
नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाईने भएको छ । बालबालिका र युवाका लागि इन्टरनेट सुरक्षित बनाउने उद्धेश्यसहित आगामी माघ २७ गते सुरक्षित इन्टरनेट दिवस २०२१ मनाइन लागिएको हो ।
नेपालमा र १७० भन्दाबढी देशहरूमा उक्त दिवस मनाईने आयोजक चाइल्डसेफनेटले जनाएको छ । हरेक वर्ष मनाइने उक्त दिवसले बालबालिका र युवाहरूका लागि अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन र बालबालिकासँग काम गरिरहेका संस्थाहरूबीच सहकार्य र समन्वय प्रवद्र्धन गर्न सहयोग पुग्ने जनाईएको छ ।
बालबालिका र युवाका लागि अनलाइन दुव्र्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन तथा साझेदार संस्थाहरुसंग सहकार्य र समन्वय गर्दै आएको छ ।
चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीका अनुसार नेपालमा सुरक्षित इन्टरनेट दिवस २०२१ मनाउनका लागि राष्ट्रिय समन्वय समिति गठन गरिएको छ । उक्त समितिको सचिवालयको भूमिका चाइल्डसेफनेटले निर्वाह गर्नेछ भने समितिका सदस्यहरुमा नेपाल प्रहरीको साइबर ब्यूरो, युनिसेफ, प्लान इन्टरनेशनल नेपाल, युवालय, सिविन नेपाल, साथी, एक्शनएड नेपाल लगायतका संघसंस्थालाई समावेश गरिएको छ ।
माघ २७ गतेका दिन सुरक्षित इन्टरनेट दिवसको मुख्य कार्यक्रम आयोजना गरिनेछ र साइबर सुरक्षाबारे अन्य कार्यक्रमहरु वर्षभरि सञ्चालन गरिनेछन् ।