काठमाडौँका यी स्थानमा पाइन्छ आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 01:30:36 PM मा प्रकाशित

ntc

कोरोना भाइरसका कारण लकडाउन हुँदा सिथिल भएको घर जग्गाको कारोबार अहिले फस्टाएको छ । लकडाउनपछि सबैभन्दा छिटो लयमा फर्किएको क्षेत्र हो, घरजग्गा कारोबार । पौष महिनामा ८० हजार किनबेचमार्फत ७ अर्ब राजश्व संकलन भएको छ ।

अहिले जग्गाको भाउ पनि आकाशिएको छ । किन्नेको संख्या बढेपछि जग्गाको भाउ बढ्नु स्वभाविक भएको बताउँछन् रियल स्टेट क्षेत्रका व्यवसायीहरु । त्यसो त, काठमाडौँमा सस्तो मूल्यमा जग्गा पाइने क्षेत्रहरु पनि छन् । चक्रपथ आसपास मात्रै नभई केही भित्र मात्रै होइन, कुनाकुन डुल्ने हो भने आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा पाउन सकिने रियलस्टेट एजेन्सीहरु नै बताउँछन् ।

यी हुन् आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा पाइने क्षेत्र 

काठमाडौं, भक्तपूर र ललितपुरमा अझै यस्ता ठाउँ पनि छन्, जहाँ आनाको १० लाख रुपैयाँभन्दा कम मूल्यमा जग्गा पाइँदछ ।

काठमाडौँ

१) इचंगुनारायण

नागार्जुन नगरपालिकाको इचंगुनारायण क्षेत्रमा जग्गाको भाउ आकाश पुगिसकेको अवस्था छैन । अहिले सो क्षेत्रमा टुक्रे जग्गाहरु प्रशस्तै उपलब्ध छन् । सस्तो दरमा आनाको बढीमा १० लाख रुपैयाँमा नै इचंगुनारायण क्षेत्रमा जग्गा पाउन सकिने घर बजार रियल स्टेटका सञ्चालक बताउँछन् । 

१० देखि १३ फिटे बाटोमै जोडिएका टुक्रे जग्गाहरु आनाको ८ देखि १० लाखसम्म पाउन सकिने भएकाले सितापाइलाबाट ३ किलोमिटर दुरीमा पर्ने इचंगुनारायण जग्गा खरिद गर्न चाहानेहरुका लागि हालसम्म उपर्युक्त गन्तव्य हुन सक्ने देखिन्छ ।

२) दहचोक 

चन्द्रागिरी नगरपालिकाको दहचोकको फाँटमा जग्गाको मूल्य आनाको २० देखि २५ लाख रुपैयाँसम्म छ । तर, अलिकति माथि पुगेपछि १३ फिटको बाटो भएकै ठाउँमा जग्गाको भाउ आनाको १० लाखभन्दा कम छ ।

दहचोकको माथिल्लो भेग अर्थात् कालु पाण्डेको समाधिस्थल नजिक आनाको ६ लाखदेखि १० लाखसम्म पर्ने जग्गा छन् । ढलान गरेको वा नगरी भर्खरै ट्रयाक खोलिएका कच्ची सडक वरपर आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा पाउन सकिने अवस्था अहिलेसम्म कायम रहेको घर तथा आवास विकास संघका एक जना पदाधिकारीले बताएका छन् । उनका अनुसार अबको केही वर्षभित्रै सो क्षेत्रको जग्गाको भाउ आकासिने निश्चित छ ।

३) काभ्रेस्थली 

इचंगुनारायणमा भन्दा काभ्रेस्थलीमा जग्गाको भाउ अझ सस्तो छ । तारकेश्वर नगरपालिका क्षेत्रभित्र पर्ने काभ्रेस्थलीको माथिल्लो भेगमा आनाको १० लाखभन्दा कम मूल्यमै जग्गाको कारोबार भइरहेको घरजग्गा व्यवसायी हरि गुरुङ (लुङ्गा) बताउँछन् । 

‘शान्तीधाम क्षेत्रमा एकै व्यक्तिले धेरै जग्गा उठाउने आँट गर्यो भने आनाको ६ लाखमै पनि पाउन सकिन्छ’ गुरुङ भन्छन्, ‘बाटो सानो भएपनि जग्गाको एरिया ठूलो हुन्छ ।’

४) मातातिर्थ

मातातिर्थ क्षेत्रमा पनि टुक्रे जग्गाहरु प्रशस्तै छन् । काठमाडौँकै चन्द्रागिरी नगरपालिकाको मातातिर्थस्थित चन्द्रागिरी बनमा जोडिएका जग्गाको भाउ १० लाखभन्दा कम छ । मातातिर्थकै नाममा रियलस्टेटहरु पनि सञ्चालित छन्, उनीहरुले अहिलेसम्म चाहेर पनि जग्गाको भाउ बढाउन सकेका छैनन् ।

मातातिर्थ काठमाडौँ उपत्यका छर्लङ्गै देखिने ठाउँ हो । अलिक उचाईमा रहेको सो क्षेत्रमा ७ देखि १० रुपैयाँ प्रतिआनामा जग्गा उपलब्ध रहेको रियलस्टेट एजेन्सीहरु नै बताउँछन् ।

५) किर्तिपुर 

किर्तिपुर नगरपालिकाको भत्केकोपाटी क्षेत्रको बनसँग सटिएको (जोडिएको) स्थानमा पनि सस्तो भाउमा नै जग्गाको बिक्रि वितरण भईरहेको देखिन्छ । पुष्पलाल पार्क, जालपादेवी मन्दिर, बाघभैरव मन्दिर  आसपासका एरियामा आनाको १० लाखभन्दा कम मूल्यमा नै जग्गा पाउन सकिने रियलस्टेट एजेन्सीहरुको भनाई छ । 

६) तारेभिर

गोकर्णेश्वर नगरपालिकामा पर्ने तारेभिर एरियामा पनि जग्गाको भाउ सस्तो छ । लकडाउनपछि आन्तरिक पर्यटकहरु बढेको तारेभिर क्षेत्रमा आनाको १० लाखभन्दा कम मूल्यमा नै जग्गा उपलब्ध छ ।

सुन्ताखानको माथिल्लो भेग र तारेभिरको केही तलट् िढलान बाटोसँग जोडिएको जग्गा आनाको ८ देखि १० लाखसम्म पाउन सकिने छ ।

७) जरसिंह पौवा

जरसिंह पौवा क्षेत्रमा पनि घर बनाउन मिल्ने राम्रा जग्गाहरु छन् । टुक्रे नै भएपनि मिलेका घडेरीहरु आनाको १० लाखभन्दा कम मूल्यमा प्राप्त गर्न सकिने काठमाडौँको मूख्य सडक क्षेत्रको नजिकै पर्ने यो एरिया सबैको गन्तव्य बन्न सक्छ । 

शंखरापुर नगरपालिकाको जरसिंह पौवासहित चौकी भन्ज्याङ, लप्सीफेदीलगायत स्थानमा पनि गोरेटो बाटोदेखि १३ फुटे बाटासम्म आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा किन्न सकिन्छ ।

भक्तपूर

१) सुडाल

भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने सुडाल क्षेत्रमा जग्गाको भाउ सस्तो छ । एकमुष्ठ एकै ठाउँमा फराकिलो जग्गा पाइने सो क्षेत्रमा आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा उपलब्ध रहेको आवर प्रोपर्टी नेपालका सञ्चालक बताउँछन् ।

२) बागेश्वरी

बागेश्वरी वरपरको १३ फुटको बाटो भएको क्षेत्रमा टुक्रे जग्गाहरु धमाधम बिक्रि भईरहेका छन् । घरजग्गा कारोबारी होम बुढाथोकी बागेश्वरी क्षेत्र पूर्व तिरका मानिसहरुका लागि जग्गा खरिदको गजबको गन्तव्य भएको बताउँछन् । 

आनाको १० लाखभन्दा कम मूल्यमा उपलब्ध सो क्षेत्रका जग्गाहरु खेतीका लागि नभई घर निर्माणका लागि उपर्युक्त हुने उनको भनाई छ ।

३) साँगा

भक्तपूर र काभ्रेपलाञ्चोक जिल्लाको सिमा क्षेत्रमा पर्ने साँगा भञ्ज्याङको भित्रि भेगमा पनि जग्गाको भाउ सस्तै रहेको रियलस्टेट वालाहरु बताउँछन् । 

नगरकोट जाने बाटो र तेलकोट क्षेत्रमा आनाको १० लाखभन्दा कम मूल्यमा नै घडेरहरु उपलब्ध रहेको रोपनी रियलस्टेटेका मालिक बताउँछन् 

ललितपूर

१) चापागाउँ

ललितपूरको लेले, मूलडोल लगायत चापागाउँ नजिकै पनि जग्गाको भाउ आनाको १० लाखभन्दा कम रहेको छ । ‘एकैपटक धेरै जग्गा किन्ने हो भने ६ लाखमा पनि पाउने सम्भावना रहन्छ’ भन्छन् रियालस्टेट एजेन्सी प्रोपर्टी भ्यालुएसन नेपालका सञ्चालक मध्येका एक स्वस्तिक थापा ।

८ देखि १३ फिटसम्मको बाटोमा टुक्रे जग्गा किन्दा आनाको १० लाखभन्दा कम मूल्यमै पाईने उनको दाबी छ । चापागाउँको बाहिरी एरियामा ८ लाख रुपैयाँ आनामा नै जग्गा पाउन सकिने अवस्था हालसम्म कायम रहेको र एकाध वर्षमा सो क्षेत्रको जग्गाको भाउ ‘सुन’ भन्दा महँगो हुने व्यवसायीहरु बताउँछन् ।

२) बडीखेल (गोदावरी)

अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम भईरहेकाले गोदावरी क्षेत्रको जग्गाको भाउ आकासिएको छ । तरपनि गोदावरीबाट केही टाढाको दूरीमा पर्ने बडीखेल क्षेत्रमा पनि अझैपनि सस्तो दरमा जग्गा उपलब्ध हुँदै आएको छ ।

आनाको ८ देखि १० लाखसम्ममा भनेजस्तो जग्गा पाइने भएकाले काठमाडौँमा घर बनाउने मनसाय भएकाहरु अहिले जग्गा किन्नको लागि बडीखेल पुग्न थालेका छन् । 

यी बाहेक अन्य ठाउँमा पनि जग्गाको भाउ अहिले नै बढिसकेको छैन । सरकारी परियोजना निर्माणले नछोएका भूगोलको जग्गा अझै पनि सामान्य आम्दानी गर्न सक्ने व्यक्तिले खरिद गर्न सक्ने अवस्थामै रहेको व्यवसायीहरु बताउने गर्छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved