पतिले नासोको रूपमा छोडेको व्यवसायलाई थप सशक्त बनाउँदै सीता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 10:10:29 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वभाविक हो, कसैको जीवनसाथीले अकालमै छोडेर परलोक भएमा कति कष्ट हुन्छ । झन् हाम्रो परिवेशमा पितृसत्तात्मक राज्यका कारण श्रीमानले छोडेर गएमा श्रीमतीलाई हेय दृष्टिले हेर्ने, आदर सत्कार नगर्ने, हौसला प्रदान नगर्ने आदिजस्ता कुसँस्कार आज पनि विद्यमान छन्। नयाँ कम्पनी स्थापना गरी लिडर भई कार्य गरिरहेका श्रीमानले अचानक छोडेर जाँदा श्रीमतीले लिडर भई व्यवसाय संचालन गर्नु हाम्रो समाजमा कतिपय अवस्थामा त असम्भवप्रायः जस्तै देखिन्छ । आज हामीले प्रस्तुत गर्न खोजेको कथा यस्तै किसिमको समस्यालाई सामना गरेर पनि सफल उद्यमी भई १२० भन्दा बढी परिवारको गुजाराको माध्यम बन्ने ५६ वर्षीय सीता ढुङ्गेलको हो ।

वि.सं. २०७४ मा सीताका श्रीमान दिलिप कुमार ढुंगेलले नेपालगन्जमा अन्य ४ जना साथीहरू ऋषि अग्रवाल, गणेश कार्की, सुबोध खनाल र प्रभु 

आचार्य सँग मिलेर 'GI' वायर तथा ग्याबियन बक्सको व्यवसाय सुरू गरे । उक्त व्यवसायले नदी कटान रोक्नका लागि तार, जालीहरू बुन्ने र तोकेबमोजिमका जस्तासुकै साइजका जाली बनाउने कार्य गर्दछ । हामीले नदीको छेउमा विशाल ढुंगाहरूलाई बडो गतिलो किसिमले बाँधेर राखेको देखेका हुन्छौं, यो व्यवसायले यस्तै जाली बुन्ने कार्य गर्दछ।

मुख्यतया दिलिपको सो व्यवसायमा लामो समयको अनुभव भएकोले सबै संचालकहरू नेपालगन्ज वासी नहुँदा नहुँदै पनि काठमाडौंवासी दिलिपले पश्चिम नेपालमा 'GI' वायरको व्यापक माग बुझेर आफ्नी श्रीमती सीतालाई लिई नेपालगन्जमा व्यवसाय सुरूवात गरे ।

करिब रू ५ करोडको पूँजीबाट सुरुवात भएको उक्त व्यवसायमा सीताले सुरूमा धेरै व्यवसाय नबुझे पनि श्रीमानको साथ भने दिन छोडिनन् । निर्माण व्यवसाय भएको हुनाले नेपालमा चेक बाउन्स हुने, बैंक जमानत पेश गर्दा पनि बैंकले समयमै भुक्तानी नदिने, मालसामानको अभाव आदिजस्ता जटिल समस्यालाई पनि मीठो मुस्कान र अपार धैर्यताले सामना गर्ने दिलिपका कारण सीता काठमाडौंको शीतलता छोडेर नेपालगन्जको उग्र गर्मीलाई पनि सहेकी थिइन् । यो जोडीले अन्य संचालक साथीहरूको सहायता सहित सुरूवात देखि नै 'GI' वायर तथा ग्याबियन बक्सको गुणस्तरीय विक्री गर्न सफल भयो ।

२०७५ सालको विजया दशमीको टीका सपरिवार हाँसीखुसी भइ लगाएका दिलिप अकस्मात् भोलिपल्टदेखि डेंगू रोगका कारण सिकिस्त भइ केही दिनमै परलोक भए । परिवारमा ठूलो वज्रपात सामना गरेकी सीताका छोराहरू समेत विदेशमा भएका कारण तुरुन्तै सबै त्यागेर आफ्नी आमालाई व्यवसायमा तत्काल सहायता गर्न चाहँदा चाहँदै पनि असमर्थ भए ।

अन्य बेला पनि छिटै भावुक भइहाल्ने सीताले पतिको अकालमै देहान्तलाई आत्मसात गर्छिन् र उनले नासोको रूपमा छोडेर गएका व्यवसाय सम्हाल्छिन् भनेर पक्कै पनि कसैले सोचेका थिएनन् । अन्य सहयात्री संचालकहरू पनि अन्योलमा भएका बेला परिवारको ढाडस, संचालकहरूको साथ र बागेश्वरीसँग कारोबार गर्ने उद्योगपतिको सहयोग तथा प्रेरणा पाएर सीताले अपत्यारिलो ढंगले व्यवसाय सम्हाल्ने अठोट गरिन् ।

चित्र १:बागेश्वरी वायर एण्ड ग्याबियन्स सुरूवात हुँदाका महिला कर्मचारी

आज सीताले आफ्ना पतिबाट सिकेका व्यावसायिक सीप र कौशल तथा सहकर्मी संचालकहरूको साथले बागेश्वरी वायर एण्ड ग्याबिन्स प्रा.लि. लाई नयाँ उचाइमा पुर्याउन सफल भएकी छिन् । स्थापनाको ४ वर्ष मात्र पूरा हुँदै गर्दा आज यस उद्योगले आ.व. २०७७/७८ मा कोभिड १९ को महामारीका बावजुद व्यवसायमा गुणस्तरीय वृद्धि गरेको छ ।

तस्विरहरूः बागेश्वरी वायर एण्ड ग्याबियन्स प्रालिको मालसामान तथा कार्यरत केही कर्मचारी


आज सीताका अमेरिकामा बसोबास गरिरहेका कान्छा छोरा विजयराज पनि आमालाई साथ दिन नेपाल फर्किएका छन् । पिक सिजनमा १२० परिवार र अन्य बेलामा ६० परिवारलाई प्रत्यक्ष रोजीरोटी दिन यो उद्योग सफल भएको छ । सीताले विशाल खम्बा बनी व्यवसायलाई ढल्नबाट मात्र बचाएकी छैनन्, उद्योगको पूर्ण संचालनको ३ वर्षमै व्यवसाय तिन गुणाले विस्तार गर्न सफल भएकी छिन् । मधुर वाणी, लगनशीलता र जुझारूपनकी धनी सीताले उद्योगमा काम गर्ने अनेकन महिला तथा पुरूष श्रमिकहरूलाई आमा सरह ममता दिएकी छिन्, दिदी सरह हौसला प्रदान गरेकी छिन् । कोभिड १९ को महामारीमा होस्, तीज, दशैं, तिहार, छठ पर्व लगायत अन्य पर्वमा समेत आफ्ना कर्मचारीहरूलाई केही न केही प्रोत्साहन स्वरूप रकम वा अन्य सहायता गरी व्यापारी नभई कुशल र नैतिकवान् उद्यमी बनेकी छिन्।

बागेश्वरी वायर एण्ड ग्याबियन्स सुरूवात हुँदाका पुरूष कर्मचारी


उनको यो लगनशीलता, व्यावसायिकता र जुझारूपन थप मुखरित हुँदै जाओस्, सीताको यो संघर्षशील कथाले सबैलाई कर्मठ, मेहेनती र लक्ष्यशील बन्ने प्रेरणा देओस्, हाम्रो शुभकामना ।

   प्रस्तुतिः कृष्ण निरौला 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved