अर्थ सचिव मधुलाई एसएलसीसम्म पढाएका शिक्षक भन्छन्, ‘उदण्ड कहिल्यै गरेन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 12:11:30 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाका मधु मरासिनी गत वर्ष सचिवमा बढुवा भएका थिए । उनी सचिव बनेको एक वर्षमै अर्थ मन्त्रालयको सचिव बनेका छन् । साउन १२ गतेको मन्त्रिपरिषद बैठकले मरासिनीलाई महालेखा नियन्त्रकबाट अर्थ सचिवमा सरुवा गर्यो ।

स्याङ्गजाको बिरुवा गाउँपालिका–६ का मधु मरासिनी अर्थ सचिव भएपछि उनको गाउँमा खुशीयाली छाएको छ । जनप्रीय माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा सकेका मरासिनी सानैदेखि मेहनती थिए भन्छन् उनलाई पढाएका शिक्षकसमेत रहेका उनका अंकल रामप्रसाद मरासिनी ।

‘महेन्द्र प्रा.वि. मा त्यतिबेला ५ सम्म पढाई हुन्थ्यो, ३ मा पढ्दै दाजुले जनप्रीयमा हालिदिनु भो’ रामप्रसाद मरासिनी भन्छन्, ‘जनप्रीय मा.वि. बाट एसएलसी पास गर्ने पहिलो ब्याच नै मधुहरुको हो ।’

सुब्बा तोयानाथका ३ भाई छोरामध्ये मधु जेठा हुन् । 

‘३ भाईमध्ये मधु जेठो हो, माइलो शम्भू र कान्छो नारायण हुन्’ रामप्रसाद मरासिनी थप्छन्, ‘स्कुल पुग्न १ घण्टा पनि बढी समय लाग्थ्यो, फर्किदा उकालो पर्थ्यो । स्कुलमा मध्यम स्तरकै पढाई थियो मधुको, अनुसाशित चाहिँ अति अनुशासित, उदण्ड भन्ने कुरा कहिल्यै जानेनन् ।’

मधु मरासिनी अर्थ सचिव बनेको खबर पाउनासाथ रामप्रसादले आफ्ना दाजु एवम् मधुका बुबा तोयानाथलाई बधाई दिए । मधुलाई पनि बधाई दिँदै कार्यकाल सफलताको कामना गरे ।

‘मधुलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेँ, दाजु भाउजुलाई पनि बधाई भनेँ’ उनले भने, ‘यो ज्याग्दी खोलाकै गौरवको कुरा हो, मैले पढाएको र घरकै सदस्य पनि भएकाले हामीलाई त झन अझ बढी खुशी लाग्ने नै भयो ।’ 

‘मध्यम वर्गीय परिवारमा जन्मेर, पढलेख गरेर नेपाल सरकारको सचिव हुनु भनेको धेरैका लागि प्रेरणाको कुरा पनि हो’ रामप्रसाद थप्छन्, ‘हाम्रो लागि त गौरवकै कुरा भयो । मधुको कार्यकाल शुभ रहोस् ।’

२४ वर्ष अध्यापन गराएका रामप्रसाद मरासिनीले २०५४ सालमै जागिर छोडे । त्यतिबेलाको स्थानीय निर्वाचनमा गा.वि.स. अध्यक्षको उम्मेद्वार बन्न उनले शिक्षण पेशा छोडेका थिए । गा.वि.स. अध्यक्षमा चुनाव जितेर ५ वर्ष अर्थात् २०५९ सालसम्म निर्वाचित जनप्रतिनिधिका रुपमा काम गरेका रामप्रसाद अहिले खेती किसानीमा छन् । 

साउन १२ को मन्त्रिपरिषद बैठकबाट अर्थ सचिव बनेका मधुका भाई शम्भु प्रसाद मरासिनी पनि उप–सचिव छन् । हाल उनी गृह मन्त्रालयमा कार्यरत छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved