सफल पर्यटन व्यवसायी कुमार भन्छन्, ‘भुईँबाट उठेको मान्छे हुँ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 08, 2020 | 11:30:15 AM मा प्रकाशित

laxmi  sunrise bank

एउटा मान्छेले कति वटा व्यवसाय गर्न सक्छ ? कति रोजगारी सिर्जना गर्न सक्छ ? लगानी कति गर्न सक्छ ? राज्यलाई कति कर बुझाउन सक्छ ? सामान्य लाग्ने यी प्रश्नहरुका जवाफ अनुमानका आधारमा दिँदा नमिल्न सक्छ । किनकी एकभन्दा बढी व्यवसाय गरेर सयौँको संख्यामा रोजगारी सिर्जना गरेका अन्जान थापा (कुमार) जस्ता उदाहरणीय मान्छे पनि नेपालकै व्यवसायीक जगतमा छन् । 

आसाही ग्रुप अफ कम्पनीमार्फत व्यवसाय गरिरहेका उनी हाल चार तारे उडल्याण्ड होटल दरबारमार्ग, तीन तारे ब्युटिफुल होटल ठमेल (बुटिक होटल), आसाही ट्रेक एण्ड एक्सपिडिसन, हिमालयन इन्टरनेशनल योगा एकेडेमी, ट्रष्ट एन केयर मन्टेश्वरी स्कुल र अदृष्य फाउण्डेसन नेपालका सञ्चालक छन् ।

‘भुईँबाट उठेको मान्छे’

दरबारमार्ग काठमाडौँको सबैभन्दा महङ्गो क्षेत्र हो । पर्यटकीय स्तरका तारे होटल, उच्च व्यवसायीक चहलपहलले दरबारमार्ग क्षेत्र अन्य स्थानको तुलनामा महँगो क्षेत्र हो । दरबारमार्गको केन्द्रमा रहेको विशाल चार तारे ‘उडल्याण्ड होटल’मा हँसिलो अनुहार र जोशीलो शरीर भएका अन्जान थापा (कुमार) सँग चिया पिउँदै उनको व्यवसायीक यात्राबारे कुराकानी भयो ।

आफूलाई व्यवसायी भन्न रुचाउनेहरु प्रतिष्ठा खोज्ने हुन्छन् । तर कुमारमा त्यो लागू हुँदैन । कुमार ‘रेडिमेड’ मञ्चमा ‘आसिन’ होईनन्, आफैँले तयार पारेको मञ्चमा सानदार ‘बिराजमान’ छन् । ‘भुईँबाट उठेर अनेकन समस्या र चूनौतिको सामना गर्दाको फल पाईरहेको छु जस्तो लाग्छ’ मन्द मुस्कुराउँदै उनी भन्छन् ।

२०३४ साल मंसिर २ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ (साविकको त्रिपुरेश्वर–६) मा जन्मिएका थापा धादिङकै माटोमा हुर्किए । एक तहको अध्ययन गाउँमै सकेर उच्च शिक्षा आर्जन गर्न २०५१ सालमा काठमाडौँ आएका कुमारका अगाडी संघर्षका पहाड ठडिँएका थिए । 

हिजोको भरिया आज आधा दर्जन व्यवसायको मालिक

काठमाडौँमा बस्न आम्दानी गर्नुपर्ने थियो, आम्दानीका लागि काम गर्नुपर्ने । गाउँबाट भर्खर काठमाडौँ छिर्दा काम कता खोज्ने ? कसले दिने ? उनलाई केही दिन यस्तै यस्तै पनि लाग्यो । तर धादिङबाट काठमाडौँ आएर पर्यटन व्यवसाय गरिरहेका अग्रजहरुसँग उनको राम्रो सम्बन्ध थियो । 

ट्रेकिङ क्षेत्रमा भरियाको रुपमा उनी प्रवेश गरेका थिए । आर.आर. क्याम्पसमा पत्रकारिता पढ्दै गर्दा उनले गणेश हिमाल ट्रेक नामक कम्पनीका सञ्चालक ज्ञानु रिमालबाट धेरै कुरा सिके । सोही कम्पनीमार्फत उनी भरियाको रुपमा नेपालका धेरै स्थानहरु पुगे । २०५३ सालबाट करिब डेढ वर्ष भरिया भएपछि उनी गाइड बने । 

‘गाउँबाट आएको मान्छे, अंग्रेजी खासै राम्रो नहुने’ उनी विगत सम्झिँदै भन्छन्, ‘विस्तार अंग्रेजी सुधार गर्दै लगेँ, २०५५ बाट टुरिष्ट गाइड बनेँ ।’ त्यो समय उनको जीन्दगीको असाध्यै सुन्दर र अत्यन्त महत्वपूर्ण रह्यो । ‘सुरुमा अलिअलि पैसा पनि हुने, घुम्न पनि पाईने भनेर १०-१२ दिन छुट्टि हुनासाथ ट्रेकिङ गइन्थ्यो’ कुमार भन्छन्, ‘पैसा पनि पाइने, बक्सिस पनि पाईने भएर धादिङबाट आएका साथीहरु हामी धेरै जना ट्रेकिङ जान्थ्यौँ ।’ 

जिन्दगी चिन्ने र भोलीको सुन्दर भविष्यको सपना देख्ने भनेकै दुःख पर्दा हो भन्छन् उनी । गाउँले परिवेशबाट काठमाडौँ आएर पर्यटकका सामान बोकेर देशका विभिन्न स्थानमा पुग्दा उनले पर्यटन क्षेत्रको सम्भावना देखे । २३ वर्षदेखि निरन्तर रुपमा पर्यटन क्षेत्रमै क्रियाशिल रहेका थापा अहिले आधा दर्जन बढी व्यवसायका मालिक छन् । 

होटल र ट्रेकिङ प्रत्यक्ष पर्यटनसँग सम्बन्ध राख्ने व्यवसाय हुन् । हिमालयन इन्टरनेशनल योगा एकेडेमी उनले ‘योगा पर्यटन’ को विकासका लागि खोलेका हुन् । ‘आफूमा आत्मविश्वास र आफूले संगत गरेका व्यक्तिबाट पाइने प्रेरणाले मान्छेलाई सफलताको बाटोमा डोहो¥याउने रहेछ’ प्रशन्न मुद्रामा कुमार भन्छन् । 

द्वन्दले झण्डै विस्थापित !

२०५६ सालबाट आफ्नै कम्पनी खोलेर पर्यटन व्यवसायमा स्थायी रुपमा प्रवेश गरेका कुमार सुरुमा अलि बढी अताल्लिएका पनि थिए रे । ‘अरु कम्पनीको गाइड बनेर हिड्दा र आफ्नै कम्पनीमार्फत पर्यटक पठाउँदा जिम्मेवारी बढ्दो रहेछ, सुरुमा कम्पनी नचल्ने हो कि भन्ने लाग्दो रहेछ’ कुमारले भन्छन् । 

आफ्नै व्यवसाय सुरु गरेको पहिलो २ वर्ष राम्रो आम्दानी भयो । केही कर्मचारी पनि राखेका थिए । उनीहरु सबैलाई खुशी राख्न सकेकोमा प्रशन्न थिए कुमार । तर देशब्यापी रुपमा चर्किएको द्वन्द काठमाडौँ पनि आइपुग्यो । यसले कुमारको मात्रै होइन, पर्यटन व्यवसाय नै धाराशायी बन्यो ।

‘द्वन्दको बेलामा विभिन्न देशहरुले ट्राभल एड्भाइजरी जारी गरेरै नेपाल नजानु भने, असुरक्षित छ भनेर विश्वभरी प्रचार भयो’ कुमार सम्झिन्छन्, ‘त्यतिबेला सँगै व्यवसाय सुरु गरेका साथीहरु व्यवसाय नै छोडेर विदेश तिर जानुभयो, म पनि झण्डै विस्थापित भएको थिएँ । तर आट आयो र निरन्तरता दिइरहेँ ।’ 

परिवारको आर्मी बनाउने चाहाना 

कुमारका बुबा नेपाली सेनाका रिटायर्ड कर्णेल हुनुहुन्थ्यो । छोरो पनि आर्मी बन्नुपर्छ भन्ने सोच बुबामा थियो । तर २०५० सालमा एसएलसी सकेर काठमाडौँ छिरेका कुमारले आर्मी बन्ने सपना पाल्न छोडिदिए । 

मुसुक्क मुस्कुराउने आदत भएका कुमार पूराना दिन सम्झिँदै भन्छन्, ‘हाम्रो परिवार मध्यम थियो, गाउँमा घाँस दाउरा गरेरै पढेको हो । काठमाडौँमा गएर केही काम सिक्छु भन्ने त थियो, तर बुबासहित मेरो परिवारको चाहाना दुख गरेर पढेपछि जागिर खानुपर्छ त्यसमा पनि आर्मी बन्नुपर्छ भन्ने बढी प्रेसर थियो ।’ 

तर काठमाडौँ आएर पर्यटनमा विस्तार भिज्न सुरु गरेका उनले आर्मी बन्ने सपना चटक्कै छोडेर पर्यटन क्षेत्रलाई नै आफ्नो कर्म बनाए । आर्मी नबन्ने निर्णय गरेपछि उनी बुबाले दिएको केही रकम र आफूले जम्मा गरेको केही रकम थपेर पूर्ण रुपमा व्यवसायमा होमिए ।

सफल नेतृत्व क्षमता 

देशका ६० वटा जिल्ला र विश्वका ५० बढी देशको भ्रमण गरेका कुमार युवा पर्यटन व्यवसायी हुन् । पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) को कोषाध्यक्ष समेत भईसकेका कुमार धेरै संस्थामा आवद्ध छन् । 

पर्यटन सेवा संघको पूर्व उपाध्यक्ष र नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरिसकेका उनको नेतृत्व क्षमता लोभलाग्दो छ । यसरी व्यवसायिक संगठनमा आफ्नो अब्बल क्षमता देखाएका उनी पूर्णकालिन राजनीतिबारे भने खासै बोल्दैनन् । ‘राजनीति त यसो रिल्याक्स हो, म त व्यवसायमै रमाउँछु’ कुमार भन्छन् ।

राज्यको ठूलो करदाता

सफल पर्यटन व्यवसायीको पहिचान बनाएका कुमारले व्यवसायमा ६० करोडभन्दा धेरै लगानी गरेका छन् । सदाबहार रुपमा २ सय जनालाई प्रत्यक्ष रोजगारी दिएका उनले सिजनल हायर गर्ने कामदार र कर्मचारीको संख्या पनि यसैको हाराहारीमा छ । पर्यटन क्षेत्रमा यति धेरै लगानी गरेर राज्यलाई ठूलो कर बुझाइरहेका कुमार आफूले राज्यलाई दिएको योगदानप्रति गर्व गर्छन् ।

कुमारले भने, ‘यति नै बुझाउँछु वा यति नै बुझाएको छु भन्ने हिसाब त हुँदैन तर ५ करोडभन्दा कम आम्दानी गर्ने सानो करदाता हुन्छ, ५ करोडभन्दा बढी कमाउने ठूलो करदाता हुन्छ । म ठूलो करदातामध्ये एउटा हुँ ।’ 

भोलीको योजना

नेपालको पर्यटन प्रकृतिसँग निर्भर छ भन्छन् उनी । यहाँ मानव निर्मित पर्यटकीय गन्तव्यहरु पनि बनाउन सकिने उनको बुझाई छ । ‘स्टार रिसोर्टहरु खोल्न सकिन्छ, विभिन्न नाङ्गा डाँडाहरुमा पर्यटकीय संरचना बनाउन सकिन्छ’ उनी भन्छन्, ‘चन्द्रागिरीले सुरु गरेको छ, त्यस्तो पर्यटन त हाम्रो देशैभरी गर्न सकिन्छ ।’ 

‘माल्दिभ्समा ११९२ वटा टापू छन्, हरेक टापुमा एउटा होटल छ’ कुमारले भने, ‘हाम्रा पनि हरेक डाँडामा स्तरीय होटल खोल्न सकिन्छ ।’ यी परिकल्पनासँगै कुमारको एउटा ‘बिग ड्रिम’ छ, करोडौँको लगानीमा स्टार रिसोर्ट खोल्ने । ‘माउण्टेन फेसिङ एउटा ठूलो एरिया लिएर फाइभ स्टार लेवलको रिसोर्ट बनाउने मेरो सोच छ’ कुमारले आफ्नो योजना सुनाए । 

तराईका क्षेत्रमा पर्यटकीय गतिविधि गराउने संरचना नभएको अवस्थामा उनले विभिन्न सुझाव समेत दिएका छन् । ‘दुवईले बनाएको जस्तो बोज खलिफा, फ्रान्सको इफिल टावर, सिंगापुरको युनिभर्सल स्टुडियो जस्ता संरचना यहाँ पनि बनाउन सकिन्छ’ कुमार भन्छन्, ‘त्यस्ता संरचना तराई क्षेत्रमा बन्ने हो भने टुरिजम देशब्यापी हुन्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved