३६ वर्षपछि नेपालले सिङ्गापुरलाई हरायो : जेलेस्पीको गोलले पुरानो इतिहास तोडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2025 | 06:44:01 AM मा प्रकाशित

नेपाली फुटबल टोलीले ३६ वर्षअघिको अपमानको बदला लिँदै सिङ्गापुरमाथि ऐतिहासिक जित दर्ता गर्न सफल भएको छ। सिङ्गापुर नेसनल स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली सिङ्गापुरलाई १–० ले पराजित गरेको हो।

नेपालको जितमा निर्णायक भूमिका खेलेका जेलेस्पीजङ्घ कार्कीले खेलको १२औँ मिनेटमा मनिष डाँगीको क्रसमा गोल गर्दै इतिहास बनाएका हुन्। यही गोल नै खेलको एक मात्र निर्णायक गोल बन्यो। सिङ्गापुर विरुद्ध नेपालको यो पहिलो गोल समेत हो।

यसअघि सन् १९८९ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र सिङ्गापुरबीच दुई खेल भएको थियो, जहाँ नेपालले दुवै खेल गुमाएको थियो—पहिलो खेलमा ७–० र दोस्रोमा ३–० को हार बेहोरेको थियो। त्यसयता नेपालले सिङ्गापुरसँग कुनै पनि जित हासिल गर्न सकेको थिएन।

नेपालले सिङ्गापुरसँग पहिलो पटक सन् १९८२ मा किङ्ग्स कपमा प्रतिस्पर्धा गरेको थियो, जसमा नेपाल २–० ले पराजित भएको थियो। त्यसपछि सन् १९८६ मा दशरथ रंगशालामा आयोजित पञ्चायत सिल्भर जुबिली कपमा दुवै टोलीबीच गोलरहित बराबरी भएको थियो।

यो ऐतिहासिक जितसँगै नेपाली टोली आत्मविश्वासका साथ मलेसियातर्फ प्रस्थान गर्नेछ। नेपालले एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत आगामी मार्च २५ मा घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved