
आगामी आइतबारदेखि सुरु हुन लागेको आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक गरिएको छ। खेल सुरु हुनुअघि नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिएको हो।
उक्त ट्रफी नेपाली यू–१९ टोलीका कप्तान नरेन भट्ट, युएईका कप्तान, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरूले संयुक्त रूपमा सार्वजनिक गरेका छन्। पाँच राष्ट्र सहभागी रहने उक्त प्रतियोगितामा विजेता टोलीले सन् २०२६ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कप्तान नरेन भट्टले नेपाल सन्तुलित टोलीका साथ मैदानमा उत्रिने बताउँदै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाए। यस्तै युएई, अफगानिस्तान, हङकङ र ओमानका कप्तानहरूले पनि प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउने र आफ्नो देशको गौरव बढाउने लक्ष्य प्रस्तुत गरेका छन्।
प्रतियोगिता चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ। खेलहरू काठमाडौँस्थित माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। उद्घाटन खेलमै घरेलु टोली नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले यसपटक युवा र अनुभवी खेलाडीको संयोजनमा १४ सदस्यीय टोली सार्वजनिक गरेको छ। कप्तान भट्टको नेतृत्वमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र बिपिनप्रसाद शर्मा टोलीमा अटाएका छन्।
नेपालले घरेलु मैदानको फाइदा उठाउँदै प्रतियोगिता जित्ने लक्ष्य लिएको छ। यू–१९ स्तरमै अन्तर्राष्ट्रिय अनुभव पाएका खेलाडीहरूले नेपाली क्रिकेटको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।