बुधबार दिउँसो बालुवाटारस्थित सुबिसु इन्टरनेटको कार्यालयमा भएको आगलागीबाट करोडौंको क्षति भएको खुल्न आएको छ। आगलागि हुँदा केवल टिभी तथा इन्टरनेटको मुख्य सर्भर तथा स्याटेलाईट उपकरणहरु जलेर खरानी हुँदा करोडौंको क्षति भएको बताइएको छ।
अर्बभन्दा माथि पर्ने इन्टरनेटको मुख्य सर्भर र स्याटेलाईट उपकरण जल्दा ठुलो क्षति भएको पूर्वानुमान गरिएको सुबिसुले जनाएको छ। अहिले के कति क्षति भएको छ त्यसको विवरण आउँन बाँकी रहेकाले यति नै भन्न गाह्रो छ' सुविसुका एक कर्मचारीले बताए, 'यसबारे पत्रकार सम्मेलन नै गरेर जानकारी दिने तयारी छ'।
आगलागीबाट टेलिभिजन र इन्टरनेट सेवा पूर्ण रुपमा ठप्प भएपनि ग्राहकको सुविधालाई ध्यानमा राखेर कार्यालयमा भएका विभिन्न उपकरणमार्फत व्याकअप प्रयोग गरेर सेवा सूचारुको प्रयास भईरहेको सुबिसुले जनाएको छ।
सुविसुले शिखर इन्स्योरेन्समा बीमा गरेको छ। क्षतिको तथ्यांक तयार पश्चात मुचुल्का बनाएर बीमा दाबी गरिने सुबिसुले जनाएको छ । 'बीमा गर्दा लोकेसनवाइज गरिने भएकाले अहिले आगलागी भएको स्टेशनको लागि कतिको विमा गरिएको छ त्यो विवरण पछिमात्र थाहा हुन्छ' शिखर इन्स्योरेन्सका एक अधिकारिले बताएका छन। सुबिसु टेलिभिजन केवल र इन्टरनेट सेवा प्रदायक कम्पनी हो।