मेस्सीले जिते कीर्तिमानी ७ औँ पटक बालोन डि ओर अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 08:35:41 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनाका कप्तान तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी ७ पटक बालोन डि ओर अवार्ड जितेका छन् ।

यस वर्षको अवार्ड जित्ने क्रममा क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड मेस्सीले जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पारे । मेस्सीले कुल ६१३ अंक प्राप्त गर्दा लेवान्डोस्कीले ५८० र जर्गिन्होले ४६० अंक प्राप्त गरे ।

करिम बेन्जेमा, एङ्गोलो कान्टे, क्रिस्टियानो रोनाल्डो, मोहम्मद सलाह, केभिन डि ब्रुएन, केलियन एमबाप्पे र जियानलुइजी डोन्नररुम्मा शीर्ष १० मात्रै रहन सफल भए । रोनाल्डो छैठौँ स्थानमा मात्रै रहे । पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्दै आएका रोनाल्डो सन् २०१० पछि शीर्ष ३ बाट बाहिर परेको यो पहिलो पटक हो । तर, उनी सर्वाधिक १७ पटक मनोनयनमा परेका छन् । 

मेस्सीले सौतौँ पटक बालोन डि ओर अवार्ड जितेर किर्तिमान बनाए भने मेस्सीभन्दा पछि रोनाल्डोले यो अवार्ड ५ पटक जितेका छन् ।

मेस्सीले राष्ट्रिय टोलीबाट आफ्नो पहिलो सिनियर उपाधिको रुपमा कोपा अमेरिका जितेका थिए । कोपामा प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका मेस्सीले गत सिजन बार्सिलोनालाई कोपा डेल रेको च्याम्पियन बनाएका थिए ।

मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा अवार्ड जितेका छन् । सन् २००७ मा तेस्रो स्थानमा रहेको मेस्सी २००८, २०१३, २०१४, २०१६ र २०१७ मा दोस्रो स्थान अर्थात् उपविजेता बनेका थिए । 

यो अवार्ड फ्रान्सबाट प्रकाशित हुने ‘फ्रान्स फुटबल’ले हरेक वर्ष आयोजना गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved