
आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल पराजित भएको छ । आज किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नामिबियाँसँग नेपाल ४ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेटको क्षतिमा ३३.१ ओभरमा भेट्टायो । नेपालको लागि सोमपाल कामीले ३ विकेट, ललित नारायण राजबंशीले २ विकेट र रोहित पौडेलले १ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले ४१.१ ओभर मै अल आउट हुँदै १३२ रन मात्र बनाएको थियो। एकदिवसीय क्रिकेटमा नेपालको यो सातौ सानो स्कोर थियो ।
आजको खेलमा ओपनर कुशल भुर्तेल पहिलो बल मै सुन्य रनमा आउट भएका थिए । त्यस्तै आशिफ शेख ४ रनमा, अनिल शाह ८ रनमा, क्याप्टेन रोहित पौडेल १ रनमा आउट भए । भिम शार्कीले सर्वाधिक ४४ रन बनाए भने गुलशन झाले २१ रन, कुशल मल्लले १५ रन, सोमपाल कामीले २ रन, र पवन शर्राफले १२ रन बनाए । करण केसीले १६ रन बनाए भने ललित राजबंशी शुन्य रन मै नट आउट रहे । नेपालले ९ रन एक्स्ट्रा अन्तर्गत पाएको थियो ।
आजको हारसंगै एक दिवसीय क्रिकेटमा किर्तिपुर मैदानमा नेपालको जितको शृंखलामा तोडिएको छ । नेपालले यस अघि टियु क्रिकेट मैदानमा लगातार १५ वटा एक दिवसीय खेल जितेको थियो । आज भएको १६ औ खेलमा भने नेपाल पराजित भएको हो ।
अब नेपालले शनिवार नेदरल्याण्डसँग खेल्ने छ । आज देखि आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको पहिलो सिरिजको रुपमा नेपाल, नामिबिया र नेदरल्याण्ड सम्मिलित ट्राईसिरिज सुरु भएको हो । विश्वकप लिग २ मा ८ टिम सहभागी छन् । ४ वर्षसम्म चल्ने लिगको शिर्ष ४ स्थानमा रहने टिमले सिधै सन् २०२७ मा हुने विश्वकप छनौटमा स्थान बनाउने छन् ।