क्यानले धोका दिएको भन्दै सेभेन थ्री स्पोर्ट्सद्वारा सम्झौता रद्द, सचिव मल्लले दिए राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 10:31:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सुरुवाती दिनदेखिनै विवादित बनेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल क्रिकेट संघ (क्यान) सँगको नेपाल टी–२० लिगको सम्झौता मंगलबार एकपक्षीय रूपमा खारेज गरेको छ । क्यानले आफुहरुलाई धोका दिएको आरोप लगाउदै सेभेन थ्री स्पोर्ट्सले एकपक्षीय रुपमा क्यानसंगको सम्झौता रद्द गरेको हो। 

आफुहरुले क्यानसंगको सम्झौता रद्द गरेको जानकारी इमेल मार्फत गराएको सेभेन थ्री स्पोर्टसका संस्थापक तथा निर्देशक जतिन आहलुवालियाले जनाएका छन्। क्यानले आफु मातहतमा रहेर पहिलोपटक आयोजना गरेको नेपालटी २० लिगमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई रणनीतिक र व्यावसायिक साझेदार बनाएको थियो ।

सेभेन थ्री स्पोर्ट्सले राष्ट्रिय खेलकुद परिषदबाट क्यानले स्वीकृति लिन नसक्दा सम्झौता रद्द गर्नुपरेको जनाएको छ । आहलुवालियाले लेखेका छन्, ‘सन् २०२२ को फेब्रुअरी २४ मा भएको सम्झौताको दोस्रो संशोधनअनुसार मुख्य विषय राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको स्वीकृति थियो ।’ नयाँ खेलकुद विकास ऐनअनुसार राष्ट्रिय संघहरूले विदेशी कम्पनीसँग सम्झौता गरे स्वीकृति लिनुपर्ने प्रावधान छ ।

व्यवसायिक साझेदारको अधिकार पाएको सेभेन थ्री स्पोर्ट्सबाट क्यानले ८ वर्षका लागि ३३ करोड दस्तुर पाउने सम्झौतामा उल्लेख थियो। पहिलो वर्ष क्यानले ३ करोड ९० लाख पाउने भनिएको थियो । जस मध्ये तीन किस्तामा गरी २ करोड २० लाख पठाइसकेको सेभेन थ्री स्पोर्टसको दाबी छ ।

नेपालको कानुनविपरित सम्झौता गरिएको भन्दै सुरुवाती दिनदेखि नै विवादित बनेको र अदालती प्रकृयामा पुगेको सेभेन थ्री स्पोर्ट्सको आयोजनाको टी २० क्रिकेट ‘लाइभ बेटिङ’, ‘स्पट फिक्सिङ’ जस्तो गम्भीर विवादले घेरिएको थियो। 

सचिव मल्लले दिए राजीनामा

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई टी २० क्रिकेट आयोजनाको अधिकार दिए लगत्तै विवादमा तानिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएका छन् ।मल्लको राजीनामा मंगलबार पोखरामा बसेको संघको बोर्ड बैठकले अनुमोदन गरेको हो । बोर्डको उक्त बैठकले कार्यसमिति सदस्यमा दुर्गाराज पाठकलाई कार्यबहाक सचिवको रुपमा जिम्मेवारी दिने निर्णय गरेको बुधबार पत्र सम्मेलनमार्फत जनाएको छ ।

क्यानका सात जनामध्ये तीन जना पधिकारीको राजिनामा माग गरिएको थियो। नियम विपरित भारतीय कम्पनीलाई टी २० क्रिकेटको आयोजनाको जिम्मेवारी दिएर नेपालको क्रिकेट उद्योगलाई ठुलो क्षति पुर्याएको भन्दै उनीहरुले क्यान अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह, कार्यवाहक सचिव प्रशान्त मल्ललगायतको राजीनामा मागेका थिए । 

यसरी राजिनामा माग्नेमा क्यानका बोर्ड सदस्यहरू ऋषिराम गौतमको नेतृत्वमा दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा, धर्मराज गिरी, अमितवीर पाण्डे रहेका थिए ।राजीनामा माग गर्दै अध्यक्ष चन्दलाई पत्र बुझाएपछि उनीहरूले मंगलबारको बोर्ड बैठक बहिष्कार गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved