
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले युएईलाई पराजित गरेको छ । नेपालले युएईलाई डिएल मेथड अनुसार ९ रनले जितेको हो ।
आजको जित सँगै नेपालको क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा ३६ खेलबाट ४० अंक पुगेको छ । यस सँगै नेपाल एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा प्रवेश गरेको छ। ग्लोबल छनौट आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने छ । सो प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्र हरु सहित १० देश हुने छन् । उक्त प्रतियोगितामा हालसम्म नेदरल्याण्ड, ओमान, जिम्बाबे, स्कटल्याण्डले खेल्ने पक्का भएको छ। बाँकि ६ टिमको टुंगो लाग्न बाँकि छ । वेस्ट इन्डिज, साउथ अफ्रीका, श्रीलंका, र आयरल्याण्ड मध्ये ३ टिम पनि यस प्रतियोगिता खेल्न आउने छन् । उक्त प्रतियोगिताको शिर्ष २ मा पर्न सके नेपालले भारतमा हुने एक दिवसिय विश्वकप खेल्न पाउने छ ।
आजको खेलमा नेपालले जितको लागि ३११ रनको लक्ष्य पाएकोमा ४४ ओभर सकिंदा ६ विकेटको क्षतिमा २६९ रन बनाएको थियो । त्यस पछि उज्यालो कम हुँदै गए पछि थप खेल हुन नसकेपछि नेपालले डिएल मेथडबाट ९ रनले खेल जितेको हो ।
नेपालको लागि कुशल भुर्तेलले ५० रन , भिम शार्कीले ६७ रन, आरिफ शेखले ५२ रन तथा गुलशन झाले नट आउट ५० रन बनाए ।