त्रिकोणात्मक टी–ट्वान्टीमा नेपाल फाइनल प्रवेश, करण केसीको ह्याट्रिक विकेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 04:24:27 PM मा प्रकाशित

laxmi  sunrise bank

पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी२० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ ।

दीपेन्द्र सिंह ऐरी र डेब्यु खेलाडी आदिल अन्सारीको आक्रामक ब्याटिङ र करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हराएको हो । 

करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी२० अन्तराष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो नै पहिलो ह्याट्रिक विकेट हो ।

सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकपमा पहिलो टी२० अन्तराष्ट्रिय खेल खेलेको नेपालले आज खेलेको यो ५०औं टी२० अन्तराष्ट्रिय खेल हो । 

यसअघि नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । 

नेपालले लिगको अन्तिम खेल शनिबार मलेसियासँग खेल्नेछ ।

२०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.४ ओभरमा १६६ रनमा अलआउट भयो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाए । टोनी उराले ४३ र सेस बाउले २५ रन बनाए । 

करण केसीले उत्कृष्ट बलिङ गर्दा लक्ष्य पछ्याउने क्रममा पीएनजीले दुवै ओपनरलाई व्यक्तिगत एक रनमा गुमायो । लेगा सिएकालाई पहिलो ओभरमा करण केसीले आसिफ शेखबाट क्याचआउट गराए ।

यो विकेटसँगै करणले टी२० अन्तराष्ट्रियमा आफ्नो ५० विकेट पूरा गरे । तेस्रो ओभरमा कप्तान असद भालाई पनि करणले सोमपाल कामीबाट क्याचआउट गराउँदा पीएनजीले १३ ओभरमा २ विकेट गुमायो ।

त्यसपछि चार्ल्स अमिनी र टोनी उराले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे । सोमपालले यो साझेदारी तोड्दै दुवैलाई आउट गरे ।

सोमपालले १२औं ओभरमा ४३ रन बनाएका उरालाई र १४औं ओभरमा अमिनीलाई कुशल भुर्तेलबाट क्याचआउट गराए । अमिनीले ४७ बल खेल्दै ९ चौका प्रहार गरे ।

नर्भन भनुवा र सेस बाउले पीएनजीको इनिङ्स सम्हालेका थिए । १८औं ओभरमा अविनाश बोहराले दुवैलाई आउट गरेपछि पीएनजीले १५८ रन बनाउँदा ६ विकेट गुमायो । अविनाशले १७ रन बनाएका भनुवालाई १८औँ ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए भने तेस्रो बलमा बाउलाई बोल्ड गरे ।

रिले हेकुरेलाई कप्तान सन्दीप लामिछानेले ७ रनमै करण केसीबाट क्याचआउट आउट गरानए ।

अन्तिम ओभरमा करणले ह्याट्रिक विकेट लिए । उनले अन्तिम ओभरको दोस्रो बलमा २ रन बनाएका चाद सोपरलाई रोहित पौडेलबाट क्याचआउट गराए । यस्तै तेस्रो बलमा सिमोन अटाईलाई बोल्ड गरे । चौथो बलमा नोसाइन पोकनालाई दीपेन्द्रबाट क्याचआउट गराए ।

त्यसअघि टीयू मैदानमा दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेपछि नेपालले नेपालले ७ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

चौथो नम्बरमा ब्याटिङ गर्न मैदान छिरेका दीपेन्द्रले ३३ बल खेल्दै ३ चौका र ४ छक्का हिर्काउँदै सर्वाधिक ६६ रन बनाए । आजकै खेलबाट टी२० अन्तराष्ट्रियमा डेब्यु गरेका आदिल अन्सारीले आक्रमक ब्याटिङ गर्दै ११ बलमा १ चौका र ३ छक्का हिर्काए । 

दीपेन्द्रले १९औं ओभरको अन्तिम बलमा आउट हनुअघि ४ ओभर ४ बलमा आदिल अन्सारीसँग ७६ रनको साझेदारी गरेका थिए ।

रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन बनाए । 

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ४४ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको दोस्रो बलमा यो साझेदारी तोडियो । कुशल भुर्तेल २० बलमा १७ रन बनाएर आउट भए ।

आसिफ शेख २९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ३८ रन बनाएर आउट भए । तर, त्यसपछि रोहित पौडेल र दीपेन्द्रले ५१ रनको साझेदारी गरे । रोहितले २३ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए ।

चौथो विकेटका लागि दीपेन्द्र र आदिलले ७६ रनको साझेदारी गरे । दीपेन्द्र १९औं र आदिल २०औं ओभरमा आउट भए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved