एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ ले नेपाली फुटबलमा रोमाञ्च थप्ने तयारी गरेको छ। यस पटक हिमालय टिभी आधिकारिक प्रसारण साझेदारका रूपमा रहने भएको छ। एक औपचारिक कार्यक्रममा हिमालय टिभीले यसबारे घोषणा गरेको हो।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलले राष्ट्रिय फुटबललाई नयाँ उचाइमा पुर्याउँदै आएको छ। यस पटकको प्रसारण साझेदारीले लिगलाई दर्शकहरूसँग अझ नजिक पुर्याउने अपेक्षा गरिएको छ। हिमालय टिभीले सम्पूर्ण लिग खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ, जसले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चक क्षणहरूको प्रत्यक्ष मजा लिन सक्ने वातावरण बनाउनेछ।
एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले हिमालय टिभीसँगको सहकार्यलाई ऐतिहासिक उपलब्धि बताउँदै भने, "हामी एनसेल एनएसएल सिजन ३ को लागि हिमालय टिभीसँग साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। वहाँहरूको उत्कृष्ट प्रसारण क्षमता र प्राविधिक दक्षताले लिगलाई अझ नजिकबाट अनुभव गर्न मद्दत गर्नेछ। यो सहकार्यले लिगको फ्यानबेस विस्तार गर्दै नेपाली फुटबलको भविष्यलाई बलियो बनाउनेछ।"
यस प्रसारण साझेदारीमार्फत हिमालय टिभीले नेपाली फुटबलका ऐतिहासिक क्षणहरूलाई लिपिबद्ध गर्दै लिगको महत्त्व बढाउनेछ। एनएसएल नेपाली फुटबलको व्यावसायिक भविष्यलाई सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन भइरहेको फ्रेन्चाइज-आधारित पहिलो फुटबल लिग हो।
लिगले नेपाली खेलाडीहरूलाई प्रतिस्पर्धात्मक माहोलमा उत्कृष्ट प्रदर्शन गर्ने अवसर प्रदान गर्दै खेलकुदको विकासलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ। एनएसएलका फ्यानहरू मैदानमै उपस्थित भएर खेलको मजा लिन सक्ने भएकाले यसले खेलाडी, टिम र दर्शकहरूबीचको सम्बन्ध अझ बलियो बनाउने अपेक्षा गरिएको छ।