क्रिकेट स्पट फिक्सिङ: 'कफी सप' र सामाजिक सञ्जालबाट प्रस्ताव, प्रति खेल ८ लाखसम्म अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 09:35:58 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रारम्भमा एक टिम व्यवस्थापकबाटै खेलाडीलाई कफी खाने अफर आयो । प्रस्ताव अनुसार केही खेलाडी कफी सपमा पुगे । व्यवस्थापकले फिक्सिङका रणनीतिक योजना सुनाए । उनीहरुले आर्थिक तथा व्यवसायिक जीवनको प्रलोभनको फेहरिस्त खोले । अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागि गराउनेदेखि ठूलो आर्थिक रकम प्राप्त गर्ने प्रस्तावमाथि केही खेलाडी लोभिए । केही खेलाडीले तत्काल इन्कार गरे र समयमै रिपोर्ट पनि गरे ।

‘दुई खेलाडीले उनीहरुको प्रस्तावलाई स्वीकार गरे, उनीहरुले जे प्रस्ताव गरेका छन् खेलमा सोही काम गरे, यो ठूलो प्रमाण हो, ‘क्रिकेटर मोहमद आदिल आलमलाई एउटा नो बल र अर्को वाइड बल फाल्न भनिएको थियो, उनले दुई खेलमा सोही प्रकृतिको खेलेको देखियो’, प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी)का प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले भने । 

फिक्सरले पूर्व राष्ट्रिय खेलाडी भएका नाताले नजिकका खेलाडीलाई प्रभाव पार्न मोहबुक आलमलाई प्रयोग गरे । मोहबुबले विचौलियाको काम गरेका अनुसन्धान अधिकृत बताउँछन् । आलमलाई खेलको व्यापारिक तथा रणनीतिक साझेदार सेभेन थ्रि स्पोर्टस्का प्रतिनिधिबाट अफर आएको खुल्न आएको छ । त्यही अनुसार खेलाडीमा प्रस्ताव लिएर जाने काम मोहबुबले गरेका सिआइवीको निष्कर्ष छ । 

प्रहरी श्रोतका अनुसार उनले गरेको प्रस्ताव रेकर्ड नै प्रहरीमा आइपुगेको छ । स्पट फिक्सिङका लागि केहीले भेटेर प्रस्ताव गरेका छन् भने केहीले सामाजिक सञ्जालको प्रयोग गरेका पाइएको छ ।

प्रतिखेलमा ६ देखि ८ लाखको प्रस्ताव

ती अनुसन्धान अधिकृतका अनुसार प्रति खेलमा खेलाडीले ६ देखि ८ लाख पाउने अफर गरिएको छ । स्पट फिक्सिङका लागि छ खेल खेल्दा कम्तिमा ३६ लाख पाउने लोभ देखाइएको छ । 

उक्त फिक्सिङमा १० व्यक्ति संलग्न रहेको सिआइवीले सार्वजनिक गरेको छ । फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडीहरु संलग्न रहेका पाइएको छ । जसमा एक खेलाडीसहित नेपाली ४ जना र विदेशी ६ जना रहेका छन् । विदेशीहरुमा व्यवस्थापकीय भूमिकामा रहेका ४ जना, एक खेलाडी र एक जना बाहिरका व्यक्ति रहेको व्यूरोले जनाएको छ । 

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार नै पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–३ बस्ने ४१ वर्षीय राष्टिय टिमका पूर्व खेलाडी मोहबुब आलम र बारा सिम्रौनगढ नगरपालिका–३ बस्ने २० वर्षीय क्रिकेटर मोहमद आदिल आलम छन् । 

उनीहरुमध्ये महबुबलाई मोरङ बिराटनगर महानगरपालिका–१ शान्ति चोकबाट र मोहमद सप्तरी राजविराज नगरपालिका–५ लंका टोलबाट पक्राउ गरिएको थियो । 

नेपाल क्रिकेट संघको आयोजना तथा सेभेन थ्री स्पोर्ट्स प्रालिको रणनीतिक तथा व्यवसायिक  साझेदारीमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्रिकेट मैदानमा गत पुस ९ देखि २७ गतेसम्म नेपाल टी–२० क्रिकेट लिग भएको थियो । संघले ८ वर्षका लागि ३३ करोड रुपैयाँ बुझाउने गरी नेपाल टी–२० लिग गर्ने सम्झौता गरेदेखि नै सेभेन थ्री स्पोर्टस विवादमा परेको थियो । 

उक्त फिक्सिङमा सेभेन थ्री स्पोर्टसका प्रमुख जतिन अलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सक्लानी मुछिएका छन् । उनीहरु खेल चल्दाचल्दै भारत भागेका थिए । त्यसबेला पैसाको जोहो गर्न भारत गएको क्रिकेट संघको भनाई उदद्यृत गर्दैे मिडियाहरुमा समाचार पनि आएको थियो ।

उक्त लिगको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले खेलमा मिलोमतो तथा अनियमितता गरी राष्ट्रको प्रतिष्ठा, खेलकुदको विकास, विस्तार र प्रवर्द्धनमा आँच पु¥याउने किसिमका गतिविधिहरूमा संलग्न रहेको सिआइवीको दावी छ । 

त्यही आधारमा उनीहरुलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसूर मुद्दाको अनुसन्धानका लागि सिआइवीले पक्राउ गरेको जनाएको छ । 

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका मोहबुबले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेका प्रहरीको दावी छ । 

मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाइड बल फाल्नक लागि एप्रोच आएकोमा उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थापाले बताए । 

उक्त प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको वानएक्स बेटले खेलकुदसँग सम्बन्धित समाचारको लागि तथा पूर्वानुमान गर्नको लागि भरपर्दो श्रोत भन्ने दावी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्रीहरू बजारमा उपलब्ध हुने दाबी गरेको थियो । 

तर हालसम्म बजारमा बिक्री वितरणको लागि कुनै पनि सामग्री उपलब्ध नभएको समेत छानविनको क्रममा खुल्न आएको छ । 

आर्थिक श्रोत खुल्दैन 

उक्त प्रतियोगितामा सहभागी केही फ्रेन्चाइज टिमहरूको आर्थिक श्रोत, खेलाडीहरूलाई दिने  पारिश्रमिकको श्रोत खुलेको छैन । खासै विज्ञापन पनि देखिँदैन त्यही खेलको सट्टेबाजीबाट आउने रकम प्रयोग गरेको अनुमान प्रहरीको छ ।

अनुसन्धान टोलीका सदस्यले विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरू समेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको बताए । 

नेपाल क्रिकेट संघ नै आयोजक भइ सञ्चालन गर्ने नेपाल टी–२० क्रिकेट लिगले नेपालको प्रतिनिधित्व गर्ने, राष्ट्रिय क्रिकेट तथा राष्ट्रको छवीमा समेत प्रभाव पार्न सक्ने महत्व बोकेको खेलको रणनीतिक तथा व्यवसायिक साझेदार रफ्रेन्चाइज टिमहरूको आर्थिक श्रोत, विगतमा क्रिकेट खेलसँगको आवद्धता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने क्षमतालगायतका विषयमा वेटिङ गर्नेसमेतको कार्यमा उचित ध्यान नदिइएको पाइएको प्रहरीको भनाइ छ । आवश्इकताका आधारमा संघमाथि पनि अनुसन्धान हुने सिआइवीले जनाइसकेको छ ।

पक्राउ परेका दुई जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भईरहेको छ । यस घटना बाहिरिएपछि गृहमन्त्रालयको निर्देशनामा व्यूरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा गठन भएको पाँच सदस्यीय छानविन समितिले गरेको अनुसन्धानमा यी तथ्य बाहिर आएको हो । अझै धेरै पाटाहरुमा अनुसन्धान गर्न बाँकी रहेको सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलेले बताए ।

सट्टेबाजी गर्दै गर्दा १५ पक्राउ परेका थिए 

उक्त खेल चलिरहेका बेला सट्टेबाजीमा संलग्न रहेको भन्दै १२ नेपालीसहित १५ जनालाई खेल मैदान बाहिरबाटै प्रहरीले पक्राउ गरेको थियो । 

उनीहरुमाथि स्थानीय प्रहरीमार्फत नै कारावही प्रक्रिया अघि बढेको छ । खेल चलिरहेका बेला एक जना कमेन्टेटरले फिक्सिङ भएको भनी जिम्मेवारीबाट बाहिरिएको घोषणा समेत गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved