
एनसेलले नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गर्दै ‘महिला टी-ट्वान्टी आई त्रिकोणात्मक सिरिज’ मा प्रायोजन गरेको छ। क्रिकेटप्रति प्रतिबद्धता जनाउँदै, एनसेलले नेपाली महिला क्रिकेटको विकास र प्रतिभा प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।
त्रिकोणात्मक सिरिज माघ १७ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सुरु भएको छ। प्रतियोगितामा नेपाल, नेदरल्यान्ड्स, र थाइल्याण्ड सहभागी छन्। क्यानले सिरिजभरि निःशुल्क प्रवेशको व्यवस्था गर्दै नेपाली क्रिकेटप्रेमीलाई टोलीको समर्थन गर्न आग्रह गरेको छ।
सिरिज अन्तर्गत नेपालले नेदरल्यान्ड्स र थाइल्याण्डसँग तीन-तीन पटक प्रतिस्पर्धा गर्नेछ। आजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्यो। नेपालले माघ १९, २२, र २५ गते थाइल्याण्डसँग तथा माघ २०, २३, र २५ गते नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपाली टोली इन्दु बर्माको कप्तानीमा मैदान उत्रिएको छ।
एनसेलले खेलकुद प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको छ। यसअघि नेपाल प्रिमियर लिग, त्रिकोणात्मक टी-ट्वान्टी सिरिज २०२४, आईसीसी लिग २, नेपाल-क्यानडा एकदिवसीय सिरिज, फुटबल प्रतियोगिता जस्तै बिर्तामोड गोल्ड कप, झापा गोल्ड कप लगायतका खेलहरूमा सहयोग पुर्याएको थियो।
एनसेलको सीएसआर पहल अन्तर्गत, कम्पनीले राष्ट्रिय पारा खेलाडीहरूको समर्थन, विशेष गरी प्यारालिम्पिक्समा सहभागी खेलाडीहरूको सम्मान गर्दै आएको छ। गत वर्ष एनसेल फाउन्डेसनले प्यारालिम्पियन पालेशा गोवर्धनलाई रु १० लाख पुरस्कार प्रदान गरेको थियो।
एनसेलले क्रिकेट र खेलकुद प्रवर्द्धन गर्दै युवा सशक्तिकरण, सामाजिक एकता, र नवप्रवर्तन लाई प्राथमिकता दिने जनाएको छ।