सूचना महामार्ग : चार वर्षमा २२ प्रतिशत काम

रासस

रासस

Jan 01, 2021 | 02:47:47 PM मा प्रकाशित

laxmi  sunrise bank

देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजना सुस्त बनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने लक्ष्यका साथ शुरुआत गरेको योजना १८ महिनाको अवधिमा २२ प्रतिशत मात्रै प्रगति भएको छ । 

प्राधिकरणले मध्यपहाडी लोकमार्गको छ हजार ३३१ किलोमिटर क्षेत्रमा फाइबर बिछ्याउने योजनालाई तीन खण्डमा विभाजन गरेर तीन छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिएको थियो । तीन खण्डमध्येमा एक खण्डमा विस्तारको काम भए पनि दुई खण्डको काम शुरु हुनै सकेको छैन । पहिलो खण्डअन्तर्गत प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशमा फाइबर बिछ्याउने जिम्मा पाएको नेपाल टेलिकमले हालसम्म २२ दशमलव ५३ प्रतिशत निर्माण सम्पन्न गरेको छ । उक्त तथ्याङ्क गत मङ्सिर मसान्तसम्मको हो । 

प्राधिकरणले पहिलो खण्डअन्तर्गत नेपाल टेलिकमसँग पूर्वी नेपालदेखि गोरखासम्म फाइबर बिछ्याउन विसं २०७३ असोज १२ गते दुई वर्षको सम्झौता गरेको थियो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालय टेलिकमले ०७६ जेठ पहिलो सातादेखि अप्टिकल फाइबर बिछ्याउने काम शुरु गरेको बताउँछन् । उनका अनुसार पहिलो खण्डअन्तर्गतका तीन प्रदेशमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउन, सामान खरिदलगायतका काम गर्न पाँच वटा कम्पनीलाई जिम्मा दिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको मङ्सिर मसान्तसम्मको तथ्याङ्कअनुसार तीन प्रदेशमा ४९१ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न गरेको छ । सम्झौताअनुसार तीन प्रदेशमा दुई हजार १७९ किलोमिटर फाइबर बिछ्याउनुपर्दछ ।

दुई खण्डको काम शुरु भएन

तीन खण्डका विभाजन गरिएको विस्तारअन्तर्गत दुई वटा खण्डमा काम शुरु हुनै सकेको छैन । खण्ड दुईअन्तर्गत रहेको गण्डकी र प्रदेश ५ अन्तर्गतका २१ जिल्लामा दुई हजार १६० किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कामको शुरु नै हुन सकेको छैन । यसैगरी खण्ड तीन अन्तरगत  कर्णाली र सुदूपश्चिम प्रदेशमा रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म एक हजार १९२ किलोमिटर फाइबर बिछ्याउने काम सुरु हुन सकेको छैन् । 

अप्टिकल फाइबर बिछ्याउन दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषको रु नौ अर्ब ८९ करोड १७ लाखमा बजेट छुट्टाइएको थियो । 

प्राधिकरणले शुरु गरेको उक्त परियोजनाअन्तर्गत मध्यपहाडी लोकमार्गलाई आधार मानेर त्यसको समानान्तररूपमा जिल्ला सदरमुकाम र हरेक नगरपालिकासम्म फाइबर नेटवर्क विस्तार गर्नुपर्ने हुन्छ । 

परियोजनाअन्तर्गत मध्यपहाडी लोकमार्गमा ९८ कोर, जिल्ला सदरमुकाम र मध्यपहाडी लोकमार्गलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सडकमा ४८ कोर र नगरपालिकासम्म २४ कोरको अप्टिकल फाइबर प्रयोग हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved