नेपाललाई क्रिकेटमा अर्को सफलता : पहिलो पटक दृष्टिविहीन विश्वकपको सेमिफाइनलमा

रासस

रासस

Dec 01, 2024 | 08:44:20 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल पहिलो पटक दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । 

नेपालले अब आइतबार सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग खेल्ने छ । यसअघि पाकिस्तानले लिग चरणको खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो । लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेको थियो । 

नेपाल अफगानिस्तानसँग एक सय आठ रनले तथा दक्षिण अफ्रिकासँग ११ रनले विजयी भएको थियो भने श्रीलङ्कासँग ७० रनले, बङ्गलादेशसँग ६७ रनले तथा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, दक्षिण अफ्रिका र अफगानिस्तान सहभागी छन् । दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल सन् २०१२ देखि सहभागी हुँदै आएको छ । यसअघि सम्पन्न तीनवटै संस्करणमा नेपाल सेमिफाइनलमा पुग्न सकेको थिएन । 

दोस्रो सेमिफाइनल खेल आइतबार नै बङ्गलादेश र श्रीलङ्काबीच हुनेछ । फाइनल खेल भने मङ्गलबार हुनेछ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved