बिटकोईनको लागि डरलाग्दो धन्दा : सर्वसाधारण मात्र होइन ईसेवा र खल्तीका एजेण्ट पनि ठगीए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 28, 2021 | 10:11:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा प्रविधिको बढ्दो प्रयोगसंगै अपराधका तरिका र स्वरूप पनि बदलिएका छन्। जुन कुरा नेपालमा पछिल्लो समय घटेको एउटा अनौठो घटनाले पुष्टि गरेको छ। 

बिश्वभर आफ्नो छुट्टै पहिचान र अस्तित्व बनाएको मुद्राको आधुनिक डिजिटल स्वरूप हो, क्रिप्टो करेंसी। सामान तथा सेवा खरिद गर्ने बदलिएको शैली हो, अनलाइन पसल। र एकै क्लिकमा भुक्तानी प्राप्त गर्न, तिर्न र पठाउन सकिने नेपालकै पहिलो पेमेन्ट गेटवे हो, इसेवा।  

यी तिनैको प्रयोगले एउटा मान्छेको आफ्नो दैनिकी सहज र सरल मात्र बनाएको छैन, यसको दुरुपयोगले पछिल्लो समय आफुलाई आधुनिक समाजको एउटा हिस्सा ठान्ने धेरै नेपालीलाई लुट्ने काम पनि भएको छ। 

अनलाइन पसल र इसेवा तथा खल्ती सेन्टरको प्रयोग गरि नेपालमा कारोबार गर्नलाई गैरकानुनी घोषणा गरिएको बिटकोईन लगायतका क्रिप्टो करेंसीको ब्यापार गरिरहेका छन्। 

बजार मुल्य भन्दा सस्तोमा सामान खरिद गर्न पाउने आशमा बिना कुनै शंका गरि पैसा हाल्नेहरु र  क्यास ब्याक र कमिसन मार्फत कमाईने आशमा रहेका इसेवा र खल्तीका एजेन्टहरु यी अपराधिक गतिबिधि गर्नेहरुको शिकार बनिरहेका छन्।   

कसरी हुन्छ ठगि ?

फेसबुक लगायतका सोसियल मिडियाबाट अनलाइन पसलमा बजार मुल्य भन्दा अत्यन्त सस्तो मुल्यमा आइफोन वा त्यस्तै सामाग्री देखाइन्छ।   बजार मुल्य भन्दा सस्तो पाउने लोभमा फस्ने व्यक्तिहरु यिनीहरुका ग्राहक बन्न पुग्छन्।

यसरी बनेका ग्राहकलाई अफरमा राखिएको सामानको केहि प्रतिशत पैसा अग्रिम भुक्तानी गर्न लगाइन्छ। तर पैसा भुक्तानी गर्नलाई अनलाइन पसलवालाले आफ्नो बैंक खाता दिनुको साट्टो बिटकोईन वा त्यस्तै प्रकारका क्रिप्टो करेंसी बिक्रि गर्नेले दिएको इसेवा तथा खल्ती एकाउन्ट दिने गर्दछन्। 

अनलाइन पसलेले क्रिप्टो करेंसी किने बापतको पैसा भुक्तानी गर्नलाई क्रिप्टो ब्यापारीले दिएको इसेवा वा खल्तीको खाता सामानको अग्रिम पैसा तिर्ने ग्राहकलाई दिन्छन। र चोरमा चण्डाल भनेझैँ क्रिप्टो ब्यापारीले पनि आफु समातिने डरले आफ्नो वास्तविक खाता नदिएर नजिकको इसेवा वा खल्तीको एजेन्टको खाता उपलब्ध गराउँछ।  

ग्राहकले अनलाइन पसलेको इसेवा वा खल्ती खातामा पैसा पठाएको ठानेपनि उसले वास्तवमा क्रिप्टो ब्यापारीले दिएको इसेवा वा खल्तीका एजेन्टको खातामा पैसा हालेको हुन्छ। 

यसरी नक्कली अनलाइन पसलले सस्तोमा सामान देखाएर आफले ग्राहक बनाएकाबाट क्रिप्टो ब्यापारीलाई भुक्तानी दिएका छन् भने क्रिप्टो ब्यापारीले पनि इसेवा वा खल्तीको एजेन्टको खाता प्रयोग गरेर आफ्नो भुक्तानी लिईरहेका छन्। इसेवा वा खल्तीका एजेन्टहरुले आफ्नो खाता अर्थात मोबाइल नम्बर तथा इमेल आइडी बाहिर बोर्डमा नै राख्ने भएकाले क्रिप्टो ब्यापारीले सहजै यिनीहरुको खाता प्रयोग गरिरहेका छन्।    

आफुले अग्रिम तिर्दा पनि समान नपाउने अवस्थामा पुगेका ग्राहकले उजुरी गर्दा अनलाइन पसले समातिनुको साट्टो क्रिप्टो ब्यापारीले पैसा पाउनलाई प्रयोग गरेका इसेवा वा खल्तीको एजेन्टहरु अप्ठ्यारोमा पर्ने गरेका छन्। 

क्रिप्टो किन्नेले नक्कली अनलाइन पसल खडा गरेर ग्राहक बनाएर यी ग्राहकबाट भुक्तानी गराएका छन् भने क्रिप्टो ब्यापारीले पनि नजिकको इसेवा वा खल्तीका एजेन्टको खाता प्रयोग गरि आफुले क्रिप्टो बिक्रि गरे बापतको भुक्तानी लिईरहेका छन्। 

नेपाल राष्ट्र बैंकले बिटकोइन लगायतका क्रिप्टो करेंसीको कारोबार गैरकानुनी घोषणा गरेकाले आफुहरुले यस प्रकारका उजुरीमा कुनै काम कारबाही गर्न नसकेको प्रहरी अपराध महाशाखाका एक अधिकारीको भनाई छ। 

अनलाइन पसलबाट सस्तोमा सामान किन्न पाउने आशमा पैसा तिर्नेले घुमाउरो बाटोबाट बिटकोइन किनिरहेको देखिने र उसले गरेको उजुरीको आधारमा खोज्दै जाँदा भुक्तानी गर्ने इसेवा वा खल्तीका एजेन्ट समातिने अवस्था रहेकाले यसमा राष्ट्र बैंकले थप नीतिगत व्यवस्था गर्दिनुपर्ने ती अधिकारिको भनाई छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved