३३ करोडको 'लोभ'मा भारतीय कम्पनीलाई क्रिकेट लीगको जिम्मा, नेपाली कम्पनी आक्रोशित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 01:16:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट एसोसियसनले भारतीय कम्पनीसँग सम्झौता गरेर नेपाल टी ट्वान्टी लीग प्रतियोगिता आयोजना गर्न थालेपछि क्रिकेट प्रतियोगितामा भाग लिँदै आएका निजी कम्पनीहरू भविष्य धरापमा परेको छ ।

यसअघि ४ पटकसम्म एभरेस्ट प्रिमियर लीग नामको क्रिकेट प्रतियोगिता सफलतापूर्वक संचालन भइसकेको र त्यसमा सहभागी हुँदै आएका निजी कम्पनीहरूले भारतीय कम्पनीसँग एसोसियसनले गरेको सम्झौताको विरोध गरिरहेका छन् ।

एसोसियसनले गत वैशाख १२ गते एक पत्रकार सम्मेलन गरी भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स (एस थ्री) कम्पनीसँग नेपाल टी ट्वान्टी आयोजना गर्ने विषयमा सम्झौता गरेको थियो । ८ वर्षका लागि लागू हुने उक्त सम्झौतामा भारतीय कम्पनी एस थ्रीले क्यानलाई ३३ करोड दिने उल्लेख छ ।

त्यस्तै गरी सम्झौतामा उल्लेख भएको क्यान र एस थ्रीबीच कुनै विवाद आएमा भारतको कानूनअनुसार नयाँ दिल्लीमा निरुपण गर्ने विषय पनि विवादमा परेको छ । बुँदा नम्बर २१ मा 'यो सम्झौता भारतीय कानून अनुसार भएको छ' भन्ने वाक्यांश उल्लेखित छ । सम्झौताअनुसार एस थ्रीले नेपाल टी ट्वान्टी आयोजनासँग सम्बन्धित विभिन्न कार्यहरू गर्ने गरी अधिकार दिइएको विषयलाई लिएर निजी क्लब संचालकहरू आक्रोशित बनेका छन् ।

गत जेठमा एभरेस्ट प्रिमियर लीग प्रालि, ललितपुर पेट्रियोट्स इन्टरनेसनल प्रालि, सगरमाथा स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिलगायत ७ कम्पनीहरूले अदालतको ढोकासमेत ढकढक्याएका थिए ।तर सर्वोच्च अदालतले उक्त रिटउपर प्रारम्भिक सुनुवाइ गर्दै सम्झौता खारेजीको अन्तरिम आदेश भने दिएको छैन ।

एक निजी क्लबका संचालकले बिजपाटीसँग भने, 'नेपालमा एउटा छुट्टै प्रकारको अन्तर्राष्ट्रियस्तरको क्रिकेट आयोजना गर्नु उल्लेखनीय कार्य भएको भएपनि अहिलेको प्रक्रिया पारदर्शी देखिएको छैन । नेपाली क्रिकेटलाई माया गर्ने र त्यससँग रहेर खेल आयोजना गर्ने हामीहरूलाई बाई पास गरेर क्यानले जसरी भारतीय कम्पनीलाई सर्वस्व जिम्मा दिने सम्झौता गरेको छ, यसले नेपाली क्रिकेटको सुन्दर भविष्यलाई डामाडोल बनाउने छ ।'

उनले क्यान ३३ करोडको लोभमा फँसेर विदेशीलाई नेपाली क्रिकेटको सबै जिम्मा दिएको आरोप लगाए । उनले उक्त सम्झौता सार्वजनिक खरिद ऐन २०६३ ले निर्दिष्ट गरेको प्रक्रिया भित्र नरहेको बताए ।

'खरिद प्रक्रिया भन्नाले मालसामान मात्र नभई परामर्श र अन्य सेवासमेत पर्ने हुनाले एस थ्रीसँग सम्झौताका क्रममा भएका निर्णयहरू गम्भीर रूपमा त्रुटीपूर्ण छन्,' उनले भने, 'नेपालको संविधानलाई किनारा लगाएर गरिएको सम्झौता राष्ट्रघाती हुन्छ । यसले क्रिकेटसँग सम्बन्धित सबै नेपाली संस्थाहरूलाई अपमानसमेत गरेको छ ।'

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आर्थिक प्रलोभनमा परी पारदर्शी प्रक्रिया नअपनाई एकतर्फी रूपमा भारतीय कम्पनीलाई सबै जिम्मा दिएको आरोप उनको छ ।

भारतको निजी कम्पनी एस थ्रीसँग गैरकानुनी रूपमा सम्झौता गरेको भन्दै वैशाखमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरीउपर छानबिन भइरहेको अख्तियार स्रोतले बिजपाटीलाई बतायो ।

नेपाल टी-२० लिग आयोजनाका लागि क्यान र एस थ्री बीच २०७७ को माघमै नेपाल टी ट्वान्टी आयोजना गर्ने विषयमा ५१ पृष्ठ लामो सम्झौता भएको थियो । त्यतिबेलादेखि नै विदेशको निजी कम्पनीसँग नेपालको अख्तियार प्राप्त निकायले सम्झौता गरेको भन्दै विरोध भएको थियो ।

त्यतिबेला कोभिड १९ को महामारी बढिरहेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा आएको थिएन । नेपाल सरकारले लीग आयोजना गर्ने अनुमति पनि दिएको थिएन । तर गत वैशाखमा धनगढीमा भएको  क्यानको साधारण सभाले केही संशोधन र थपघट गरेर एस थ्रीलाई पूर्ण अधिकार दिने गरी नयाँ सम्झौता गरेको हो ।

उक्त सम्झौतामा नेपाल टी ट्वान्टी लीग आयोजना गर्नका लागि मात्र नभएर टी ट्वान्टीसहित नेपालमा हुने टी टेन, टी फिफ्टीन लगायत कुनै पनि क्रिकेट प्रतियोगिताको आयोजना अधिकार सेभेन थ्री स्पोर्ट्सलाई दिने उल्लेख गरिएको छ  

यससँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)बाट आईसीसीबाट मान्यता प्राप्त भविष्यमा हुने कुनै पनि प्रतियोगितामा खेलाडी छान्ने, फ्रेन्चाइजी लिनेदेखि स्पोन्सर छान्ने अधिकारसम्म सेभेन थ्री स्पोर्ट्सलाई नै हुने सम्झौतामा उल्लेख छ

भारतको हरियाणा राज्यमा रहेको एस थ्रीले मिडिया अधिकार वितरण, विश्वव्यापी खेलकुद लीगहरूको विकास र तिनीहरूको सिन्डिकेशन, डिजिटल फ्यान संलग्नता कार्यक्रमहरू, प्रायोजन मूल्याङ्कन, साझेदारी मार्केटिङ, कानुनी र अनुबन्धात्मक विषय, इजाजतपत्र, मल्टिमिडिया प्लेटफर्म, खेलका लागि डिजिटल प्रस्तावहरू तयार गर्ने काम गर्छ

क्यानका अध्यक्ष चतुरबहादुर चन्द भने आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । बिजपाटीसँगको संक्षिप्त कुराकानीमा उनले भने, 'हामीले कुनै गैरकानूनी काम गरेका छैनौं । नेपाली क्रिकेटको विकास र खेलाडीहरूको व्यवसायीक र आर्थिक सुरक्षालाई हेरेर नै भारतीय कम्पनीसँग सम्झौता गरेका हौँ ।'

उनले भारतका धेरै कम्पनीहरूले विश्वका अन्य देशहरूको क्रिकेट प्रतियोगिता संचालन गर्ने जिम्मेवारी लिएको बताए । 'नेपालको क्रिकेटको विकास देखिनसहने केही विचौलियाहरूले यस्तो आरोप लगाएका हुन्,' उनले भने, 'हामी नेपालको क्रिकेट विश्वव्यापीकरण होस्, यस क्षेत्रको विकास होस् भनेर लागिरहेका छौं ।' 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved