इन्डियन प्रिमियर लिग आईपीएलको अक्सनको लागि कुनै पनि नेपाली खेलाडी छनौट हुन असफल भएका छन् । नेपालबाट आधा दर्जन खेलाडीले नाम दर्ता गराएको भनिएपनि अक्सनको अन्तिम सूचीमा कोहि पनि नेपाली खेलाडी समावेश छैनन्।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आईपीएल अक्सनको लागि ३३३ खेलाडी सम्मिलित अन्तिम सूची सार्वजनिक गरेको छ । सो सूचीमा २१४ भारतीय खेलाडी र ११९ विदेशी खेलाडी रहेका छन् । ११९ विदेशी खेलाडी मध्ये २ खेलाडी मात्र एसोसिएट देशका खेलाडी छन् । नेदरल्याण्डका पल भ्यान मकरम र नामिबियाँका डेभिड विज मात्र २ एसोसिएट खेलाडी हुन् ।
आईपीएल अक्सनको लागि ११ सय ६६ खेलाडीले नाम दर्ता गराएका थिए।अक्सनका लागि ८ सय ३० भारतीय, ३ सय ३६ विदेशी खेलाडी र ४५ एसोसिएट देशका खेलाडीहरुको नाम दर्ता गराएका थिए । तर टिमहरुले इच्छुक रहेको भनि दर्ता गराएको नामको आधारमा ३३३ खेलाडी चयन भएका हुन् ।
खेलाडीको अक्सन दुबईमा आगामी डिसेम्बर १९ मा हुने छ। आईपीएलका १० टिमले कुल ७७ खेलाडी खरिद गर्न सक्ने छन् । जस मध्ये ३० विदेशी खेलाडी खरिद गर्न सक्ने छन् । बाँकि खेलाडी भने बिक्री हुने छैनन् ।