एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ ।
यससँगै अब ग्राहकहरूले अनावश्यक रूपमा मोबाइलको ब्यालेन्स काटिने समस्या झेल्नु नपर्ने भएको छ । “सधैँ अन” नाम दिइएको यो योजनाको मुख्य औचित्य नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ुसधैँ अनु अर्थात अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले भने ।
नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुक सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको उनको भनाइ थियो ।
सधैँ अनमार्फत एनसेल ग्राहकहरूका ब्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिबद्ध रहेको भन्दै एनसेलले ग्राहकहरूका सुझावहरूलाई विशेष ध्यानमा राखेर डेटा प्याकहरूलाई सरल बनाउँदै पाँच दर्जन बढी त्यस्ता डेटा प्याकहरूलाई २० वटामा झारेको छ ।
यो योजनाको अझ ठूलो उद्देश्य भनेको नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको कम्पनीको भनाइ छ ।
“फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आइसकेको छ । हामी चाहन्छौं भारतपछि नेपाल व्यावसायिक रूपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस् । तर त्यसका लागि हामीले एउटा महत्त्वपूर्ण पहिलो कदम चाल्नुपर्छ, र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईंको डेटा सधैँ अन हुनुपर्छ”,कायुमोभले भने ।
सधैँ अनमा के छ ?
सधैँ अनअन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लानहरू सञ्चालनमा ल्याएको छ । यसमा ७ दिनको समय सीमा रहेको ९८ रुपैयाँबाट शुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको १ हजार ४९९ रुपैयाँ पर्नेसम्मको विभिन्न प्लानहरू छन् ।
हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ्ग छ । यी प्लानहरू ग्राहकलाई विद्यमान शुल्कभन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुने कम्पनीको भनाइ छ । यसका साथै सधैँ अन सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन्।
कुनै ग्राहकले ९९ रुपैयाँको बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् । यो ७ दिनको लागि मान्य रहनेछ ।
त्यस्तैगरी ४९९ रुपैयाँको बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् । यो २८ दिनको लागि मान्य रहनेछ ।
आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरू पनि ल्याएको छ ।
यस प्लान अन्तर्गत १ हजार ४९९ रुपैयाँको प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याक अन्तर्गतको सेवाहरु २८ दिनको लागि मान्य रहन्छ ।
ग्राहकले एष्ट्रिक्स१२३ह्यास डायल गरी सजिलै आफ्नो आवश्यकता अनुसार कुनै पनि सधैँ अन प्लान लिन सक्ने पनि कम्पनीले बताएको छ ।