डिजिटल नेपालको परिकल्पना गरेर विद्यार्थीहरुले जिते १ लाख बढी पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2021 | 03:31:45 PM मा प्रकाशित

laxmi  sunrise bank

लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरुको घोषणा गरिएको छ । शुक्रबार सोल्टी होटलमा आयोजना भएको कार्यक्रममा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार सेन्टजेभियर्स कलेज, माइतिघरमा १२ कक्षामा अध्ययनरत नेहा गिरीले हात पारेकी छन् ।

उनको ‘मेरो डिजिटल नपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगिताको सर्वोकृष्ट भयो । उनले १ लाख रुपैयाँ हात पारिन् । 

दोस्रो हुनेमा बगंगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलेरिया–६ बर्दियामा कक्षा १० मा अध्ययनरत प्रश्ना सुवेदी र रत्न राज्य माध्यमकि विद्यालय, बानेश्वरबाट यसवर्ष एसइई दिएका ऋदम भेटवाल छन् ।

प्रश्नाले ‘पूरा होस् मेरो सपनाः डिजिटल नेपालको’ शीर्षकमा कविता लेखेकी थिइन भने ऋदमले ‘मेरो सपनाको डिजिटल नेपाल’ निबन्ध लेखेकी थिइन । उनीहरुले जनही ५०÷५० हजार नगद पुरस्कार पाएका छन् ।

तेस्रो हुने चार जनामा मनकामना माध्यमिक विद्यालय बिर्तामोड, झापाबाट एसइई दिएका असिम डंगोल, त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक, ललितपुरबाट एसईई दिएका अनिश श्रेष्ठ, बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा १० मा अध्ययनरत उद्धव ठाकुर र बृहस्पति विद्यासदन, नक्साल काठमाडौंमा कक्षा ७ मा अध्ययनरत विशेष्ता चौधरी रहेका छन् ।

असिमले ‘डिजिटल नेपालः एक अमुक सपना’ शीर्षकको कविता लेखेका थिए भने अनिषले ‘सुन्दर शान्त विशाल, मेरो परिकल्पनाको डिजिटल नेपाल’ शीर्षकको भिडियो प्रिजेन्टेशन बनाएका थिए । उद्धवले ‘वे टु डिजिटल नेपाल’ शीर्षकको निबन्ध र विशेषताले ‘माइ डिजिटल नेपाल’ थिममा आर्ट गरेकी थिइन ।

तेर्सो हुने सबै जनाले जनही नगद २५÷२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा विद्यार्थीको एक समूहले ‘डिजिटल र समृद्ध नेपाल’ शीर्षकको फ्रेमवर्क तयार गरेका थिए । इभ्यालुएसन प्यानलले यस फ्रेमवर्कलाई विशेष सम्मान गर्ने निर्णय स्वरुप काठमाडौं मोडल सेकेन्डरी स्कुल, बागबजारका प्रशन्नकुमार रेग्मी, शशांक न्यौपाने, आर्या प्रसाँई र अमिम सिंहलाई ‘स्पेसल मेन्सन पुरस्कार’बाट सम्मानित गरिएको छ । उनीहरुले ५१ हजार १५१ रुपैयाँ राशीको विशेष पुरस्कार हात पारेका छन् । 

यसबाहेक विजेताले स्पोन्सर कम्पनीहरूबाट आकर्षक अफरहरु पनि प्राप्त गर्ने छन् । डिसहोमले सम्पुर्ण विजेतालाई एक वर्षको इन्टरनेट र शिर्ष प्रायोजक माइ सेकेण्ड टिचरले विशेष गिफ्ट प्रदान गरेको छ ।

नेपालमै पहिलो पटक सूचना तथा सञ्चार प्रविधिका विषयमा नयाँ पुस्तालाई जागरुक गर्ने उद्देश्यले ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकमा गत असार १ गतेदेखि असार ३१ गतेसम्म उक्त प्रतियोगितामा भाग लिन आह्वान गरिएको थियो ।

प्रतियोगितामा निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो प्रिजेन्टेशन मार्फत ३५० बढीको सोच तथा परिकल्पना प्राप्त भएका थिए । 

प्रतियोगितमा सहभागी ३५० बढी परिकल्पनाबाट उत्कृष्ट छनोट गर्न ११ जनाको मूल्यांकन समिति बनाइएको थियो । मूल्यांकन समितिका सदस्यहरुले प्रत्येक रचनालाई मूल्यांकन गरेर सर्ट लिष्ट गरेका थिए । मूल्यांकन समितिको विभिन्न चरणको छनौट प्रकृयाबाट उत्कृष्ट ८ रचनालाई पुरस्कार वितरण गरिएको हो ।  

विजेतालाई राष्ट्रिय सभाका सदस्य तथा दिगो विकास तथा शुशासन समितिका सभापति तारादेवी भट्ट, प्रमुख सुचना आयुक्त महेन्द«मान गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुष्ठ अर्याल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव शुरेश आचार्य, पुर्वमन्त्री गणेश शाहलगायतले पुरस्कार प्रदान गरेका थिए । 

विभिन्न ५ चरणको छनौट पश्चात सर्वोत्कृष्टहरु छानिएको समितिका संयोजक बिरेन्द्र मिश्रले बताए । 

सूचना तथा सञ्चार विज्ञ तथा यस प्रतियोगितका सल्लाहकार मनोहर भट्टराईले नेपालको डिजिटल फ्रेमवर्क बनाउन धेरै मेहनत र समय लागेको बताउँदै यसको कार्यान्वयन पनि क्रमशः हुने बताए । 

मेरो डिजिटल नेपाल मेरो परिकल्पना कार्यक्रमले बन्द कोठाभित्र रहेका हजारौ विद्यार्थीहरुलाई भोलीको समृद्ध नेपाल बनाउनको लागि सोच्न, अध्ययन गर्न र सरकार तथा सरोकारवालालाई जगाउन सहयोग गरेको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । 

लिभिङ विथ आइसिटीले आयोजना गरेको यस कार्यक्रममा माई सेकेण्ड टिचर मुख्य प्रायोजकको रूपमा रहेको छ भने पावर्ड बाई पार्टनरमा जेनेस सोलुसन, बैकिङ पार्टनरमा एनआइसी एसिया बैंक, पेमेन्ट पार्टनर प्रभु पे, नलेज पार्टनर एसीसीए, प्रविधि पार्टनरमा फ्युज मेशिन्स र इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट रहेका छन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, क्यान महासंघ, प्याब्सन, वुमन इन आइटी, नेपाली पात्रो, आइसिटी समाचार लगायतको सहयोग रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved