काठमाडौँमा साढे २ तल्ले घर बनाउन कति लाग्छ खर्च ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 25, 2021 | 03:22:14 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

छिमेकी वा आफन्तले काठमाडौँमा घर बनाएको देखेपछि काठमाडौँ उपत्यकामा प्रवेश गर्नेहरुले आफू पनि घर बनाउन पाए हुन्थ्यो भन्ने कल्पना गर्छन् । काठमाडौँमा जागिर खान होस् वा व्यवसाय गर्न आउनेहरुको सपना हुन्छ, काठमाडौँमै घर । त्यसमा पनिसाढे २ तल्लाको मध्यम स्तरको घर बनाउने सपना धेरैको हुन्छ ।

सपना पूरा गर्न निकै कडा मेहनत गर्नेहरु पनि बाक्लै छन् । तर, ती मध्ये धेरैलाई कति तलाको घर बनाउन कति खर्च लाग्छ भन्ने ज्ञान हुँदैन । जीवनभरको पसिना लगानी गरेर घर बनाउन आट्दा यति ज्ञान भएन भने ठेकेदार, निर्माण कम्पनी लगायतबाट ठगिने जोखिम रहन्छ । तर, कस्तो सामान प्रयोग गर्ने र कुन सामानको बजार मूल्य कति छ भन्ने जानकारी भएको अवस्थामा भने ठगिन पर्दैन । 

भुइँतला र पहिलो तलामा चार/चार कोठा र माथि दुई कोठा र एउटा बाथरुम भएको घर बनाउँदा कति खर्च लाग्छ भन्ने जानकारी यहाँ प्रस्तुत गर्न खोजिएको छ ।

जग्गा कति ?

सामान्यतया काठमाडौँमा घर बनाउँदा पार्किङ अनिवार्य जस्तै बनिसकेको छ । त्यसकारण चार आना जग्गामा गाडी र २ वटा मोटरसाइकल पार्किङ गर्न सक्ने ठाउँ (स्पेस) राखेर १ हजार स्क्वायर फिटमा ४ कोठे घर बनाउन सकिने इन्जिनियर तथा परामर्शदाता शुरेन्द्र पाठक बताउँछन् ।

‘चार आना जग्गा भयो भने एउटा तलामा १२ बाई १३ फिटका तीन कोठा, १४ बाई १५ फिटको एउटा बैठक कोठा र ७ बाई ५ फिटको बाथरुम बन्छ’ पाठक भन्छन् । 

८ लाखको सिमेन्ट

घर बनाउँदा सामान्यतया २ प्रकारका सिमेन्ट प्रयोग गर्ने गरिन्छ । बिम र ढलानमा ओपीसी सिमेन्ट प्रयोग गरिन्छ भने गाह्रो लगाउन र प्लास्टर गर्न पीपीसी सिमेन्ट प्रयोग गरिन्छ । 

साढे २ तलाको घर तयार गर्न एक हजार बोरा सिमेन्ट लाग्छ । योमध्ये पाँच सय बोरा ओपीसी र पाँच सय बोरा पीपीसी सिमेन्ट खपत हुन्छ । हालको बजार भाउ अनुसार ओपीसी सिमेन्ट प्रतिबोरा ८ सय र पीपीसी सिमेन्ट ७ सय रुपैयाँ प्रतिबोरामा उपलब्ध हुन्छ ।

ओपीसी सिमेन्ट ४ लाख रुपैयाँको र पीपीसी सिमेन्टमा ३ लाख ५० हजार रुपैयाँको गरी हालको बजार भाउ अनुसार ७ लाख ५० हजार रुपैयाँको सिमेन्ट खपत हुने परामर्शदाताहरु बताउँछन् । कहिलेकाहीँ सिमेन्टको भाउ तालमाथि हुँदा ८ लाख रुपैयाँ सिमेन्टको लागि छुट्याउँदा साढे २ तल्ले घर बनाउँन खोज्नेहरुले सिमेन्टकै लागि थप पैसा जोहो गर्न नपर्ने पाठको भनाई छ ।

१५ लाखको डण्डी

साढे २ तल्लाको घर बनाउन करिब १५ टन डण्डी खपत हुने गर्दछ । १५ टन भनेको १५ हजार किलोग्राम हो । बजारमा अहिले डण्डीको भाउ बढेको छ । तर, अफ सिजनमा भने डण्डी ७० रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुन्छ । अहिले १ सय रुपैयाँ पनि नाँघेको छ । 

जगदम्बा, लक्ष्मी जस्ता कम्पनीका फलामे डण्डी सस्तो पर्छ । हिमाल, पञ्चकन्या आदि कम्पनीका डण्डी तुलनात्मक रुपमा केही मँहगो पर्न जान्छ । हालको बजार भाउ अनुसार १५ लाख रुपैयाँ डण्डीमा खर्च हुन्छ । 

३ लाखको बालुवा

निर्माण व्यवसायीहरुका अनुसार साढे २ तल्लाको घर तयार पार्न १० टिपर बालुवा आवश्यक पर्छ । अहिले बालुवाको मूल्य एक टिपरको ३० हजार जति पर्छ । केही समयअघि सम्म २६ हजार रुपैयाँ टिपरमा पाईने बालुवाको भाउ अहिले बढेको छ ।

घर निर्माण गर्दा माटो नमिसिएको बालुवा प्रयोग गर्नुपर्छ । राम्रो र गुणस्तरीय १० टिपर बालुवाको मूल्य ३ लाख रुपैयाँ पर्न जान्छ ।

७ लाख ७५ हजारको इँटा

साढे २ तलाको घर तयार पार्न ५० हजार पिस पोलेको रातो इँटा चाहिने खपत हुने व्यवसायीको भनाई छ । बजारमा औसत गुणस्तरको इँटाको मूल्य प्रतिगोटा १५ रुपैयाँ छ । यो मूल्य अनुसार ५० हजार पसिको ७ लाख ७५ हजार रुपैयाँ पर्छ ।

तर अहिले पोलेको इँटाको सट्टा एएसी ब्लक र इन्टरलक इँटा पनि प्रयोग गर्न थालिएको छ । पोलेको रातो इँटाको तुलनामा ब्लक र इन्टरलक २५ प्रतिशतसम्म सस्तो पर्न जान्छ । 

२ लाख ५६ हजारको गिट्टी

निर्माण सामग्रीको भाउ बढ्दा अहिले गिट्टीको भाउ पनि बढेको छ । अहिले एक टिपर गिट्टीको भाउ ३२ हजार रुपैयाँ छ । गिट्टी, बालुवा र सिमेन्टबीच राम्रोसँग घुलन हुनका लागि पनि राम्रो गिट्टी चाहिन्छ ।

साढे २ तल्लाको घर निर्माण गर्न ८ टिपर गिट्टी चाहिने व्यवसायीहरु बताउँछन् । ३२ हजार रुपैयाँ प्रतिटिपरका दरले २ लाख ५६ हजार रुपैयाँ पर्न जान्छ ।

३ लाख ६० हजारको ढोका 

१ हजार स्क्वायर फिटमा तयार हुने घरका लागि २० वटा ढोका चाहिन्छन् । एउटा ढोकाको बजार भाउ १८ हजार रुपैयाँ पर्ने भएकाले ढोका खरिदका लागि ३ लाख ६० हजार रुपैयाँ खर्च हुने निर्माण व्यवसायीहरु हुन् ।

२ लाख ५० हजारको झ्याल

शहरी क्षेत्रमा बन्ने घरहरुमा काठको सट्टा यूपीभीसी झ्यालको प्रयोग बढ्दो छ । काठभन्दा सस्तो र जडान खर्च पनि कम लाग्ने भएकाले अहिले यूपीभीसी झ्याल प्रयोग भईरहेका छन् । 

कन्सल्टेन्टहरुका अनुसार साढे २ तल्लाको घरमा ६ बाई ४.५ फिटका १६ वटा झ्यालहरु राख्दा उपर्युक्त हुन्छ । अहिले बजारमा एउटा यूपीभीसी झ्यालको मूल्य १५ हजार रुपैयाँ पर्छ । १६ वटा झ्यालको मूल्य २ लाख ४० हजार रुपैयाँ पर्न जान्छ ।

यसबाहेक बिजलुी जडानका लागि करिब ४ लाख, रङरोगनका लागि ३ लाख, स्टिल रेलिङका लागि २ लाख र टायल मार्बलका लागि ३ लाख, प्लम्बिङ पाइपलाइन र ट्यांकीका लागि २ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । छतमा जाने घुमेको फलामे भर्याङ, आउटर कम्पाउन्डवर्क, बाउन्ड्री वाल, गेटलगायत सबै खर्च जोड्दा काठमाडौँमा एउटा साढे २ तल्लाको घर बनाउन ७६ देखि ७८ लाख सम्म खर्च लाग्ने देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved