कोरोना कहरः प्रेसरले ढलेँ भने श्रीमती र छोराछोरीको के हालत होला ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 14, 2020 | 09:57:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१५ जुन १ देखि काठमाडौँको व्यस्त बजार ठमेलको ज्याथामा ‘सेक्रेट भ्याली होम’ नामक होटल सञ्चालनमा छ । २०१५ कै अप्रिल २५ मा भूकम्प गएको थियो । भूकम्पले तहसनहस बनेको व्यवसायीक क्षेत्रलाई गति दिन सके मूलुकलाई राम्रै कर बुझाउन सकिन्छ र आफूलाई पनि शन्तोषजनक नै आम्दानी हुन्छ भनेर नविन गिरीले होटल व्यवसायमा हात हाले ।

घरबेटीका नाममा १८ लाख ८० हजार रुपैयाँ ‘क्यास डिपोजिट’ राखेर उनले मासिक ४ लाख २५ हजार रुपैयाँ भाडा तिर्ने गरी सन् २०१६ जनवरी १ मा घरबेटीसँग सम्झौता गरे । फर्निचरका सामान (बेड) हरु घरबेटीकै प्रयोग गर्ने र बाँकी डेकुरेशनका काम उनले नै गर्ने भए । रङ्गरोगनदेखि सजावटका सामानहरु, गमला, कोठा सजावटलगायतका काम नविनले नै गर्ने भए ।

सोही अनुरुप उनले काम गरे । सोफा सेट, एसी, विद्युतीय बल्बलगायतका धेरै कुरामा उनले एक्लै लगानी गरे । जम्मा २२ वटा कोठा रहेको होटलमा ५ वटा ‘फेमिली रुम’ छन् । पर्यटक स्तरको यो होटलमा १६ वटा कोठा पार्केटिङ स्याण्डर्डका छन् । सबै काम गर्दा उनले १ करोड ३५ लाख रुपैयाँ लगानी गरे । 

घरबेटीको कचकच

ठमेल पर्यटन परिषद्ले ठमेल क्षेत्रका व्यवसायीहरुका लागि छुटको पहल गरिरहेको छ । घरबेटीहरु पनि छुट दिन तयार छन् । तर छुट पाउने अवधि सकिएपछि कसरी भाडा तिर्ने ? ‘घरबेटीले ३ मिहनाको पूरै भाडा छुट दिएका छन्’ नविनले भने, ‘तर त्यो ३ महिना बितिसक्यो, अब घरबेटी त जसरी पनि भाडा उठाउन खोजिरहेका छन्, व्यापार छैन कसरी तिर्नु ?’ 

‘घरबेटीले ३ मिहनाको पूरै भाडा छुट दिएका छन्’ नविनले भने, ‘तर त्यो ३ महिना बितिसक्यो, अब घरबेटी त जसरी पनि भाडा उठाउन खोजिरहेका छन्, व्यापार छैन कसरी तिर्नु ?’ 

आँखाको परेली छेउबाट बाहिर निस्कनै लागेको आँशुलाई आँखाको डिलमै अड्याएर बोल्दै गरेका होटल व्यवसायी नविन रक्तचापका बिरामी पनि रहेछन् । घरबेटीले सधैँ भाडाका लागि ताकेता गरेपछि उनले आफू सदस्य रहेको संघसंस्थासँग आफ्ना माग नराखेका होइनन् । घरबेटीलाई सन् २०२० को जनवरी, फेब्रुअरी र मार्च महिनाको पूरै भाडा तिरेका उनले अप्रिल, मई र जुनको पूरै छुट पनि पाए । जुलाई पछि भने ५० प्रतिशत तिर्नुपर्ने समझदारी बनेको थियो । ५० प्रतिशत मात्रै भाडा तिर्न पनि दैनिक ६ वटा कोठा बिक्रि हुनुपर्छ । तर अहिले व्यवसाय शून्य छ ।

घरबेटीले भाडाको विषयमा निकै किचलो गर्न थालेपछि उनले आफूले डिपोजिट गरेको रकमबाट कटाउन आग्रह गरे । यसअघि पनि एक महिना उनले भाडा तिर्न नसकेपछि डिपोजिटबाट नै कटाउन लगाएका थिए । यसपालि पनि उनले डिपोजिटबाटै कटाउन भने । तर घरबेटीले मानेका छैनन् ।

‘मैले राखेको डिपोजिटबाट कटाउनु भन्दा मान्दैनन्, अझै १२ लाख ५० हजार रुपैयाँ डिपोजिट छ’ भावुक हुँदै नविनले भने, ‘अहिले त्यही पैसाबाट कटाउनु, पछि अवस्था सामान्य भएपछि डिपोजिटमा थप गर्न तयार छु भनेर भन्दा पनि घरबेटीले नमानेपछि लगानीको ५० प्रतिशतमा मात्रै भएपनि होटल बिक्रि गर्ने सोचमा छु ।’ 

‘घरबेटीलाई सामान बिक्रि गरिदेउ, तिम्रो लिनेजति लेउ बाँकी देउ पनि भने । यसमा पनि नहुने भए तपाईको घरको रङरोग, सजावटलगायत डेकुरेशनमा भएको खर्च कटाउनु र बाँकी कति पुग्दैन त्यसको पनि भएका भौतिक बस्तुहरु नै राख्नु म छोडेर जान्छु पनि भने’ नविनले निकै भावुक बन्दै आफ्नो दुखेसो सुनाए, ‘लगानी र डिपोजिट फीर्ता भए भोली नै छोड्ने थिएँ, सधै यो कचकच सुन्दा सुन्दा आत्महत्या गरिदिउँ जस्तो पनि लाग्छ ।’ 

उनले निकै लामो श्वास फेरे र खुईया काडे ।

लगानी र डिपोजिट फीर्ता भए भोली नै छोड्ने थिएँ, सधै यो कचकच सुन्दा सुन्दा आत्महत्या गर्दिउ जस्तो पनि लाग्छ

‘कर्मचारीको अभाव देख्दा पनि सहयोग गर्न सकिन’

उनको होटलमा १६ जना कर्मचारी छन् । श्रीमति र छोरी पनि सघाउँछन् । मासिक करिब ८ लाखको हाराहारीमा आम्दानी गर्दै आएका उनको खर्च पनि कम थिएन । कर्मचारीको पारिश्रमिकमा मात्रै मासिक २ लाख बढी खर्च हुन्थ्यो । घर नै भाडामा लिएर होटल व्यवसाय गरिरहेका उनले पानी, बिजुली र फोहोरको शुल्क मात्रै ५० हजारको हाराहारीमा तिर्थे । घरभाडा ४ लाख २५ हजार छँदै थियो । छोराछोरीको पढाई शुल्क पनि धानिएकै थियो ।

१५ जना कर्मचारीहरु कोभिडका कारण लकडाउन भएपछि घर जाने भए । एक जनालाई उनले रेखदेख गर्नुहुन्छ बस न त पनि भने । तर सबै साथी जाने भएपछि उनी एक्लै बस्न मानेनन् । त्यसपछि सबै कर्मचारी घर गए । उनले मार्च सम्मको सबै पैसा दिएर कर्मचारी पठाए । त्यसपछिको दिन सकेका छैनन् । 

नजिकै घर भएकाहरु बेला बेलामा आउँछन् । तर, आएपनि उनीहरु आफूले काम गरेको होटल भित्र पस्न सक्दैनन् । किनकी सधै व्यस्त देखिरहेका उनीहरुले उजाड भएको देख्नै सक्दैनन् । गेटबाट भित्र छिर्नासाथ भावुक हुन्छन्, र पैसा माग्न पनि सक्दैनन् । त्यसै विरक्तिएर फर्किन्छन् ।

‘मलाई थाहा छ, उनीहरु पैसाकै अभावले आएका हुन्’ नविन भन्छन्, ‘म उनीहरुको अभाव देखिरहँदा पनि खर्च छ कि छैन भनेर सोध्न सक्ने अवस्थामा छैन ।’ 

ढलेँ भने श्रीमतिले कसरी व्यवहार चलाउँछे होला ?

‘आफन्त, साथीभाइसँग मैले यस्तो बेलामा सहयोगको याचना गरिरहेको छु । सरकार त हाम्रा लागि भएन । जसोतसो व्यवहार त मिलाउनै पर्छ । मानसिक तनावले प्रेसर बढेर ढल्छु कि जस्तो पनि लाग्छ । मनमा अनेक कुरा खेल्छन्, तर, आत्महत्या नै त म नगरौला, केही हदसम्म कठोर पनि बन्न सक्छु जस्तो लाग्छ । तर सधैँ एउटै किचलो सुन्दा सुन्दा मानसिक तनाव बढेर प्रेसरका कारण ढलिहाले भने पढ्दै गरेका छोराछोरीको के गति होला ? श्रीमतिले व्यवहार कसरी धान्न सक्ली ?’ यति भनुन्जेल नविनका आँखा रसाईसकेका थिए ।

‘१८ लाख ८० हजार रुपैयाँ डिपोजिटबाट घरबेटीले १० प्रतिशतका दरले पनि १ लाख ८० हजार रुपैयाँ ब्याज खाएको छ । तर संकटको बेलामा अनेक विकल्प दिँदा पनि सहमत नहुने घरबेटी र पलायन हुने अवस्थामा पुगेका हामी व्यवसायीको लागि एक शब्द पनि नबोल्ने लाटो, अन्धो र बहिरो सरकार भएको देशमा कसरी टिक्न सकिएला र खै ?’ 

‘१८ लाख ८० हजार रुपैयाँ डिपोजिटबाट घरबेटीले १० प्रतिशतका दरले पनि १ लाख ८० हजार रुपैयाँ ब्याज खाएको छ । तर संकटको बेलामा अनेक विकल्प दिँदा पनि सहमत नहुने घरबेटी र पलायन हुने अवस्थामा पुगेका हामी व्यवसायीको लागि एक शब्द पनि नबोल्ने लाटो, अन्धो र बहिरो सरकार भएको देशमा कसरी टिक्न सकिएला र खै ?’ 

‘ठूला होटलले एयरलाइन्सका स्टाफ राखेका छन् रे, मेडिकल स्टाफहरु राखेका छन् रे । फेरि छुट पाउने सूचीमा पनि उनीहरु नै छन्’ दुखी हुँदै नविन भन्छन्, ‘धन्न अहिलेसम्म बैंकले ब्याजका लागि ताकेता गरेको छैन र मात्रै हो, नत्र म ढलिसक्थेँ होला ।’

कोरोना भाइरस (कोभिड–१९) का कारण हरेक किसिमका व्यवसाय प्रभावित भएका छन् । मसिनो गरी अध्ययन गर्ने हो भने होटल व्यवसाय सबैभन्दा धेरै मारमा परेको छ । होटल व्यवसायीले पनि आफूहरु निकै नै मारमा परेको गुनासो गरिरहेका छन् । तर, उनीहरुले राज्यबाट पाउने सुविधाको आशा भने मारिसकेका छन् ।  

हामी कोभिड–१९ बाट प्रभावित भएकाहरुको विभिन्न समस्या, कठिनाई र भोगाईहरुलाई यसरी नै क्रमश आगामी शृंखलामा समेट्दै जाने छौ । तपाई वा तपाईका निकटमा यी र यस्तै खालका भोगाई भए हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।  -सम्पादक

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved