नगर प्रहरीले गाडा खोसेपछि भाइरल भएकी मञ्जु भन्छिन्, ‘अब सटरमा पसल गर्छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 01:11:47 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले फुटपाथका व्यापारीलाई दिने दुःख भोग्नेलाई मात्रै थाहा हुन्छ । रत्नपार्क आसपासमा दिनहुँ फुटपाथका व्यवसायीहरु लुक्नुपर्ने बाध्यता छ भने अन्यत्रको हालत पनि उस्तै । फुटपाथबाट सामान उठाउने र कौडीको भाउमा बिक्रि गरेर आम्दानी बढाउने दाउमा काठमाडौँ महानगर देखिन्छ । 

मञ्जु कुँवरको कथा

गत पुस २९ गते काठमाडौँ महानगरपालिकाबाट खटिएका एक हुल नगर प्रहरीले सुकेधारामा एउटी महिलाले ठेल्दै गरेको ठेलागाडा जबरजस्ती उठाए । फलफुल र तरकारी रहेको गाडा नगर प्रहरीले उठाएर ट्रकमा हालेपछि गाडावाली मञ्जु कुँवर बीच सडकै डाको छोडेर रोइन् । तर, उनको विलौनासँग नगर प्रहरीको पोशाकमा खटिएकाहरुले कुनै सहानुभूति देखाएनन् । 

बिहान बेलुकाको छाक टार्न मञ्जुले ठेला ठेल्नुपर्ने बाध्यता नगर प्रहरीले बुझेन र बुझ्ने चेष्टा पनि गरेन । ठेलागाडामा तरकारी र केही फलफुल राखेर घचेट्दै ग्राहक खोज्नुपर्ने मञ्जुको बाध्यतामा मलहम लगाउनुको सट्टा काठमाडौँ महानगरपालिकाले नगर प्रहरीमार्फत उनको बाध्यतामा नुन छर्किने प्रयत्न गर्यो भन्दा गलत नहोला ।

ठेलागाडामा तरकारी राखेर ग्राहक खोज्दै सडक सडक डुल्नु मञ्जुको रहर थिएन । उनका छोरा क्याफेमा काम गर्थे । कोरोनाका कारण लकडाउन भएपछि क्याफे बन्द भयो । लामो समय क्याफेहरु नखुलेपछि साहुले कामदार राख्न नसक्ने भन्दै उनका छोरालाई कामबाट निकालिदियो । लकडाउनका कारण छोराको जागिर गएपछि मञ्जुका सामु गाडाको व्यापार भन्दा अर्को विकल्प थिएन ।

९ हजार रुपैयाँ ऋण गरेर गाडा किनेकी मञ्जुले घर घर, चोक चोक र सडक सडकमा ग्राहक खोज्दै तरकारी बेच्ने गरेकी थिइन् । भदौदेखि नै उनको यो दैनिकी बनेको थियो । 

‘आम्दानी गर्ने छोरो बेरोजगार भएपछि ‘पापी पेट’ पाल्नकै लागि मञ्जु दिदीले सडकमा बुढेसकालमा ठेला घचेट्नुपरेको थियो’ स्थानीइ स्टेशनरी व्यापारी अर्जुन थापा भन्छन्, ‘तर, उहाँको बाध्यता नगर प्रहरीले बुझ्दै नबुझी टन्न तरकारी र फलफुल भएको गाडा उचालेर ट्रकमा राखेर हुइकियो ।’

मञ्जुको तरकारी बोकेको ठेला नगर प्रहरीले दुर्व्यवहारपूर्ण तवरबाट ट्रकमा हालेर जफत गरेको भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल बन्यो । नजिकै रहेका एक जनाले त्यो दृश्य मोबाइलमा भिडियोमार्फत कैद गरिरहेका रहेछन् । उनले उक्त भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि भिडियो भाइरल मात्रै भएन, नगर प्रहरीको तीव्र आलोचना पनि भयो । 

अब सटरमा तरकारी पसल

भिडियो भाइरल बनेसँगै उनलाई सहयोग गर्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अभियान नै चलाए । फलस्वरुप उठेको ५ लाख रुपैयाँ मञ्जुले पाईन् । अब उनी गाडामा होइन, सटरमा तरकारी पसल चलाउने योजनामा छिन् । 

तर, उमेरले ५० पुगेकी मञ्जु कुँवरलाई सडकमा तरकारी बेच्नुपर्ने आफ्नो बाध्यता नबुझी काठमाडौँ महानगरपालिकाबाट खटिएका नगर प्रहरीले गरेको दुर्व्यहार भने जीवनभर गढिरहनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved