रमण महतोः जसले दिनरात नभनी ठड्याए धरहरा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 27, 2021 | 11:00:51 AM मा प्रकाशित

sarbottam cement

भूकम्पले मानवीय क्षतिसँगै कयौ त्यस्ता भौतिक संरचनाहरु नष्ट गर्यो, त्यसमा एउटा हो नेपालीको पहिचान बोकेको धरहरा । मानव निर्मित नै भएपनि धरहरा नेपालीको धरोहर थियो । तर, २०७२ बैशाख १२ को भूकम्पले धरहरा गर्ल्याम्म ढल्यो ।

ढलेको धरहरा उभ्याउने संकल्प तत्कालिन प्रधानमन्त्रीले गरे । ‘म बनाउँछु मेरो धरहरा’ अभियान घोषणा गरेपनि त्यसको केही समयमै केपी शर्मा ओली सत्ताबाट बाहिरिनु पर्यो । तर, धरहरा निर्माण गर्ने संकल्पबाट उनी बिचलित भएनन् । दोस्रो पटक प्रधानमन्त्री बनेपछि ओलीले आफ्ना विगतका योजनालाई निरन्तरता दिने क्रममा धरहराको निर्माणलाई प्राथमिकतामा राखे र शिलान्यास गरे । उनै ओलीले बैशाख ११ गते शनिबार धरहराको उद्घाटन गरे । 

३ अर्ब ४८ करोड रुपैयाँमा बाहिरबाट हेर्दा ११ तल्लाको देखिने धरहराको भित्री संरचना २२ तल्लाको छ । १४५ फिट अर्थात् ९२.२५ मिटर अग्लो धरहरामा दुईवटा लिफ्ट राखिएको छ । यसअघि ४.५ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा अहिले ४२ रोपनीमा फैलिएको छ ।

युवा व्यवसायी रमणले गरेको त्यो आँट

भूकम्पले धरहरा भत्किएको खबर सुनेपछि युवा निर्माण व्यवसायी रमण महतोको मन खिन्न मात्रै होइन, रोएको थियो । नेपालको वर्षौ पूरानो इतिहास एकै झड्कामा ढलेपछि रमण आफैँ धरहरा बनाउने सोचमा पनि पुगे ।

‘सरकारले अब धरहरा बनाउला कि नबनाउला ? यति लामो इतिहास बोकेको यो संरचना बनाउन कसले लगानी गर्लान् भन्ने सोचिरहन्थेँ’ रमण भन्छन्, ‘यदि कसैले पनि बनाउन चाहदैनन् भने एक्लै भएपनि बनाउँछु भनेर मैले डिजाइन पनि गरिसकेको थिएँ ।’

भूकम्पले भत्काएको जस्तो धरहरा बनाउन उनले ३ करोडको लागत अनुमान पनि गरेका थिए । ९ तल्लाको धरहरा बनाउने रकम जोहो गर्न सकेपनि आफूले गरेको अनुमानमा बन्न सक्छ कि सक्दैन भन्ने दोधारमा भने रमण थिए । यसै क्रममा जगदम्बा ग्रुपले धरहरा बनाउने भनेपछि रमण पछि हटे । 

तर, पछि अर्कै प्रक्रियामा गएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बनाउने भनेर टेण्डर आह्वान भएको सूचना थाहा पाएपछि रमणले पनि प्रतिस्पर्धामा भाग लिने निर्णय गरे । आफूले बनाउने सोच राखेको धरहरा आफैँले बनाउन पाए हुन्थ्यो भन्ने सोच आएपछि प्रतिस्पर्धामा भाग लिएका रमणले निकै कम मूल्य राखेर बिड गरे । फलस्वरुप धरहरा बनाउने कामको जिम्मा उनैले पाए ।

‘कम मूल्यमा ठेक्का पायो, यसले बनाउन सक्दैन, आधा काम गरेर अलपत्र पारेर छोडिन्छ भनेर धेरै नराम्रो प्रचार पनि भयो हाम्रो बारेमा’ रमण भन्छन्, ‘तर, मैले कसैले नबनाए एक्लै भएपनि बनाउँछु भन्ने सोच राखेको धरहरा बनाउने जिम्मा पाएको हुनाले यो मेरा लागि गौरवको कुरा थियो, बजारमा चलेका हल्लाको पछाडी नलागी म आफ्नै सुरुमा काममा मात्रै लागि रहेँ ।’ 

हरेक १२ दिनमा एक तल्ला ढलान

धरहराको टावर बनाउने काम रमण र उनीसँग भएका अरु जनशक्तिका लागि नयाँ थियो । यस्तो टावर बनाएको अनुभव आफ्ना टिमका साथीसँग नभएपनि रमणले हार मानेनन् । हामी काम गर्न सक्छौं भन्ने अठोटबाट उनी बिचलित भएनन् । दृढ इच्छाशक्तिले आँखिर धरहराको आकार ग्रहण भएरै छाड्यो ।

गोलो आकारमा काम गर्नुपर्ने भएकाले चुनौती भएपनि रमण आफैँले फर्म वर्क सिस्टमको डिजाइन गरे । उच्चतम् प्रविधि र धेरै इन्जिनियरहरुको आईडीया लगाएर हरेक १२/१२ दिनमा एक तल्ला ढलान सकेर रेकर्ड नै कायम गर्न सफल भएकोमा रमणलाई गौरव महशुस हुन्छ ।

‘नर्मल बिल्डिङमा स्काइ फोल्ड सामान्यतया राखिँदैन तर, हामीले धरहरामा स्काइ फोल्ड राखेका छौँ’ रमणले भने । 

सीसी क्यामेराबाट कामको अनुगमन

धरहरा बनाउन कामदारहरुलाई २ सिफ्टमा विभाजन गरी २४ सैँ घण्टा काम हुन्थ्यो । सामान नजिकै टुँडिखेलमा राखिएकाले ढुवानीमा समस्या थिएन । त्यसैले २४ सैँ घण्टा धरहराको काम हुन पाउँथ्यो ।

दिउँसभरी रमणका बुबा बलराम महतो अनुमगनमा हुन्थे भने रात परेपछि रमण फिल्डमा खटिन्थे । कहिलेकाही सबेरै घर गएको बेला घरबाटै सीसी क्यामेरामार्फत अनुगमन गर्थे । 

‘धरहराको काम सक्न हामी यति आतुर छौँ कि त्यो भन्नै सक्दिन, किनभने यो मूलुकको प्रतिष्ठासँग जोडिएको संरचना हो’ रमण भन्छन्, ‘बुबा दिउँसो फिल्डमै रहनुहुन्छ, म साँझमा रहन्छु । साइटमा नगएको दिन निन्द्रा लाग्दैन ।’

यति मात्रै नभई कम्पनीका ‘सिनियर स्टाफ’ लाई समेत आफूले फिल्डमा खटाएको उनको भनाई छ ।

प्राधिकरणका सीईओसँग मिलेको त्यो क्यामेष्ट्रि

२ वर्षमा निर्माण सक्ने भनिएपनि कोरोनाका कारण ४ महिना टावरको काम हुन सकेन । त्यसमा पनि सुरुका ३  महिना साइड मिलाउनमै सकिएको थियो । 

डिजाइनमा कयौ समस्याहरू आफैँले पार लगाए । किनकी उनीसँग स्ट्रक्चर इन्जिनियरहरू पनि भएकोले उनलाई काम गर्न सहज भयो । 

पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र आफ्नो काम गर्ने शैली मिल्दाखेरी समयमै काम सम्पन्न भएको रमणको अनुभव छ । धरहरा निर्माणमा दैनिक २ देखि ४ सयसम्म जनशक्ति खटिन्छन् ।

‘प्राधिकरणबाट सीईओ सर ज्यादै खट्नु भयो, उहाँको खटाई, मेरो टिमको लगाव र मसँग भएका लेवरहरुको जाँगरले टावरको काम सकियो’ रमण भन्छन्, ‘टावर ठडिएपछि १० दिनमा फिनिसिङ गरेको, सबै काम कन्ट्रयाक्टर्सलाई दिएको भए १८ महिनामा सकिन्थ्यो । काम गर्न समय लाग्ने होइन, डिशिजन गर्न समय लाग्ने हाम्रो देशको मूल समस्या हो ।’

‘५ महिनामा बाँकी काम सक्छु’

धरहरा परिसका सबै संरचना निर्माणको काम आगामी ५ महिनामा सक्ने रमणको लक्ष्य छ । जनकपुरको रेलवेको काम गरेर हस्तान्तरण गरिसकेका उनी भेरी बबई आयोजनाको काम पनि गरिरहेका छन् । 

‘अन्त पनि धेरै साइटहरु छन्, राम्रो काम गरेर जतिसक्दो छिटो सरकारलाई हस्तान्तरण गर्न पाए हुन्थ्यो भन्ने छ’ रमण भन्छन्, ‘पुससम्म सबै काम सकिन्छ ।’

को हुन् रमण महतो ?

बलराम महतोले २०४७ सालमा रमण कन्स्ट्रक्सन स्थापना गरेका थिए । रमण कन्ट्रक्सनमा अहिले पनि बुबा बलरामसँगै भाइ पवन पनि छन् । तर धरहरा निर्माणको कामको नेतृत्व भने रमणले पाए । फलस्वरुप ४० वर्षीया रमण महतोले धरहरासँगै जीआईईटीसी–रमन जेभीको नाम पनि चर्चित बनाए । 

१५ वर्ष अमेरिकामा अध्ययन गरेर फर्किएका रमण डिजाइनर इन्जिनियर हुन् । अमेरिकामा डिजाइन कम्पनीसमेत चलाएर बसेका उनी आफ्नो बुबाको पेशालाई साथ दिन नेपाल फर्किएका थिए । नेपालमा आएपछि कम्पनीको मुख्य जिम्मेवारी आफैंले सम्हालेर अहिले कम्पनीको कार्यकारी भूमीका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved