दीपेन्द्रको कीर्तिमानी शतकमा नेपालको सानदार जित, पीएनजीसँग उपाधि भिडन्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2022 | 04:08:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी शतकमा नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजमा मलेसियालाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । 

नेपालको सानदार जितसँगै यसको फाइदा पपुवा न्युगिनी (पीएनजी)लाई पनि भएको छ । पीएनजी पनि फाइनलमा पुगेको छ । सिरिजको उपाधिको लागि सोमबार नेपाल र पीएनजी भिड्नेछन् ।

जितका लागि २२४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा १३८ रनमा अल आउट भयो । 

मलेसियाका लागि ओपनर विरनदीपसिंहले २६ बलमा ९ चौकासहित सर्वाधिक ४७ रन बनाए । 

बलिङतर्फ कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । ब्याटिङमा शतक प्रहार गरेका दीपेन्द्रले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलको नाममा एक एक विकेट रह्यो । 

घरेलु मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५७ बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक ११० रनमा अविजित रहे । 

रोहित ३४ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । रोहितले ३२ बलमा टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । तेस्रो विकेटका लागि दीपेन्द्र र रोहितबीच ९६ रनको साझेदारी भयो । तल्लोक्रमका आदिल अन्सारी १४ रनमा आउट भए ।

तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद वाफिकको बलमा १२ रनमा एलबीडल्लू आउट भए । उनले ८ बलमा २ चौका प्रहार गरेका थिए । अर्का ओपनर आसिफ शेख बायाँ हाते स्पिनर पवनदीप सिंहको चौथो ओभरको दोस्रो बलमा मिडअफमा शर्विन मुनीआन्दीबाट १८ रनमा क्याच आउट भए । उनले ९ बलमा ३ चौका प्रहार गरे ।

जारी सिरिजमा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । 

मलेसिया र पीएनजी दुबैको २÷२ अंक भएपछि नेटरनरेटका आधारमा माथि रहँदै पीएनजी फाइनलमा पुगेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved