नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा नियुक्त भएकी संगीता पहाडी अर्यालले पधार सम्हालेकी छन्। नेपाल सरकारको मन्त्रिपरिषदले अर्याललाई टेलिकमको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरेको हो।
यस अघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय निर्णयबमोजिम अर्यालले सोही टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिईन।
नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन्। अर्यालले २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी ०५१ फाल्गुण १० मा टेलिकमको सेवामा स्थायी नियुक्ति लिएकी थिइन्। अर्याल २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी हुन्।
पदभार ग्रहण गर्दै अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै, पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता व्यक्त गरिन।