
शाओमीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘शाओमी १४टी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रसिद्ध जर्मन क्यामेरा निर्माता कम्पनी लाइकासँगको सहकार्यमा तयार पारिएको यस स्मार्टफोनले मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पु¥याउने दाबी गरिएको छ ।
शाओमी १४टी मा ५० मेगापिक्सेलको लाइका सुम्मिलक्स मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र ५० मेगापिक्सेल टेलिफोटो क्यामेरा समावेश गरिएको छ । सोनीको आईएमएक्स ९०६ सेन्सरसँग सुसज्जित क्यामेरा प्रणालीले कम प्रकाशमा पनि स्पष्ट, जीवन्त र व्यावसायिक गुणस्तरका तस्बिर खिच्न सक्षम हुने कम्पनीको दाबी छ ।
फोनमा मिडियाटेकको डाइमेन्सिटी ८३००–अल्ट्रा चिपसेट प्रयोग गरिएको छ, जुन ४ न्यानोमिटर प्रविधिमा आधारित छ । यसले उच्च प्रदर्शन, न्यून ताप उत्सर्जन र ऊर्जा उपयोगमा सन्तुलन ल्याउने शाओमीको भनाइ छ ।
यो फोनमा ६.६७ इन्चको १४४ हर्ज रिफ्रेस रेट भएको एएमोएलईडी डिस्प्ले छ, जसको अधिकतम पिक ब्राइटनेस ४ हजार निट्स रहेको छ । १।५के रिजोल्युसनसहितको स्क्रिन, आईपी–६८ वाटर एन्ड डस्ट रेसिस्टेन्ट डिजाइन र सिनेम्याटिक फिचरहरूले यसलाई प्रिमियम वर्गमा राखिएको छ ।
शाओमी १४टी मा ५ हजार एमएएच ब्याट्री जडान गरिएको छ, जसलाई ६७ वाटको हाइपरचार्जिङ प्रविधिबाट ४५ मिनेटमा पूरै चार्ज गर्न सकिने बताइएको छ ।
फोनमा समावेश कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले तस्बिर पहिचान, पृष्ठभूमि अनुकूलन, र ब्याट्री उपयोगमा सुधार ल्याउने कार्य गर्नेछ ।
शाओमीका अनुसार १४टी केवल स्मार्टफोन नभई ‘फोटोग्राफी हेरिटेज’ बोकेको उपकरण हो । लाइकासँगको सहकार्यले यसलाई पारम्परिक फोटोग्राफीको आत्मा र अत्याधुनिक प्रविधिको संयोजन बनाएको कम्पनीको धारणा छ ।