
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित निकालेको छ । शनिबार नेदरल्याण्डसले दिएको १३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रन बनाए ।
टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो । नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलले एक एक विकेट लिए । नेदरल्याण्ड्सका २ जना रन आउट भए ।
यसअघि कीर्तिपुर मैदानमा भएको लिग टु को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।