१७ वर्षीया शिबुः जो देशमा रासायनिक मल अभावको खबर सुनेर आफैँ उत्पादनमा लागे

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 03, 2021 | 01:19:31 PM मा प्रकाशित

laxmi  sunrise bank

‘हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको खस्रो पात’ भन्ने उखान नेपाली समाजमा आजपर्यन्त चर्चामा छ । समाजमा हुने ३ खालका मानिसहरु लक्षित यो उखान बेला बेला प्रयुक्त हुने गर्दछ । ३ खालका मानिस भनेको गरिखाने, मागेर खाने र ठगेर खाने हुन् ।

माटोमा पसिना पोख्ने काम नेपाली युवाहरुको लागि असैह्य भईसक्यो । रातभरी मोबाइलमा गेम खेल्ने, बिहान ८ बजेपछि मात्रै उठ्ने, बजार डुल्ने, घरमा बुबा आमासँग झगडा गरेर पैसा माग्ने नेपाली युवाहरुको चरित्र नै बनिसक्यो । तर, रुपन्देही सैनामैना नगरपालिकका ८ बाँसगढीका १७ वर्षीया युवा शिबु भण्डारी भने अहिले देखिने युवाको चरित्रभन्दा भिन्न छन् । 

सानैदेखि माटोमा खेल्न रुचाउने उनी अहिले जैविक कम्पोष्ट मल बनाउँछन् र बिक्रि गर्छन् । सबेरै उठ्ने र बिहानको नित्यकर्म सकेपछि उनको दैनिकी घर पछाडिको मल पिटमा बित्ने गर्छ । 

मल पिटमा गड्यौला पालेका छन् । अनि खाना खाएपछि उनी तीनै गड्यौलाको रेखदेखमा निस्किन्छन् । किरा लाग्न नदिन सरफसफाई गर्छन् । गड्यौलालाई घामबाट जोगाउन टिनले मलका पिट छोपेर राखेका शिबु बाल क्लबका अध्यक्ष पनि हुन् । 

कसरी पलायो माटोसँग खेल्ने रहर ?

अभावले मान्छेलाई समय अगावै परिपक्व बनाउँछ भन्छन् । शिबुलाई पनि मूलुकले खेपिरहेको मलको अभाव पूर्ति गर्ने तीब्र इच्छा थियो । हरेक वर्ष नेपालले रासायनिक मलको अभाव झेल्दै आएको छ । खेतीपातीको सिजनमा मल अभावको खबर विभिन्न सञ्चार माध्यमबाट सुनेपछि शिबुको ध्यान खिच्यो । बाल क्लबमार्फत विभिन्न नमूना काम गरेका उनी जैविक मल उत्पादन गर्ने मनस्थितीमा पुगे । 

पत्रपत्रिकामा जैविक मलबारे उनी घोत्लिन थाले । विभिन्न प्राविधिक पाटाहरुका सम्बन्धमा समान्य दख्खल राख्ने आत्मविश्वास पलाएपछि शिबुले उत्पादन थाल्ने निधो गरे । काम गर्दै जाँदा छोटो समयमै उनले सबैको ध्यान खिच्न सफल भए । एक त भर्खरको कलिलो उमेरको युवाले थालेको अभियान भएर पनि उनले चौतर्फी हौसला प्राप्त गर्दै गए । काम सुरु गरेको वर्ष दिनमै शिबुले माटोमा आफ्नो मात्रै होइन, मूलुककै भविष्यको रेखा कोरिरहेका छन् । 

अहिलेसम्म एक टन जैविक मल बिक्रि गरिसकेका शिबुले ठाउँ ठाउँमा कुहिने फोहोर संकलनका लागि डस्टबिन राखेका छन् । मानिसहरुलाई जथाभावी फोहोर नफाल्न चेतना फैलाउँदै आएका छन् । सडक फोहोर पनि नहुने र संकलित फोहोरबाट मल पनि उत्पादन हुने गज्जबको आइडीया शिबुले लगाएका छन् ।

कसरी बन्छ मल ?

एक किलोको ५० रुपैंयामा मल बेच्ने शिबु अहिले बुटवलसम्म परिचित छन् । कौसी खेती गर्नेहरुले शिबुको मल पिटबाट धेरै मल खरिद गर्ने गर्छन् । यद्यपी, शिबुको दाबी अनुसार उनले बनाएको जैविक कम्पोष्ट मल सबै किसिमका अन्न बालीका लागि उपभोयी हुन्छ । 

आफ्नै वरपर रहेका फोहोर झारपात, गोबरलाई प्रयोग गर्दै उनले मल बनाउने गरेका छन् । यसका लागि सुरुमा उनले लुम्बिनी पुगेर एक किलो गड्यौला ल्याए । २ हजार रुपैयाँमा खरिद गरेर ल्याएका गड्यौलाका लागि उनले घर छेवैमा राख्ने ठाउँ बनाए । 

मल बनाउन आवश्यक पर्ने गोबर र कुहिने खालका फोहोरहरु तथा झारपात संकलनमा उनले समय बिताउन थाले । उनले गड्यौलालाई घामबाट जोगाउन टिनको छाना हाले । त्यसपछि संकलन भएको गोबर, फोहोर र झारपात उनले गड्यौलालाई खुवाउन सुरु गरे । गड्यौलाले खाएर पचाएपछि निस्कने फोहोरलाई संकलन गरेर उनले मलका रुपमा बजारीकरण गर्न थाले ।

यसलाई सामान्य भएपनि उद्योगकै रुपमा विकास गर्ने लक्ष्यका साथ शिबुले ‘जिबी प्रांगारिक मल उत्पादन उद्योग’ नामक उद्योग नै दर्ता गरे । 

सुरुमा ल्याईएका गड्यौलाबाटै स–साना गड्यौला जन्मिएका कारण थोरै मल उत्पादन गर्न दोहोर्याएर गड्यौला किनिरहन त पर्दैन, तर धेरै मात्रामा मल उत्पादन गर्ने लक्ष्य लिएका उनी गड्यौला थप गर्ने मनस्थितीमा पनि छन् । गड्यौलाले पचाउने चिज खान दिएको तीन महिनामा मल उत्पादन हुने गर्छ । 

‘नगरपालिकाबाट प्रतिनिधि आएर हौसला दिनुभो’

आफ्नै सुरमा काम गर्दै आएका शिबुले कहीकतै केही गुनासो पनि गरेका थिएनन् । तर, उत्पादन सुरु हुनासाथ लकडाउन भएपछि उनलाई बजारको समस्या भयो । त्यसपछि सामाजिक सञ्जाल फेसबुकबाट उनले आफूले मल बनाएको र आवश्यक परेकाले सम्पर्क गर्न सक्ने भन्दै सूचना पोष्ट गरे । त्यसपछि उनलाई खोज्दै आउनेको संख्या बढ्यो ।

सामाजिक सञ्जालबाटै उनको कामको प्रचार हुन थाल्यो । त्यसपछि नगरपालिकाबाट प्रतिनिधिहरु शिबुको मलपिट अवलोकनमा पुगे । लुम्बिनी प्रदेशकी कृषिमन्त्री आरती पौडेल पनि शिबुको घरमै पुगेर मलपिट अवलोकन गरेर फर्किइन् । त्यसपछि उनको हौसला अझ चुलिएको छ । 

भर्खर ११ कक्षामा शिक्षा शास्त्रमा अध्ययनरत शिबु भण्डारीको यो अभियान कम दर्बिलो छैन । प्राविधिक रुपमा उनीसँग उपर्युक्त शिक्षाको अभाव होला । तर, उनले गरेको यति ठूलो हिम्मत र साहसलाई कमजोर मान्नु हुँदैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved