बाह्रखरी मिडियाको आयोजनामा ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसम्वाद’ को आठौँ संस्करण यही चैत २३ गते काठमाडौंमा आयोजना गरिने भएको छ। बाह्रखरी मिडियाले आज पत्रकार सम्मेलन गरी गोकर्ण फरेस्ट रिसोर्टमा हुने गल्फ प्रतियोगिता र आर्थिक परिसंवादबारे जानकारी गराएको हो। व्यवसायिक तथा आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रतिस्पर्धा गराउँदै मुलुकको आर्थिक विकासका लागि वैचारिक बहसमा संलग्न गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले बताएका छन्।
गल्फ प्रतियोगितामा नेपालका कर्पोरेट गल्फरहरूका साथै भारत, अमेरिका, चीन, सिंगापुर र श्रीलंकाका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरू, काठमाडौं, पोखरा, धरान, चितवन, बुटवल, नेपालगञ्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश तथा सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहनेछ।
प्रतियोगितामा ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेताहरूले ट्रफी तथा प्रमाणपत्र पाउनेछन्। कुनै खेलाडीले तोकिएको होलमा एकै प्रहारमा लक्ष्य प्राप्त गरेमा ‘होल इन–वन’ पुरस्कारस्वरूप बीवाईडीको ‘एट्टो थ्री’ गाडी जित्न सक्नेछन्।
प्रतियोगिता १८ होलमा ‘स्टेबल फोर्ड फर्म्याट’मा खेलाइने आयोजकले जनाएको छ। कर्पोरेट गल्फ प्रतियोगिताको उद्घाटन बिहान ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ।
सोही दिन हुने ‘आर्थिक परिसम्वाद’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नेछन्। परिसम्वादमा नेपालको आर्थिक अवस्था, व्यापार क्षेत्रमा देखिएका अवरोध, प्रविधि क्षेत्रका अवसर र चुनौती तथा दोस्रो चरणको आर्थिक सुधार आवश्यकताका विषयमा छलफल गरिनेछ।
बाह्रखरी मिडियाले आर्थिक परिसंवादको उद्देश्य व्यवसायिक र आर्थिक क्षेत्रका नेताहरूबीच छलफलमार्फत दीर्घकालीन सुधारको आधार तयार पार्नु रहेको जनाएको छ।