नेपालमा पहिलो पटक महिला भलिबलको फ्रेञ्चाइज लिग हुने भएको छ। महिला भलिबलमा ६ टिम सहभागी गराएर फ्रेन्चाइज लिग गर्न लागिएको आयोजक इन्फिनिटी ड्रिम्सले बताएको छ।
लिगका लागि बिहीबार ६ टिम र त्यसका मालिकको नाम सार्वजनिक गरिएको छ । टिमलाई नेपालका विभिन्न शहरहरुको नामकरण गरिएको छ। जसमा उपत्यका भित्रबाट काठमाडौं र ललितपुरको टिम हुनेछ भने गण्डकी, चितवन, मधेश र कर्णाली क्षेत्रलाई आधार बनाएर बाँकी टिम बन्नेछ । मधेशले आफ्नो टिमको नाम मधेश युनाइटेड सार्वजनिक गरिसकेको छ ।
इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघसँग ७ वर्षको लागि सम्झौता गरिसकेको छ । इन्फिनिटी ड्रिम्सका प्रवन्ध निर्देशक आमिर अख्तरले भलिबलको फ्रेन्चाइज लिग दक्षिण एशियामै पहिलो पटक नेपालमा हुन लागेको बताएका छन् ।
भलिबल नेपालको राष्ट्रिय खेल हो र पछिल्लो समय घरेलु र अन्तरराष्ट्रिय प्रतियोगितामा पाएको सफलताका कारण भलिबलको क्रेज बढिरहेको छ । हालै मात्रै नेपाल भलिबल संघले काभा वुमन्स नेसन्स लिगको सफल आयोजना गरेको थियो। जसमा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्स सहभागी लिगको उपाधि भारतले जितेको थियो भने नेपाल उपबिजेता बनेको थियो।
पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग राउण्ड रोवबनको आधारमा हुनेछ । लिगको बाँकी मोडालिटीबारे भने केही सार्वजनिक गरिएको छैन भने लिग शुरु हुने मिति पनि सार्वजनिक गरिएको छैन।
आयोजककाअनुसार हरेक टिममा १२ खेलाडी हुनेछन् । जसमा ९ नेपाली र ३ विदेशी खेलाडी रहने छन्। नेपाली खेलाडीमध्ये एक जना मार्की प्लेअर हुनेछ भने एक जना हरेक टिमले स्थानीय स्तरबाट टयालेन्ट हन्ट गरेर राख्नुपर्नेछ । समूह ए का खेलाडीले १ लाख ५० हजार, समूह बी का खेलाडीले १ लाख र समूह सी का खेलाडीले नगद ५० हजार रुपैयाँ पाउने अख्तरले बताए।
भलिबलको फ्रेन्चाइजका लागि विभिन्न कर्पोरेट क्षेत्रका व्यक्तिहरुले टिमको स्वामित्व लिएका छन् । टिम काठमाडौंको स्वामित्व शरद कृष्ण टिबडेवालाले लिएका छन् भने अनुज एम तिमिल्सिना, अनोज रिमाल र विरोचन खनाल (कोरसिंक नेपाल) ले टिम ललितपुरको स्वामित्व लिएका छन् । त्यस्तै टिम मधेशको मालिक रोहित र विशाल अग्रवाल छन् ।
निम्बस होल्डिङग्सले टिम चितवन तथा सौरभ केडियाले टिम गण्डकीको स्वामित्व लिएका छन् । टिम कर्णालीको स्वामित्व राजेश बगडिया र प्रतिक अधिकारीले लिएका छन् ।