नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत

रासस

रासस

Feb 13, 2025 | 03:55:49 PM मा प्रकाशित

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक रु। ४० हजार बचत गर्दै आएका छन्। उनले ‘कान्तिपुर नर्सरी’ सञ्चालन गरी व्यावसायिक उत्पादन गरिरहेका हुन्। विश्वकर्माले काठमाडौँको बिरुवासम्बन्धी काम गर्ने बायोप्लान्टिक प्राइभेट लिमिटेड कम्पनीमा लामो समय रोजगार जागिर गरी बिरुवासम्बन्धी कामको अनुभव लिएका थिए। अनुभवपछि उनले गाउँ फर्किएर नर्सरी व्यवसाय शुरु गरेका हुन्।

विश्वकर्माले वार्षिक रु। एक लाख ५० हजार तिर्ने गरी चार कट्ठा जमिन भाडामा लिई व्यवसाय गर्दै आएका छन्। विगत १३ वर्षदेखि नर्सरी व्यवसायसम्बन्धी कामको अनुभव लिएकामा पछिल्लो पाँच वर्षदेखि धनगढीको बोराडाँडीमा रु. ५० लाख लगानी व्यवसाय सञ्चालन गरेको उनले बताए। मासिक रु. ४० हजार बचत हुँदै आएको विश्वकर्माले जानकारी दिए।

६ जना परिवारको सम्पूर्ण खर्च, छोराछोरीको शिक्षामा खर्च पनि यही आम्दानीबाट हुने गरेको उहाँले बताउनुभयो। तीनजनालाई रोजगारी समेत दिएको बताउँदै उनले तलबबापत मासिक रु। ३६ हजार खर्च लाग्ने उल्लेख गरे। ‘अन्यभन्दा यो व्यवसायमा जोखिम बढी पनि छ। कहिलेकाहीँ प्रतिकूल वातावरणका कारण विरुवामा विभिन्न संक्रमण देखापरी बिरुवा बिग्रने, कुहिने, रोग लाग्ने पनि गर्छ, जसले गर्दा घाटा पनि व्यवहोर्नुपर्ने हुन्छ’, उनले भने, ‘व्यवसायमा कहिले घाटा, कहिले नाफा हुन्छ। धैर्यका साथ मेहनत गर्न छाड्नु हुँदैन। यही व्यवसायले सन्तुष्ट दिएको छ, अहिलेसम्म पैसाका लागि कसैसँग माग्नु परेको छैन।’

नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातिका फलफूल, सो–प्यान्टसहित विभिन्न बिरुवा आयात गरेर बिक्री गर्दै आएको विश्वकर्माले जानकारी दिए। केही बिरुवा भने नर्सरीमा आफैँ उत्पादन गरेर पनि बिक्री गर्ने गरेको उनको भनाइ छ। नर्सरीमा हाल विभिन्न जातका फलफूल, सो–प्यान्टलगायत बिरुवा उपलब्ध छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved