विश्वकप फुटबलमा ३५ करोडको व्यापार गर्ने टेलिकमको लक्ष्य, शर्तसहित बोर्डले दियो स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 08:57:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले कतारमा हुने विश्वकप फुटबलमा ३५ करोडको व्यापार गर्ने लक्ष्य लिएको छ । यसका लागि टेलिकम सञ्चालक समितिले व्यवस्थापनलाई स्वीकृति समेत दिएको छ ।

नेपालमा विश्वकप देखाउन 'एक्सक्लुसिभ राइट' पाएको संस्थासँग मिलेर काम गर्न बढीमा २४ करोडसम्म लगानी गर्ने र यसबाट ३५ करोडको व्यापार गर्ने व्यवस्थापनको प्रस्तावलाई स्वीकृति दिएको टेलिकमको सञ्चालक समितिले जनाएको छ ।

'सबै कानूनी प्रक्रिया पूरा गरेर अगाडि बढेको अवस्थामा एक्सक्लुसिभ राइट पाएको संस्थासँग मिलेर हाम्रा शर्तभित्र रहेर काम गर्न अधिकतम २४ करोडसम्म लगानी गर्नेबारे स्वीकृति दिएको हो,' टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बिजपाटीसँग भने ।

टेलिकमकै डाटा र टेलिकमकै सीमको प्रयोगबाट मात्रै कतारमा हुने विश्वकप नेपाली दर्शकले हेर्न पाउने शर्तसहित उक्त रकम बराबरको लगानीमा काम गर्न सञ्चालक समितिले व्यवस्थापनलाई स्वीकृति दिएको अर्यालको भनाइ छ । टेलिकमले प्रत्यक्ष प्रसार गर्न पाउने नपाउने वा ओटीटीमार्फत हेर्न पाइने नपाइने जस्ता प्राविधिक कुराहरु टेलिकम व्यवस्थापन समिति आफैंले मिलाउने भएकाले त्यो पाटोमा सञ्चालक समितिले कुनै हस्तक्षेप नगर्ने सचिव अर्यालको भनाइ छ ।

यता घाटाको व्यापार गर्न स्वीकृति दिइयो भनेर टेलिकमका कर्मचारीहरुले भने सञ्चालक समिति र व्यवस्थापनको विरोध गरेका छन् । दुई करोड पनि आम्दानी नहुने ठाउँमा २४ करोड लगानी गर्ने स्वीकृति दिएर टेलिकमलाई घाटाको व्यापार गर्न लगाइएको भन्दै नेपाल टेलिकमका कर्मचारी आन्दोलित भएका हुन् ।

नेपाल टेलिकमका टेलिभिजन ग्राहक १५ सय पनि नभएको अवस्थामा नेपाल टेलिकमको मोबाइलमार्फत फुटबल देखाउछौ भनेर सञ्चालक समितिले मिडिया हबलाई २४ करोड तिर्ने सम्झौता गर्नु सरासर घाटाको व्यापार भएको निष्कर्ष सहित आफू चारवटै कर्मचारी युनियन यसको विरोधमा रहेको आन्दोलित कर्मचारी युनियनका महासचिव मणि कुमार पोखरेलले बताए ।

तर बाहिर आएजस्तो गरि टेलिकम सञ्चालक समितिले यत्तिकै २४ करोडको लागतमा कतारमा हुने विश्वकप मोबाइल र ओटीटी प्लेटफर्ममार्फत देखाउन नखोजिएको टेलिकमका सञ्चालक समिति अध्यक्ष अर्यालको दाबी छ । डाटाको प्रयोग गरेर मोबाइलमार्फत वा सीमको प्रयोगमार्फत फुटबल हेर्नु पर्दा टेलिकमको डाटाको प्रयोग मात्रै नभई टेलिकमको सीम लिने ग्राहकको संख्यामा पनि वृद्धि आउने विश्वास टेलिकमको छ ।

नेपालमा विश्वकप हेर्नका लागि पनि पैसा तिर्नुपर्ने भयो भन्ने आरोपको खण्डन गर्दै अर्यालले फिफाले नेपाल मात्र नभई विश्वका अन्य देशहरुमा पनि फुटबल देखाउँदा त्यहाँको आधिकारिकता लिएको संस्थालाई निश्चित पैसा उठाउन अनुमति दिएको बताए । नेपालका बिभिन्न टेलिभिजन च्यानलमा आफ्ना कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको मिडिया हबले कतारमा हुने विश्वकपको प्रत्यक्ष प्रसार गर्ने सम्पूर्ण आधिकार खरिद गरेको छ ।

कुन च्यानलबाट प्रशारण गर्ने, कुन कम्पनीको सीम र डाटा प्रयोग गर्ने भन्ने कुराको टुङ्गो लागिनसकेको बताउदै मिडिया हबका अध्यक्ष सोम धितालले प्रत्यक्ष प्रसारको अधिकार नेपालको एउटा मात्र संस्थालाई स्वीकृति दिने स्पष्ट पारेका छन् ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved