८० वर्षीय केपीको व्यवसायिक जोश, जसलाई आफू ‘बुढो’ भएको अनुभूति नै छैन

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 24, 2021 | 12:27:38 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८, मातातीर्थमा रिसोर्ट मोडलमा चलेको एउटा भव्य पर्यटक स्तरीय होटल छ । उक्त ‘खुशी खुशी होटल’ का सञ्चालक हुन् कृष्णप्रसाद (केपी) उप्रेती । उमेरले उनी ८० पुगेर ८१ वर्ष लागे । तर, उनको जोश र जाँगर कुनै २०/२२ वर्षे ठिटोको भन्दा कम छैन ।

कोरियन नागरिकको होटल खरिद

‘खुशी खुशी होटल’ कोरियन नागरिकले दर्ता गराएका हुन् । २०५८ सालमा कोरियन नागरिक जि.एम. च्वेले दर्ता गराएको उक्त होटल सो क्षेत्रको विकासका लागि बरदान बन्यो । अहिले त्यहाँ अगाडी ४ तिर जाने सडकको गौडाको नाम नै ‘खुशी चोक’ भएको छ ।

कोरियन नागरिकले होटल बिक्रि गर्ने भएपछि त्यतिबेला ७५ वर्ष पुगेका कृष्णप्रसाद उप्रेती एक्लै होटल खरिद गर्न कम्मर कसेर लागे । ७५ वर्षको पाको उमेरमा पनि उनलाई आन्तरिक पर्यटन प्रवद्र्धनका लागि होटलमार्फत योगदान गर्न मन लाग्यो ।

जसको फलस्वरुप २०७३ सालमा होटलको शत् प्रतिशत सेयर खरिद गरे । ४ करोड ५० लाख रुपैयाँमा होटलको सबै स्वामित्व आफ्नो नाममा ल्याएपछि २०७३ असार १ गतेबाट कृष्णप्रसाद उप्रेती खुशी खुशी होटलको एक्ला सञ्चालक बने ।

४ कोठा थप

खुशी खुशी होटलमा सुरुमा १८ वटा कोठा थिए । उप्रेतीले खरिद गरेपछि ४ वटा कोठा थपेर कोठा संख्या २२ पुर्याए । 

अरु पनि ‘डेकुरेशन चेन्ज’ गरे । वरीपरीको बगैँचालाई पनि अझ पनि सुन्दरता दिलाए । एसी राखे । केही ‘इक्वीपमेन्ट’हरु पनि थप गरे । 

अहिले ८० पुगेर ८१ लागेका कृष्णप्रसाद उप्रेती आफैँ बिहानदेखि बेलुकासम्म होटलमा खटिरहेका हुन्छन् । आएका पाहुनाहरुको स्वागत सत्कार, उनीहरुले चाहेको सेवा पाए नपाएको सोधखोज, त्यहाँ आएका बालबच्चासँग हाँसीमजाक, कर्मचारीहरुको रेखदेख, सबैसँगको मिठो बोली उनको दैनिकी हो ।

यो पनिः
काठमाडौँ नजिकैको ‘खुशी खुशी होटल’: स्वीमीङदेखि हाइकिङसम्मको ‘फुल डोज रिफ्रेशमेन्ट’

पृष्ठभूमी

१९९७ सालमा नुवाकोटमा जन्मिएका कृष्णप्रसाद उप्रेती २०१९ सालमा स–परिवार चितवन झरे । चितवनमै रहँदा उनको विवाह भयो । डोरमाया उप्रेतीसँग २०२५ सालमा लगनगाँठो कसेका कृष्णप्रसाद २०३६ सालमा काठमाडौँ आए ।

श्रीमतिसँगै काठमाडौँ आएका उनले सुरुमा ‘राइस मिल’ चलाए । १० वर्ष राइस मिल चलाएका कृष्णप्रसादले त्यसपछि गलैँचा उद्योग स्थापना गरे । कलंकी र कालिमाटीमा कारखाना राखेर ६ वर्ष गलैँचा उद्योग चलाएका उनले २०५५ सालदेखि २०५७ सालसम्म २ वर्ष पश्मिना उद्योग पनि चलाए । 

पारिवारिक अवस्था

कृष्णप्रसाद–डोरमाया दम्पतीका २ भाइ छोरा छन् । जेठो ज्ञानेन्द्रप्रसाद उप्रेती नेपालगञ्जमा उद्योग नै चलाएर बसेका छन् । कान्छो छोरा १८ वर्ष अमेरिकामा बसेर फर्किएका छन् । 

उनीहरुका छोरी थिएनन् । त्यसैले एक जनालाई छोरी बनाएर राखे । जसको बयान कृष्णप्रसाद उप्रेती शब्दमा गर्न सक्दैनन् । किनभने, अहिले उनलाई बुढसकालको होटल व्यवसायका सारथी उनै छोरीका छोरा छन् । अर्थात् कृष्णप्रसादका नाती । अर्का एक जना भरपर्दा खम्बा उनका बहिनीका छोरा अर्थात् भान्जा छन् ।

‘म अझै पनि आफ्नो लागि आफैँ उद्यम गर्न सक्छु, कसैले पाल्न पर्दैन’ टड्कारो स्वरमा आत्मविश्वासका साथ उनी भन्छन्, ‘बुढा बुढी साथमै छँदै छौँ, व्यवसायमा यो गर्ने, यो नगर्ने भन्ने नाती र भान्जा छँदै छन्, यीनीहरु नै मेरा छोरा, छोरी, आफन्त सबै हुन्, यीनीहरु हुन्जेल मलाई दुःख हुँदैन ।’

खुशी खुशी होटल काठमाडौँको कलंकीबाट ७ र दरबारमार्गबाट जम्मा १० किलोमिटरको दूरीमा पर्छ । स्वीमीङ पुल सहितको स्तरीय यो होटलमा दैनिक १५० जना सम्मले सेवा लिँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved