
हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले आज दोस्रो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे सुरु हुने जानकारी आयोजकले दिएका छन्।
नेपालले बुधबार पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गर्दै सिरिजमा सशक्त सुरुआत गरेको छ। उक्त खेलमा कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमै दुई विकेट गुमाउँदै सहजै पूरा गरेको थियो। कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनसहित बलिङ र ब्याटिङ दुवै पक्षमा सन्तुलित खेल देखिएको थियो।
सिरिजको दोस्रो खेलमा कुवेतले हङकङलाई चार विकेटले हराउँदै आत्मविश्वास बढाएको छ। यस्तै प्रदर्शन आज नेपालविरुद्ध दोहोर्याउने लक्ष्यसहित मैदान उत्रिने तयारीमा कुवेती टोली देखिएको छ।
चारदेशीय सिरिजको यो तेस्रो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। दोस्रो जित निकाल्दै शीर्ष स्थानमा पुग्ने अवसर दुवैलाई छ। नेपालको नजर जितको निरन्तरतासँगै फाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यमा केन्द्रित हुनेछ।
आज नै हुने अर्को खेलमा हङकङ र कतार भिड्दैछन्। नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहनेछन्। समूह चरणको प्रत्येक खेलमा हुने अंकतालिकाको अवस्था सिरिजको समीकरणमा निर्णायक बन्ने भएकाले आजका खेलहरू महत्वपूर्ण मानिएका छन्।