नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि टिकटक अफिसियल इन्टरटेनमेन्ट पार्टनर बनेको छ। यस सहकार्यमार्फत लिगलाई डिजिटलरूपमा अन्तरक्रियात्मक बनाउँदै फ्यानहरूको सहभागिता अझ विस्तार गर्ने तयारी गरिएको छ।
मार्च २९ देखि दशरथ रंगशालामा सुरु हुने एनएसएल ३ एक महिनासम्म सञ्चालन हुनेछ र अन्तिम म्याच अप्रिल २६ मा हुनेछ। टिकटकसँगको सहकार्यले खेलाडीहरूको पर्दा पछाडिका गतिविधि, भाइरल ट्रेन्ड, खेल हाइलाइटहरू, तथा विशेष कन्टेन्टहरूमार्फत फ्यानहरूलाई अझ नजिक ल्याउने अपेक्षा गरिएको छ।
टिकटकले हाल विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताको पहुँच बनाइसकेको छ। नेपालमा समेत पछिल्ला वर्षमा खेलकुद कन्टेन्ट र युवा क्रियटरहरूको लागि प्रमुख प्लेटफर्मको रूपमा स्थापित भएको टिकटकले यो लिगलाई डिजिटल दर्शकसँग जोड्ने प्रयास गरेको छ।
टिकटक दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, “एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा हामी उत्साहित छौं। फ्यानहरूमाझ फुटबलको भावना र जोश थप्न हामी तयार छौं।” उनले टिकटकलाई नेपाली फुटबल मात्र होइन, सम्पूर्ण खेलकुदको फ्यानडमको डिजिटल घर बनाउने लक्ष्य रहेको बताइन्।
एनएसएल प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने, “फुटबल केवल खेल होइन, समाज र साझा भावनाको प्रतीक हो। टिकटकसँगको यो सहकार्यले फ्यानहरूलाई लिगसँग अझ नजिक ल्याउनेछ।”
#CelebrateFootball, #NSL र #NepalSuperLeague ह्यासट्यागमार्फत फ्यानहरूले टिकटकमा आफ्ना भावनाहरू व्यक्त गर्न सक्नेछन्। यो सहकार्यले लिगलाई खेलमैत्री मात्र नभई डिजिटलमैत्री बनाउने विश्वास गरिएको छ।