सन् २०२४ मा हुने टि २० विश्वकप खेल्ने सबै टोलीको टुंगो लागेको छ । अफ्रीका छनौटबाट नामिबियाँ र युगाण्डाले विश्वकप खेल्ने पक्का भएसंगै सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्ने सबै टिमको टुंगो लागेको हो।
आज युगाण्डाले रुवान्डालाई ९ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको हो । युगाण्डा पहिलो पटक टि २० विश्वकपको लागि छनौट हुन सफल सफल हो । अफ्रीकाबाट युगाण्डासंगै नामिबिया पनि विश्वकपको लागि छनौट भएको छ । टेस्ट खेल्ने राष्ट्र जिम्बाबे भने विश्वकपको लागि हुन असफल भयो ।
युएई पनि विश्वकपमा छनौट हुन असफल भएको छ । नेपालले युएईलाई नै हराएर विश्वकपमा स्थान बनाएको थियो ।
कुन कुन देशले खेल्ने छन् टि २० विश्वकप ?
सन् २०२४ को टि २० विश्वकप आगामी ४ जुन देखि ३० जुनसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने छ । प्रतियोगितामा २० टिम सहभागी हुने छन्। २० टिमलाई ४ समुहमा विभाजन गरिएको छ । यसरी हरेक समुहमा ५ टिम रहने छन् । समुहमा रहेका सबै टिमले सबै टिमसँग १-१ खेल खेल्ने छन् । समुह चरणको खेल सकिएपछि हरेक समुहबाट शिर्ष २ मा रहने टिम अर्को चरण प्रवेश गर्ने छन् । यसरि कुल ८ टिम दोस्रो चरण प्रवेश गर्ने छन् ।
आगामी टि २० विश्वकप खेल्ने २० टिम मध्ये सबै २० टिमको टुंगो लागिसकेको छ । आयोजकको हिसाबले अमेरिका र वेस्ट इन्डिजले विश्वकप खेल्ने छन् । त्यस्तै अघिल्लो टि २० विश्वकपको ८ शिर्ष टिम (अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्याण्ड, न्युजील्याण्ड, पाकिस्तान , साउथ अफ्रीका र श्रीलंका) रहेका छन् । त्यस्तै शिर्ष ८ मा नपरेका तर टि २० बरियतामा शिर्ष स्थानमा रहेका हिसाबले अफगानिस्थान र बंगलादेशले पनि विश्वकप खेल्ने छन् । युरोप छनौटबाट आयरल्याण्ड र स्कटल्याण्ड, इस्ट एसिया प्यासिफिक छनौटबाट पीएनजी, अमेरिका छनौटबाट क्यानडा, तथा एशिया छनौटबाट ओमान र नेपाल छनौट भएका छन् । अफ्रीकाबाट नामिबिया र युगाण्डा छनौट भएका छन् । सन् २०२४ को क्रिकेट विश्वकपमा ९ वटा एसोसिएसट राष्ट्र रहने भएका छन्।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले समुह विभाजन गर्न भने बाँकि छ।