३ लाखबाट व्यवसाय सुरु गरेका ध्रुब, जसले ढालिदिए नाडामा ‘कर्पोरेट सिण्डिकेट’को सम्राज्य

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 10, 2021 | 01:46:23 PM मा प्रकाशित

laxmi  sunrise bank

केही महिना यता ध्रुब थापाको नाम धेरै चर्चित बन्यो । यद्यपी, उनी सामाजिक काममार्फत देशका विभिन्न ठाउँमा बेला मौकामा पुगिरहन्थे । यसपाली भने नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको चुनावी अभियानले उनलाई देशैभरी पुर्यायो ।

उम्मेदवारी घोषणा गरेका थापालाई सुरुमा प्रतिस्पर्धी समूहले दाबेदार नै स्वीकार गरेन । तर, थापा देशभरी पुगे । आफ्ना एजेण्डा सुनाए । सदस्यहरु पनि मोफसलबाटै नेतृत्व आउनुपर्छ भन्नेमा एकमत देखिए । जसले थापाको आत्मविश्वास दिनप्रतिदिन बढ्दै गयो । 

अन्ततः चौधरी समूहको परिवारको व्यक्ति करण चौधरीलाई ६६ मतको अन्तरले हराउँदै पोखराका व्यवसायी थापा नाडाको अध्यक्षमा निर्वाचित भए ।

कसरी व्यवसायमा आए ध्रुब थापा ?

हिमालयन अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा मोफसलमा पनि एकदमै ‘ग्राउण्ड लेभल’बाट उदाएका सफल व्यवसायी हुन् । ३ लाख रुपैयाँ लगानी गरेर मोटरसाइकलको रिकन्डिसन सेन्टरबाट व्यवसायिक यात्रा प्रारम्भ गरेका थापा अहिले १५ वटा कम्पनी चलाउँछन् ।

हिमालयन अर्गनाइजेसनमार्फत ४ अर्ब एकल लगानी गरिसकेका थापा घरजग्गा, हहस्पिटालिटी (होटल), अटोमोबाइल्स र इञ्जिनियरिङ गरि १५ कम्पनीमा आवद्ध छन् ।

एसएलसी उत्तीर्ण गरेर प्रविणता तह पढ्दै गर्दा १७ वर्षको कलिलो उमेरमै व्यवसाय सुरु गरेका थापाको मुहारमा विगतको स्मरण गर्दा भावुक र प्रशन्नता दुबै देख्न सकिन्छ । पोखरामा पूराना मोटरसाइकलको आधिकारिक वा औपचारिक किनबेच हुने ठाउँ थिएन । त्यसैले उनले यही व्यवसाय सुरु गरे । 

यो व्यवसायमा प्रवेश गर्न एउटा घटनाले उनलाई सकारात्मक उर्जा दियो । एक दिन आफ्ना दाजुले आफूले चढिरहेको मोटरसाइकल बिक्रि गरे । आफूले चलाईरहेको मोटरसाइकल बिक्रि गर्दा किनेको भन्दा बढी पैसा दाजुले पाएको देखे । त्यसपछि आर्थिक रुपमा फाइदा हुने सोचेर उनले रिकन्डिसन व्यवसायमा हात हाले । 

सुरुमा किनेर बेच्ने मात्रै गर्थे । तर, २०४८ सालमा भने थापाले ‘गण्डकी रिकन्डिसन सेन्टर’ नै खोलेर औपचारिक रुपमा व्यवसायमा होमिए । २ वटा पूराना मोटरसाइकल किनेर राखेर रिकन्डिसन सेन्टर सुरु गरे । 

‘नेपालमा आधिकारिक रुपमा दर्ता भएर सुरु भएको पहिलो रिकन्डिसन सेन्टर नै त्यही हो’ थापा स्मरण गर्छन्, ‘होन्डा एक्सएल र होन्डा सिजी गरेर २ वटा मोटरसाइकल किने, ३ लाख लगानी गरेँ । लगानी बुबा र दाईले जोहो गरिदिनु भयो ।’

आर्थिक रुपमा मध्यम वर्गकै परिवार हो थापाको । बुबा भारतीय सेनामा जागिरे भएकाले आर्थिक रुपमा खासै अभाव भने झेल्नु परेको थिएन । बुबा भारतबाट फर्किएपछि किराना पसल चलाएका थिए । बुबालाई सघाएको अनुभवले पनि ध्रुब थापालाई व्यवसायिक यात्रामा सफल बनाउन काम गर्यो ।

पढ्दै व्यवसाय गर्दै

कानुनका विद्यार्थीसमेत रहेका थापा पढ्दै व्यवसाय गर्न थाले । बिहानको कक्षा भएकाले दिउँसो उनी व्यवसायमा खट्न थाले । सबै कक्षा लिन भ्याउँदैन थिए पनि ।

बिहान १० बजे नै रिकन्डिसन सेन्टरमा पुगेर आफैँ सरसफाइमा खटिन्थे । मार्केटिङदेखि बिक्रि र हरहिसाब सम्मको काम एक्लै गर्थे । 

डिलरदेखि आधिकारिक वितरकसम्म

आम्दानी बढ्दै पनि गयो । २०५१ सालमा सुजुकी मोटरसाइकलले पोखरामा डिलर खोल्ने भयो । सुजुकीले ध्रुबलाई नै सम्झियो । भेटेर प्रस्ताव पनि राख्यो । उनले पनि प्रस्ताव स्वीकार गरे र सुजुकी मोटरसाइकलको पोखराका लागि आधिकारिक डिलर बने ।

२०५१ कै अन्तिम तिर उनले नेपाली गाडी हुलास मुस्ताङ र जापानी गाडी डाइहाट्सुको डिलर लिए । 

७ वर्ष चलाएपछि रिकन्डिसन सेन्टर भने छाडे । आफैँले औपचारिक रुपमा सुरु गरेको क्षेत्रमा आएका अन्य कम्पनीसँग उनले प्रतिस्पर्धा गर्न चाहेनन् । नयाँ केही गर्ने सोचका साथ उनले रिकन्डिसन सेन्टर छोडेका थिए ।

त्यसपछि थापाले करिब डेढ करोडको लगानीमा घरजग्गा कारोबार थाले । राम्रो आम्दानी गरे । तर, घरजग्गा अन्तर्गत नै हाउजिङ डेभलपिङको काममा भने उनी सफल भएनन् ।

रिकन्डिसन सेन्टर छोडेपनि उनले अटोमोबाइल्स व्यवसाय भने छोडेका थिएनन् । घरजग्गा व्यवसायमार्फत भएको अर्थोपार्जनले थापालाई अटोमोबाइल्स व्यवसाय विस्तार गर्न सहज भयो । फलस्वरुप, सन् २०१४ बाट उनले गाडी आयात नै गर्न थाले । उनी आयाम इन्टरकन्टिनेन्टलमार्फत् फोर्स मोटर्सको नेपालका लागि आधिकारिक वितरक बने ।

कहाँ कहाँ छ लगानी ?

थापाले अटोमोबाइल्स बाहेक ट्राभल टुरिजम तथा हस्पिटालिटी क्षेत्र र बैंकमा पनि लगानी गरेका छन् । एनएमबी र मेगा बैंकमा उनको लगानी छ । 

हस्पिटालिटीतर्फ पोखराको लेकसाइडमा थापाले होटल चलाएका थिए । अहिले त्यो बेचेर ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा’ खोलेका छन् ।

थापाले काठमाडौँमा कलेज पनि खोलेका थिए । तर, कलेज डुब्यो । त्यसपछि अटोमोबाइल्सकै सर्भिसका लागि अटो इञ्जिनियरिङतर्फ मोडिए । 

र, नाडाको अध्यक्षमा निर्वाचित

‘ग्राउण्ड’बाट उठेका हुनाले उनले साना व्यवसायीका समस्या सहजै बुझ्छन् । नाडाको चुनावी अभियानमा पनि उनको नारा नै साना व्यवसायीमुखि बढी सुनिए ।

तुलनात्मक रुपमा सबैभन्दा बढी समस्या साना व्यवसायीले नै झेलेपनि त्यो नाडाले नसुनेको गुनासो उनको थियो । आफू अध्यक्ष बनेर साना व्यवसायीका समस्या समाधानमा केन्द्रित हुने उनको अभिलाषा ती साना व्यवसायीले नै पूरा गराईदिए । 

ठूला व्यवसायी तथा गाडीका बिक्रेताहरु र साना मझौला व्यवसायबीच रहेको विभेदको खाडल पुर्ने बचनवद्धताका साथ चुनावी मैदानमा होमिएका थापा अन्ततः विजयी भएका छन् । यसले पारिवारिक विरासतका आधारमा सार्वजनिक संस्थाहरुमा ‘कर्पोरेट सिण्डिकेट’ सदस्यहरुले रुचाउँदैनन् भन्ने सन्देश दिएको छ ।

यद्यपी, चुनावी दौडका बेला गरेका प्रतिवद्धता थापाले के कति पूरा गर्छन्, त्यो भने हेर्न बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved