२०७४ सालको स्थानीय तहको निर्वाचनमार्फत रामेछापको गोकुलगंगा गाउँपालिकामा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेर जितेकी राधिका श्रेष्ठ (नेवार)लाई त्यतिबेला जनप्रतिनधि भएर गर्नुपर्ने कामको फेहरिस्त जानकारी कमै मात्र थियो ।
तर, जनप्रतिनिधि हुनुभन्दा अगाडि पनि सामाजिक काममा क्रियाशील थिईन् उनी । चुचुरे १ को ‘हामी सबैको महिला बचत सहकारी संस्था’मा १० वर्ष काम गरेको हुनाले पनि उनलाई अरु ‘फ्रेस फेस’लाई जस्तो काम गर्न खासै असहज भएन ।
यी र यस्तै अनुभवका आधारमा काम गर्दै, सिक्दै पालिकालाई अब्बल र जिल्लाकै नमूना बनाउन अध्यक्ष खड्ग सुनुवार र उपाध्यक्ष राधिका श्रेष्ठ निरन्तर खटिरहे ।
पालिकाले जलविद्युत, जडीबुटी, पर्यटन र व्यवसायिक कृषिलाई पालिका समृद्धिको मूल आधारका रुपमा अघि सार्यो । त्यसैलाई टेकेर पालिकाले योजनाहरु बनाउँदै गयो । उपाध्यक्षको हैसियतमा राधिका श्रेष्ठ न्यायिक समितिको अध्यक्ष बनिन् । सामान्य विवादहरुलाई उनले त्यहीँ समितिमार्फत मिलाउने काम गरिन् ।
महिलाको क्षमता विकास, नेतृत्व विकास लगायतका तालिमहरु पालिकामा सञ्चालन भईरहन्छन् । यसका लागि अगुवाई गर्ने काम राधिकाले नै गर्दै आएकी छिन् । तालिम लिनुपर्छ, क्षमता विकास गर्नुपर्छ, बोल्नुपर्छ, विकासका आयोजनामा काम भए नभएको वडाबासीले नै अनुगमन गर्नुपर्छ भन्ने काममा राधिका जिल्ला भरीकै गाउँपालिका उपाध्यक्ष मध्येमा अग्रणी स्थानमा छिन् ।
गाउँको माटो, भूगोल, आफ्नो ठाउँका मानिसहरुको अपेक्षा बुझेको जनप्रतिनिधि भएपछि ‘रिजल्ट’ देखिन्छ भन्ने उदाहरण बनेको पालिका हो, गोकुलगंगा । उपाध्यक्ष श्रेष्ठ र अध्यक्ष खड्ग सुनुवार एउटै पार्टीबाट निर्वाचित भएको हुनाले पनि उनीहरुले काम गर्न सके । योजना बनाउँदा होस् वा कानुन तर्जुमा गर्दा होस्, उपाध्यक्ष श्रेष्ठ अध्यक्ष सुनुवारका लागि भरपर्दो सारथी बनिन् ।
पालिका भित्रका वडाहरुमा सञ्चालित विकासका आयोजनाहरुको निरन्तर अनुगमनमा उनको क्रियाशीलता आज पनि उस्तै छ । गाउँपालिकामा सबै वडाको कार्यालय भवन बनिसकेका छन् । पालिकाको भवन पनि बनेको छ ।
पालिका भरीमा १० वटा सार्वजनिक शौचालय निर्माण गरिएका छन् । धार्मिक संरचना निर्माण र संरक्षण अन्तर्गत ६ वटा गुम्बा बनाईएका छन् । करिब ४५ वटा भवन संरचना तयार पारिएको छ । ताबे डाँडामा सुन्दर मन्दिर बनेको छ ।
गोकुलगंगा गाउँपालिकामा करिब ५ सय किलोमिटर सडकको ट्रयाक खोलिएको छ । ३ सय किलोमिटर सडक सोलिङ गरिएको छ । केही सडक कालोपत्रे पनि सकिएको छ ।
जटापोखरी, पाँचपोखरी लगायत उच्च पहाडी क्षेत्रमा अवस्थित पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक यसै वर्ष सक्ने लक्ष्यका साथ काम भईरहेको छ । उपाध्यक्ष श्रेष्ठ यसको अनुगमनमा पुग्छिन् बेला बेलामा ।
यी हुन् पालिकाले गरेका प्रगति
गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर १८ वटा पकेट क्षेत्र बनाएको छ । आलु र किबी खेतीमा उल्लेख्य प्रगति गरेको गाउँपालिकाले कुखुरा र बाख्रा पालन, माछा पालन तथा अरु फलफुल खेतीमा पनि लगानी अनुसारको प्रतिफल हासिल गरिरहेको छ ।
चालु आर्थिक वर्षको बजेटमा पालिकाले चप्लेटी ढुंगाको बिक्रिदेखि मार्सी धानको खेतीसम्मका योजना समेटेर सोही अनुसार काम गरिरहेको छ ।
पालिकाले एक घर एक धारा कार्यक्रम लागू गरेको छ । यो कार्यक्रम अनुसार हालसम्म ३ हजार बढी धाराको निर्माण सकिएको छ ।
आरसीसी र मेशिनरी गरी १५ वटा सिँचाईका आयोजना निर्माणाधिन छन् । नामाडीको साउने बेशीमा बागमती प्रदेश सरकारको सहयोगमा सिँचाई आयोजना सम्पन्न भएको छ ।
गोकुलगंगा गाउँपालिकाले कक्षा ५ सम्मका लागि स्थानीय पाठ्यक्रम बनाएर लागू गरेको छ । पालिका भित्रका सबै माध्यमिक विद्यालयमा आईटी शिक्षा अनिवार्य गरिएको छ ।
यो पालिकामा साना र मझौला गरी कुल २५ उद्योग सञ्चालनमा छन् । मिनिरल वाटर उद्योग साबुन उद्योग, प्रेस, छाला जुत्ता उद्योग, चप्पल उद्योग लगायतका उद्योगहरु पालिकामा सञ्चालित छन् ।
स्वास्थ्यतर्फ गोकुलगंगा गाउँपालिकास्थित गोकुलगंगा अस्पताल र भक्तपुरको नेपाल कोरिया मैत्री अस्पतालबीच क्षमता विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाकै बढी बजेट पाउने पालिका गोकुलगंगा गाउँपालिका बनेको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोकुलगंगा गाउँपालिकाले २ करोड ६ लाख ३२ हजार रुपैयाँ ससर्त अनुदान पाएको छ ।
पालिकाले ६० वटाभन्दा बढी कानुन बनाएको छ ।
अबको बाटो के ?
संघियता कार्यान्वयन जिम्मेवारीसहित पहिलो स्थानीय जनप्रतिनिधि अर्थात् पालिका उपाध्यक्षको जिम्मेवारी पाएकोमा राधिका हर्षित छिन् । कोरोना कालमा स्थानीय जनप्रतिनिधि थिएनन् भने अवस्था भयावह हुन सक्थ्यो । महिला जनप्रतिनिधि काममा निस्कनु आफैँमा ठूलो कुरा थियो ।
यो ५ वर्षको अवधिमा राधिकाले धेरै कुरा सिकेकी छिन् । कानुन निर्माणको प्रक्रिया, स्थानीय जनप्रतिनिधिसँग नागरिकका अपेक्षा, आफ्नो भूगोलको उत्पादन क्षमता लगायतका दर्जनौ विषयमा यथेष्ट अनुभव संगालेकी राधिकालाई आफूले सिकेको र जानेको ज्ञान पुनः एकपटक जनप्रतिनिधि भएरै लागू गरी सिङ्गो पालिकालाई समृद्ध बनाउन मन छ ।
अध्यक्षको राजनीतिक भेटघाट बाक्लो हुन्छ । यो सबैतिरको कुरा हो । उपाध्यक्ष मूलतः स्थानीयसँग घुलमिल हुने पद रहेछ भन्ने कुरा उपाध्यक्षले पाएको अधिकारबाट राधिकाले थप बुझेकी छिन् । न्यायिक समितिमा मुद्दा र विवाद मिलाउँदा होस् वा पालिका भित्रका अपांग र असक्तहरुको कुरा सुन्दा होस्, उपाध्यक्ष भनेको नागरिकसँग प्रत्यक्ष घुलमिल हुन पाईने अवसर रहेछ भन्ने राधिकाले अनुभव गरेकी छिन् ।
यो घुलमिल, नागरिकसँगको निकटता, कार्य क्षमता, अनुभव आदिले उनले पालिका अध्यक्ष नै चलाउन सक्ने हैसियत र क्षमता आफूमा निर्माण गरिसकेकी छिन् । यद्यपी, उनले पुनः एकपटक उपाध्यक्ष भएरै नागरिकसँग प्रत्यक्ष घुलमिल भएर काम गर्ने चाहना व्यक्त गरेकी छिन् ।