प्राधिकरणले पोलको भाडा बढायो, इन्टरनेट शुल्क र टिभी हेराई महँगो हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 03:17:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले आफ्नो अप्टिकल फाइबर र पोल प्रयोग गरेबापतको भाडा दोब्बर बढाएको छ । यसअघि ६६ केभी र सो भन्दा माथिको भोल्टेज स्तरको प्रशारण लाइनमा जडित फाइबरको आधारमा १६ हजार ४ सय रुपैँया शुल्क रहेकोमा उक्त शुल्क बढाएर ३२ हजार बनाईएको छ । 

प्राधिकरणको भाडा बढाएसगैँ इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको शुल्क बढ्ने बताएका छन् । पोलको शुल्कमा दोब्बरले बृद्धि भएपछि इन्टरनेटको शुल्क बढ्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले बताएका हुन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधिर पराजुली प्राधिकरणको पोल प्रयोग गर्दा लाग्ने शुल्क दोब्बरले बढ्दा सञ्चालन खर्चमा धेरै बृद्धि हुने बताउँछन् । 

पहिलाको तुलनामा दोब्बर सञ्चालन खर्च लाग्ने भएपछि स्वत: इन्टरनेटको शुल्कमा बृद्धि हुने उनी बताउँछन् । शुल्क बढ्ने भएपनि तत्काल यति नै बृद्धि हुन्छ भन्ने अवस्था नभएको उनको भनाई छ । 

‘अहिले ईन्टरनेटको कुल शुल्कमा ३ देखि ५ प्रतिशत फाइबरको मूल्य जोडिएको हुन्छ । अब भाडा नै बढाएपछी ईन्टरनेटको मूल्य स्वभाविक रुपमा नै बढ्छ,’ उनले भने ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत कात्तिक महिनाको तथ्यांक अनुसार ३७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीले नेपालमा अप्टिकल फाइबर प्रयोग गरेका छन् भने अप्टिकल फाइबरमार्फतको इन्टरनेट सेवा प्रयोगकता देशभर १० लाख ३१ हजार बढी रहेका छन् । सेवा प्रदायकहरुले मूल्य बढाएको खण्डमा लाखौ सेवाग्राही मारमा पर्ने भएका छन् ।

इन्टरनेट मात्र होइन प्राधिकरणको निर्णयले टिभी हेर्दा तिर्नु पर्ने शुल्क समेत बढ्ने देखिन्छ । केबल टेलिभिजनहरुले प्राधिकरणको पोल प्रयोग गरी केबल सेवा विस्तार गर्ने गरेका छन्। प्राधिकरणले पोलको मूल्य बढाएपछि त्यसको असर टिभी हेर्ने शुल्कमा पनि पर्ने भएको हो । 

गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापन रहित (क्लिन फिड) लागु गरेपछि केवल सेवा प्रदायकहरुले २५ प्रतिशत शुल्क बढाउने तयारी गरेका थिए । प्राधिकरणले पोलको शुल्क बढाएसगैँ थप शुल्क लिने बहाना बनेको छ । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिनफिड दिँदा खर्च बढ्ने हुँदा टेलिभिजन हेरेबापतको शुल्क स्वतरुपमा बढ्ने पराजुली बताउँछन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved