आर्किटेक्ट इन्जिनियर विष्णु पन्थीः जसले धरहराको डिजाइन गरे

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 27, 2021 | 04:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पको ६ वर्षपछि सुन्धारा परिसरमा धरहरा ठिङ्ग उभिँदा नेपालीको छाती हर्षले चौडा भएको छ । बैशाख ११ गते शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्दा आम नेपाली जति हर्षित थिए त्योभन्दा दोब्बर हर्षित थिए वरिष्ठ आर्किटेक्ट इन्जिनियर विष्णु पन्थी ।

आफूले आर्किटेक डिजाइन गरेको धरहराको उद्घाटन हुँदाको क्षणमा उनलाई मूलुकका लागि बल्ल ठूलो योगदान गर्न पाएँ भन्ने लागेको छ । उनले मातृभूमीलाई अहिलेसम्मकै ठूलो योगदान गर्न पाएको महशुस गरे र गर्वले छाती चौडा भयो । गर्वानुभूतिले आँखामा हर्षका आशु देखिए । 

पूरानै स्वरुप र पूरानै पुरातात्विक सम्पदाको झल्को दिने गरी आधुनिक धरहरा बनाउनु आफैँमा चुनौती थियो । तर, पन्थीले धरहरा ढलेकै दिन यो मानसिकता बनाएका थिए । भूकम्पले धरहरा ढलेको खबर पाएपछि सिनियर आर्किटेक्ट इन्जिनियर भएको नाताले उनी धरहरा परिसर पुगे । नेपालीको धरोहरका रुपमा उभिएको धरहरा ढलेको देखेपछि उनको मन भक्कानियो । सोही दिन उनले धरहराको आर्किटेक डिजाइन गर्ने मनस्थिती बनाएका थिए ।

‘पुरातत्वको छनौटमा परेपछि हर्षको सीमा रहेन’

डिजाइनको जिम्मा पाए डिजाइन गर्छु भन्ने एकल मनस्थिती बनाएर बसिरहेका बेला पुरातत्व विभागले २०७२ सालमै धरहरा पुनःनिर्माणको लागि डिजाइनर खोज्यो । डिजाइन गर्ने कन्सल्टेन्ट आह्वान गरेको खबर सुनेपछि विष्णु पन्थीले पनि आवेदन दिए ।

आफ्नै कम्पनीमार्फत लगानी गरेर भएपनि धरहरा बनाउँछु भनेर कस्सिएका रमण महतोले धरहरा निर्माणको ठेक्का पाए जस्तै धरहरा ढलेकै दिन डिजाइन गर्न पाएपनि हुन्थ्यो भनेर सोचिरहेका पन्थीकै सिएजीई कम्पनी छनौटमा पर्यो ।

पुरातत्वले सिएजीई र एमआरबी जोइन्ट भेन्चर कन्सल्टेन्सीका रूपमा छनौट गर्यो । सिएजीईका प्रमुख पन्थीकै नेतृत्वमा धरहराको आर्किटेक डिजाइन तयार भयो । इन्फ्रास्टक्चर डिजाइन भने एमआरबीले गर्यो ।

‘मलाई अब आयने सयौँ वर्ष पछिको पुस्ताले सम्झनालायक केही काम गरौं भन्ने पहिल्यैबाट थियो’ पन्थी भन्छन्, ‘मेरो सौभाग्य नै मान्नुपर्छ, मैले त्यो जिम्मेवारी पाएँ र कुशलतापूर्वक निर्वाह गरेँ । यतिबेला मेरो खुशीको सीमा छैन ।’

प्रधानमन्त्रीले गरेको त्यो विश्वास

रुसको बेलारुसस्थित बेलारुस पोलिटेक्निक इन्स्टिच्युटबाट १९९६ मा आर्किटेक इन्जिनियरिङमा मास्टर्स इन डिग्री हासिल गरी स्वेदश फर्किएका विष्णु पन्थी पुरातत्वबाट जिम्मा पाएपछि फिल्ड भिजिटमा निस्किए । टक्सार विभाग, गोश्वारा हुलाकलगायत सरकारी कार्यालयलाई हटाएर ठूलो क्षेत्रफल खुला गर्न सकिएको खण्डमा भविष्यमा सुन्धारा र धरहरा क्षेत्र निकै लोभलाग्दो ठाउँका रुपमा विकास गर्न सकिने उनले सम्भावना देखे । 

सिंहदरबारको इन्ट्री प्वाइन्टको सेन्ट्रल लाइन र शहीद गेटको सेन्ट्रल लाइनसँग धरहराको सेन्ट्रल लाइन एउटैमा पर्ने गरी त्यतिबेला डिजाइन गरिएकोमा उनलाई अचम्म लाग्यो । प्रविधि नभएको त्यो जमानामा पनि यति वैज्ञानिक डिजाइन गरेको थाहा पाएपछि उनले भीमसेन थापालाई धरहराको डिजाइन दिने त्यतिबेलाका प्राविधिकलाई दूरदर्शीता ठाने ।

यो पनिः
रमण महतोः जसले दिनरात नभनी ठड्याए धरहरा

त्यसपछि सुन्धारालाई सेन्ट्रल प्वाइन्ट मानेर धरहराको सेन्ट्रल प्वाइन्ट र सुन्धाराको धारा मात्रैको सेन्ट्रल प्वाइन्टलाई आधार मानेर राइट एङ्गल बनाउँदा राम्रो हुने कुरा उनले पुरातत्वमा राखे । पुरातत्व र तत्कालिन पर्यटनमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रिजेन्टेसन गर्नुपर्ने भनेपछि पन्थीले प्रिजेन्टेसन तयार पारे ।

लिफ्टको अवधारणा पनि त्यही बनेको हो । तत्कालीन पर्यटन सचिव प्रेमकुमार राईले पन्थीको प्रपोजल कार्यान्वयन गर्नुपर्ने भन्दै सबैतिर जोड गरे ।

आर्किटेक डिजाइनर पन्थी, त्यतिबेलाका पर्यटनमन्त्री आनन्द पोखरेल र पुरातत्वका महानिर्देशक प्रधानमन्त्रीलाई भेट्न गए । पन्थीले २ घण्टा लामो प्रिजेन्टेसन देखाए । मन्त्री पोखरेलले तुरुन्त काम सुरु गर्नुपर्ने भनेर सबैतिर भने । त्यसलगत्तै रातको ११ बजे बोलाएर प्रधानमन्त्रीले ‘गो अहेड’ भनेपछि पन्थी नेतृत्वको कन्सल्टेन्सीले डिजाइन तयार पार्यो ।

नयाँ होइन, पूरानै चीज स्थापित गर्यौ

पुरानो धरहरा मुगल आर्किटेकमा बनेको थियो । प्रधानमन्त्री ओलीले पन्थी नेतृत्वको टिमलाई पूरानै जस्तो धरहरा बन्नुपर्ने निर्देशन दिएका थिए । 

प्रधानमन्त्रीको निर्देशन अनुसार नै पन्थी नेतृत्वको टिमले मुगल थ्योरीमा आधारित रहेरै भूकम्पप्रतिरोधी धरहरा बन्ने गरी डिजाइन गर्ने र आवश्यकता अनुसार आफ्नो सिर्जनशीलता गाएर केही संरचना थप्यो । 

सुन्धारालाई संरक्षण गर्ने, सुन्धारासँग धरहराको सम्बन्ध जोड्ने, ऐतिहासिक सम्पदा भएकोले संग्रहालयका रुपमा विकास गर्ने जस्ता कुरालाई सम्बोधन गर्दै डिजाइन गरिएको र धरहरा नयाँ भएपनि पूरानै शैलीको पूरानै चीजका रुपमा स्थापित गर्न पाउँदा बहुत खुशी लागेको पन्थी बताउँछन् ।

धरहरा परिसरमा अन्य संरचना बन्न बाँकी छ । पहिलाको तुलनामा अहिलेको धरहरामा फरक भनेको पहिला इँटाले बनेको थियो, अहिले कंक्रिटले बनेको छ । अरु खासै फरक छैन ।

संग्रहालय बनाइएको छ । १८ औं तलामा धरहराबारे डकुमेन्ट्रीसहितको ‘मिनी थिएटर’ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved