समग्र फुटबल क्षेत्रमा आएको सुधार पनि नेपालको राम्रो नतिजाका लागि महत्त्वपूर्ण कारक रहेको बताउँछन्।

खेलाडी, खेल विश्लेषक र व्यवस्थापकका नजरमा नेपालको प्रदर्शनमा सुधार हुनुका प्रमुख तीन कारण यस्ता छन्:

१. प्रशिक्षकको लगाव

नेपाली राष्ट्रिय टोलीको प्रदर्शनमा आएको सुधारमा कुवेती प्रशिक्षक अल-मुताइरीको योगदानको धेरैले प्रशंसा गरेका छन्।

नेपाली राष्ट्रिय टिमका अनुभवी खेलाडी सुजल श्रेष्ठ भन्छन्, "टिमलाई एउटा परिवार जस्तो बनाएर राख्न, खेलहरूमा उत्प्रेरित गर्न र हामीले गोल गर्न र जित्न सकिन्छ भन्ने विश्वास दिलाउन प्रशिक्षकले हामीलाई आँट दिलाए।"

"पहिले हाम्रो टिमबाट मुस्किलले मात्रै गोल हुन्थ्यो भने अहिले गोल हुन थालेको छ।"

साफ च्याम्पियनसिपको तयारी समितिका संयोजक समेत रहेका राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्याय पनि प्रशिक्षक अलमुताइरीको रणनीतिले टिमको प्रदर्शन सुधारमा सहयोग पुर्‍याएको स्वीकार्छन्।

उपाध्याय भन्छन्, "हामीले साफको तयारीका लागि वैशाखमै कार्ययोजना बनायौँ।"

"प्रतिस्पर्धी टिमहरूसँग मैत्रीपूर्ण खेलको योजना बन्यो र खेलाडीहरूको बन्द प्रशिक्षणका लागि पनि पर्याप्त समय लिइयो। पहिला यस्तो तयारी हुँदैनथ्यो।"

प्रशिक्षकको रणनीतिमा अखिल नेपाल फुटबल सङ्घ एन्फाले सहयोग गरेको उपाध्यायले बताए।

साफ च्याम्पियनशिपमा टिमसँगै यात्रा गरेका फुटबल पत्रकार हिमेश बज्राचार्य पनि "प्रशिक्षकले टिमलाई प्राविधिक सीपसँगै जोस भरिदिँदा नतिजा राम्रो आएको" बताउँछन्।

बज्राचार्य भन्छन्, "प्रशिक्षकको नयाँ शैली, टिम प्रतिको लगाव र खेलाडीहरूको मनोबल उच्च गराउने प्रयत्नले राम्रो काम गरेको देखियो।"

२. घरेलु लीगले बढाएको अभ्यास

नेपालमा व्यावसायिक फुटबल लीग पनि सुरु भएको छ।

नेपाल सुपर लीगजस्ता प्रतियोगिताहरूले नयाँ खेलाडी उत्पादन, उनीहरूको अभ्यासमा निखार र पहिचानमा सहयोग गरिरहेको जानकारहरूको भनाइ छ।

उपाध्याय भन्छन्, "नेपाल सुपर लीगले पनि प्रशिक्षकहरूलाई खेलाडीहरू पहिचान गर्न र छान्न सहयोग गरेको छ।"

दक्षिण एशियाको भारत र बङ्गलादेशमा सञ्चालन भइरहेका व्यावसायिक फुटबल लीगले राम्रो प्रगति गरिरहेका कारण नेपालको लीगलाई पनि थप व्यवस्थित र व्यावसायिक बनाउने दबाव उत्तिकै रहेको पत्रकार बज्राचार्य बताउँछन्।

३. खेलाडीमा आएको सुधार

पछिल्लो समय नेपालको राष्ट्रिय टिममा पर्न खेलाडीहरूबीच आन्तरिक प्रतिस्पर्धा बढ्दै गएको जानकारहरू बताउँछन्। जसले खेलाडीहरूलाई आफ्नो जीवनशैली व्यवस्थित गर्न र खेल कौशलमा सुधार गरिरहन दबाव बढेको छ।

फुटबल वश्लेषक बज्राचार्य भन्छन्, "यसअघि कतिपय खेलाडीहरू प्रतियोगिता नचलेको मौका पारेर शारीरिक तन्दुरुस्तीमा ध्यान नदिने बानी परेका पनि थिए।"

"अहिले कतिपय खेलाडीहरूले खाना पनि हिसाब गरेर खाने अनुशासन पालना गरिरहेका छन्।"

प्रशिक्षक अलमुताइरीले प्राविधिक सीपसँगै राष्ट्रिय टोलीका हरेक खेलाडीहरूलाई आफ्नो भूमिकामा प्रदर्शन गर्न बानी लगाएका कारण टिमको प्रदर्शन राम्रो देखिएको उनी बताउँछन्।

सुधार गर्नुपर्ने पक्षहरू

साफ च्याम्पयनशिपमा नेपालले खेलेका पाँच खेलमध्ये दुईमा जित, एक बराबरी र दुईमा हार बेहोर्यो।

नेपालले भारतसँग लीग चरणमा १-० ले र फाइनलमा ३-० ले हार्यो।

भारतसँगको खेलमा नेपाल कमजोर देखिएको थियो जसले नेपाली फुटबललाई दक्षिण एशियाकै उच्च स्तरमा राख्न पनि सुधान गर्नुपर्ने पक्षहरू देखिए।

नेपाली फुटबलका जानकारहरूका बुझाइमा थप सुधार गर्नुपर्ने तीन पक्ष यस्ता छन्:

१. प्राविधिक साक्षरता र सीप

अन्तर्राष्ट्रिय फुटबलमा नयाँ-नयाँ खेल कौशलको विकास भइरहे पनि नेपाली फुटबल टोली प्राविधिक सीपमा पछि परेको धेरैको बुझाइ छ।

प्रतिस्पर्धी टिमविरुद्ध प्रभावकारी रणनीतिका लागि प्राविधिक सीपको फुटबलमा आएका नयाँ कौशलहरूबारे जानकारी आवश्यक भए पनि नेपाली टिममा यसको अभाव रहेको पत्रकार बज्राचार्य बताउँछन्।

बज्राचार्य भन्छन्, "नेपाल योभन्दा अगाडि जान फुटबल साक्षरताकै अभाव छ। त्यो भनेको फुटबलमा आएका नयाँ शैली र प्रयोगहरूबारे हाम्रा खेलाडीहरू अभ्यस्त र जानकार हुनु हो।"

"फुटबलमा नयाँ शैली र तरिकाहरू आइरहेका छन् तर हाम्रोमा खेल सीप साक्षरताको निकै कमी छ। हामी जुन चरणमा आइपुगेका छौँ, त्यसभन्दा अघि बढ्न त्यो सीप अपरिहार्य हुन्छ।"

२. व्यावसायिक लीगमा लगानी

नेपालमा व्यावसायिक फुटबल प्रतियोगिता सुरु भए पनि यसको स्तर वृद्धि नहुँदा खेलाडीहरूले नयाँ कौशल सिक्न नपाएको जानकारहरूको भनाइ छ।

घरेलु लीगले अभ्यास गर्ने अवसर दिए पनि राष्ट्रिय टिमका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सिकेका कौशल अभ्यास गर्न यस्ता लीगहरूमा धेरै सुधार हुनुपर्ने सरोकारवालाहरू बताउँछन्।

खेलाडी श्रेष्ठ भन्छन्, "नेपालमा खेलाडीहरू उत्पादन र अभ्यासको अवसरका लागि गरिने प्रतियोगिताहरू र बनाइने प्रशिक्षण प्रतिष्ठानहरूबारे सरकार र एन्फाले योजनाहरू बनाउन आवश्यक छ।"

त्यसका लागि लीगहरूमा लगानी बढाउन आवश्यक रहेको व्यवस्थापक उपाध्याय बताउँछन्।

३. खेलाडीहरूको जीवनशैली र तन्दुरुस्ती

नेपालको राष्ट्रिय टिमका सबै खेलाडीहरूमा अनुशासित जीवनशैलीको अभाव रहेका कारण उनीहरू शारीरिक रूपमा तन्दुरुस्त नरहेको कतिपयको बुझाइ छ।

यसका लागि उनीहरूलाई खानपिनसम्बन्धी ज्ञान र प्रशिक्षणको आवश्यकता रहेको जानकारहरू बताउँछन्।नेपालले प्राविधिक प्रशिक्षकहरूमा लगानी गरिरहे पनि खेलाडीहरूको खानपिन र तन्दुरुस्तीसम्बन्धी क्षेत्रमा लगानी नगरेको पत्रकार बज्राचार्यले बताए।

खेलाडी श्रेष्ठ पनि यसमा सहमत छन्।

उनी भन्छन्, "खेलाडीहरूको जीवनशैली र अनुशासन पनि एउटा महत्पूर्ण पक्ष हो। त्यसमा सुधार गर्नुपर्ने पक्ष छ।"

सरकारले साफ च्याम्पियनशिपमा राम्रो प्रदर्शन गरेको भन्दै खेलाडीहरूलाई जनही पाँच लाख र प्रशिक्षकहरूलाई तीन लाख पुरस्कार घोषणा गरेको छ।

तर नेपालको फुटबलको स्तर थप उकास्नका लागि यस्ता प्रोत्साहनसँगै खेल पूर्वाधार र खेलाडीहरूको सेवासुविधामा ध्यान दिइनुपर्ने व्यवस्थापक उपाध्यायको सुझाव छ। - बिबिसीनेपालीबाट 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved