नयाँ कम्पनी खोल्दै नेपाल टेलिकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 02:03:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले अर्को कम्पनी खोल्ने भएको छ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमले सरकारी कार्यालयमा हुने आईटी सम्बन्धि समस्या समाधानका लागि छुट्टै कम्पनी खडा गर्न लागेको हो । 

सरकारी कार्यालयमा अनलाइन बिलिङ सिस्टम, मोबाइल एप्स, वेबसाइट, एचआर मनिटरिङ सफ्टवेयर लगायतका प्रणालीहरु बनाउने र केही समस्या आएको खण्डमा मर्मत पनि गर्न सक्ने गरी टेलिकमले आईटी सोलुसन कम्पनी खोल्न लागेको हो । यसका लागि टेलिकमले बजेटमै कार्यक्रम समावेश गरेको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार हाल ‘आउटसोर्स’ बाट हुँदै आएका काम आफ्नै कम्पनीबाट गराउने र खर्च कटौती गराउन यो विकल्प प्रयोग गर्न लागिएको हो । 

सबै सरकारी कार्यालयले सञ्चालन गर्न सक्ने

सरकारी कार्यालयमा चाहिने हार्डवेयर तथा सफ्टवेयर निर्माण तथा सञ्चालनका काम गर्ने कम्पनी टेलिकमले मात्रै सञ्चालन गर्ने छैन । यसको प्रयोग सबै सरकारी कम्पनी र कार्यालयहरुले पनि गर्न सक्नेछन् । 

एउटा सरकारी कार्यालयले बनाएको सिस्टम अर्को सरकारी कार्यालयले किन्नुपर्दा टेन्डर गर्नु नपर्ने र छिटो खरिद प्रक्रिया सकिने भएकाले काम पनि चाँडो हुने टेलिकमको विश्वास छ । 

स्थानीय तहहरुले आईटी सम्बन्धी सहयोग खोजिरहेकाले उनीहरुलाई सर्पोट गर्न पनि यो कम्पनी ल्याउन लागिएको अधिकारीको भनाई छ । 

लगानी कसको ? 

यो सिस्टमका लागि टेलिकमले खडा गर्न लागेको कम्पनीमा लगानी गर्न नेपाल विद्युत प्राधिकरण इच्छुक देखिएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक पनि लगानी गर्ने सोचमा रहेको टेलिकमको भनाई छ । 

प्राधिकरणका सबै सिस्टमलाई सेन्ट्रलाइज गर्न र सरकारी बैंकिङ क्षेत्रका सफ्टवेयर तथा हार्डवेयरका काम पनि यही कम्पनीमार्फत हुने भएकाले टेलिकम र वाणिज्य बैंक लगानी गर्न तयार देखिएका हुन् । 

पूँजी कति ?

टेलिकमले खोल्न लागेको कम्पनीको पूँजी १ अर्ब रहने बताईएको छ । तर, ५० करोड पूँजी राखेर सुरु गर्ने विषयमा पनि छलफल चलिरहेको छ । यसकारण पूँजी ५० करोड हुने वा १ अर्ब हुने भन्ने टुंगो लागिसकेको छैन । 

पुल्चोक इन्जिनियरिङ क्याम्पससँग संस्थागत रुपमै सहकार्य गर्ने योजनामा टेलिकम छ ।

नयाँ कम्पनी खोल्ने विषय टेलिकमको सञ्चालक समितिले पारित गरिसकेको छ । प्रवन्धपत्र, नियमावली लगायतका आवश्यक कागजात तयार गर्न सञ्चालक समितिले अर्को एउटा कमिटी बनाएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ भित्रै कम्पनी सुरु गर्ने दाबी टेलिकमले गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved