एनएसएल सी-श्रेणी खेलाडी ड्राफ्ट सम्पन्न, सात टोलीले युवा प्रतिभा अनुबन्ध गरे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2025 | 07:21:30 AM मा प्रकाशित

नेपाल सुपर लिग (एनएसएल) ले आफ्नो बहुप्रतिक्षित सी-श्रेणी खेलाडी ड्राफ्ट सफलतापूर्वक सम्पन्न गरेको छ। यस ड्राफ्टमार्फत सात टोलीहरूले आगामी सिजनका लागि आशाजनक युवा खेलाडीहरू अनुबन्ध गरेका छन्। कुल ९४ खेलाडी सर्टलिस्ट गरिएकामध्ये २७ जनाले अवसर प्राप्त गरेका छन् भने पोखरा थन्डर्स एफसीले एक खेलाडीलाई पूर्ववत् कायम राखेको छ।

ड्राफ्ट प्रक्रिया निष्पक्ष बनाउन लटरी प्रणाली अपनाइएको थियो। पहिलो चरणमा टिमहरूले क्रमैसँग खेलाडी छनोट गरे भने दोस्रो चरणदेखि स्नेक प्रणाली लागू गरिएको थियो। यसअनुसार प्रत्येक वैकल्पिक चरणमा छनोटको क्रम उल्टो पारिएको थियो। पहिलो र तेस्रो चरणमा टिम १ देखि टिम ७ सम्म चयन गर्ने अवसर दिइयो भने दोस्रो र चौथो चरणमा टिम ७ बाट टिम १ सम्मको क्रम अपनाइएको थियो।

ड्राफ्टको पहिलो चरणमा बुटवल लुम्बिनी एफसीले सुमन श्रेष्ठलाई, धनगढी एफसीले अमृत श्रेष्ठलाई, एफसी चितवनले विवेक गुरुङलाई, झापा एफसीले सृजन दानीलाई, काठमाडौं रेजर्स एफसीले भरत चौधरीलाई, ललितपुर सिटी एफसीले मनोज राईलाई अनुबन्ध गरे। पोखरा थन्डर्स एफसीले भने नरेन चौधरीलाई कायम राख्यो।

दोस्रो चरणमा बुटवल लुम्बिनी एफसीले निङ्साङ लिम्बुलाई, धनगढी एफसीले रोहन खड्गीलाई, एफसी चितवनले शिशिर चौधरीलाई, झापा एफसीले एरोन थापालाई, काठमाडौं रेजर्स एफसीले मौसम लुंगेली मगरलाई, ललितपुर सिटी एफसीले पवन शाहीलाई र पोखरा थन्डर्स एफसीले गौरव श्रेष्ठलाई टोलीमा समावेश गरे।

तेस्रो चरणमा बुटवल लुम्बिनी एफसीले खेमराज श्रेष्ठलाई, धनगढी एफसीले हरिशराज बठिट्टालाई, एफसी चितवनले विशाल स्याङ्तेनलाई, झापा एफसीले श्याम मुर्मुलाई, काठमाडौं रेजर्स एफसीले पुस्कर खड्कालाई, ललितपुर सिटी एफसीले दिपेश घलेलाई, पोखरा थन्डर्स एफसीले सकल रेग्मीलाई अनुबन्ध गरे।

अन्तिम चरणमा बुटवल लुम्बिनी एफसीले मनिष सेडाईलाई, धनगढी एफसीले सन्तोष महतलाई, एफसी चितवनले प्रदीप भण्डारीलाई, झापा एफसीले अभिषेक गुरुङलाई, काठमाडौं रेजर्स एफसीले पेम्बा दोर्जे लामालाई, ललितपुर सिटी एफसीले अनिश क्षेत्रीलाई, पोखरा थन्डर्स एफसीले प्रविणकुमार सुनारलाई टोलीमा समावेश गरे।

ड्राफ्ट समाप्त भएसँगै सबै टोलीहरूले आफ्नो युवा खेलाडीहरू सुरक्षित गरेका छन्, जसले लिगमा ऊर्जा र प्रतिस्पर्धात्मकता थप्ने अपेक्षा गरिएको छ। आयोजक समितिले सी-श्रेणी खेलाडीहरूको लागि पारिश्रमिक दायरा १ लाखदेखि १.५ लाख रुपैयाँसम्म तोकेको छ।

अब टोलीहरू अनुबन्धित खेलाडीहरूसँग सम्झौता प्रक्रिया अघि बढाउँदै छन्। एनएसएलको नयाँ सिजनको तयारी तीव्र बनेसँगै प्रशंसकहरू रोमाञ्चक प्रतिस्पर्धा र नयाँ प्रतिभाहरूको प्रदर्शनको प्रतीक्षामा छन्।









Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved